धनुषा : नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले शनिबार निर्माणाधीन जनकपुर–जयनगर रेल्वेको प्रगति अवस्थाबारे निरीक्षण गरेका छन् ।

उनले सोक्रममा रेल्वे लिकमा ट्रली चढेर यात्रासमेत गरेका थिए । उनी अचानक रेल्वे स्टेसन पुगेर भारतको जयनगरसम्म निरीक्षण गर्न आएको जानकारी पाएपछि रेल्वेका अधिकारी त्यहाँ पुगेका थिए ।

पुरी र उनको टोली दुई ट्रलीमा चढेर जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको दूरी निरीक्षण गरेका थिए । नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इन्चार्ज विनोदकुमार ओझाकाअनुसार राजदूत पुरी आउनेबारे आधिकारिकरूपमा कुनैपनि जानकारी थिएन ।

भारत सरकारकै लगानीमा रेल पूर्वाधार निर्माणको काम भइरहेको छ । पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको कुर्थासम्म रेल सन्चालनमा ल्याउने तयारी भइरहेको छ ।