धरान: कोशी कोरिडोर २२० केभिए प्रसारण लाइन विवाद समाधान गर्न गठित सुझाव समितिअन्र्तगतको प्राविधिक उपसमितिले मंगलबारदेखि स्थलगत अध्ययनको काम गरेको छ ।

सुझाव मुल समितिको हिजो सोमबार बसेको बैठकले प्राविधिकरुपमा अध्ययन गर्न उपसमिति गठन गरिएको थियो । समितिले आज वडा नं २० मा मानव वस्तीलाई असर पर्ने भनिएको टावरहरुको स्थलगतरुपमा अध्ययन शुरु गरेको हो । अध्ययनको क्रममा साहसिक प्याराग्लाइडिङलाई बाहेक त्यसक्षेत्रमा स्थानीयबासीले भनेजस्तो अन्य मानव वस्ती वा विद्यालयलाई असर पर्ने नदेखिएको उपसमितिका एक सदस्यले बताए । ‘असर पर्छ भनेको ठाउँहरुमा गएर हेर्यौ, त्यस्तो देखिएन । प्याराग्लाइडिङलाई बाहेक वस्ती वा स्कुललाई असर पर्ने देखिएन,’उनले भने ।

समितिले चिण्डे डाँडा मास्तिरको टोड्के, सुलिकोट स्कुल, भिसि पार्क नजिक २ वटा टावरसँगै मंगलबारे भञ्ज्याङ सडकमा भएको टावर निर्माणस्थलमा पनि स्थलगत अध्ययन गरेको छ । यस्तै, प्याराग्लाइडिङको ल्याण्डिङ भएको सर्दु खोला क्षेत्रमा पनि गएर अध्ययन गरेको थियो । समितिले वस्तुस्थितिसँगै विकल्प पनि दिनेछ भने नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्रस्ताव गरेको सय मेघावाट विजुलीको लागि सब स्टेशन बनाइदिने प्रस्तावको लागि ठाउँ पनि हेरेको छ । ‘त्यो म्याण्डेड त होइन, तर पनि हामीले विकल्पसहित सब स्टेशनको लागि ठाउँ पनि हेर्यौ,’प्राविधिक उपसमितिमा रहेका रामप्रसाद राईले भने । उपसमितिले हाल सर्दुमा निर्माण हुदै गरेको पुलदेखि केही मास्तिरको ठाउँ सब स्टेशनको लागि हेरेको थियो ।

nagar 2
उप समितिका अनुसार प्याराग्लाइडिङलाई जोगाउन एउटा मात्र टावर सार्दा मात्र पनि हुदैन । यद्यपी, वस्तुस्थितिसहित विकल्प पनि दिने प्राविधिक उपसमितिले रिपोर्ट दिनेछ । टोड्के नजिकको टावर यथावत राखेर चुलिकोट स्कुलबाट कोकाह हुदै हाल निर्माण भइरहेको सर्दु खोला पश्चिमको टावरमा जोड्न सकिन्छ कि भन्ने विकल्प हुनसक्ने प्राविधिक उपसमितिको भनाई छ । ‘त्यो भयो भने चिण्डे र भिसि पार्कबाट हुने प्याराग्लाइडिङको ल्याण्डिङ पनि जोगिन्छ,’सदस्य राईले भने,‘तर, त्यसको लागि प्रावधान के छ ? कति खर्च हुन्छ ? क्षति कति हन्छ ? भन्ने पनि आयोजनासँग माग गर्ने कुरा छ । अनि मात्र निष्कर्षमा पुग्न सकिन्छ ।’

सोमबार गठन भएको ४ सदस्यीय प्राविधिक उपसमितिमा आयोजनाका एक जना इञ्जिनियर, परामर्शदाताको एक ईञ्जिनियर, धरान उपमहानगरका इञ्जिनियर सुरज श्रेष्ठ र प्याराग्लाइडिङका पाइलट रामप्रसाद राई छन् । मंगलबार स्थलगत अध्ययनमा भने साविक एमालेका कार्यवाहक अध्यक्ष नारायण सुवेदी, साविक माओवादी केन्द्रका नेता चोत्लुङ, नेपाली कांग्रेसका नगर सभापति तिलक राई पनि गएका थिए ।