धरान:एकीकृत सहरी विकास आयोजना(आइयुडिपी)अन्र्तगतको खानेपानी आयोजनाबारे लामो समयदेखिको मतभेद, द्वन्द र असहयोगलाई थाती राख्दै खानेपानी संस्थानको धरान शाखा र खानेपानी व्यवस्थापन बोर्डबीचमा सहकार्य शुरुवात भएको छ ।

यी दुई निकायबीच सहकार्यसँगै करिब ५ महिनादेखि ठप्प भएको इन्टरकनेक्सनको कामले पनि गति लिएको छ । यसले अब पानी वितरणमा सहजता हुने नगरबासीमा आशा पनि पलाएको छ । गएको मंगलबार निवार्चित संघीय र प्रदेशसभाका सांसद, कार्यवाहक मेयर, वडाअध्यक्ष, दलका प्रतिनिधि, पुर्वमेयर, नागरिक पहल तदर्थ समितिसहितको अनुगमन टोलीले आयोजनासँगै संस्थानमा पुगेर सहकार्य गर्न दबाब दिएका थिए । संस्थानको असहयोगकै कारण इन्टरकनेक्सनमा अवरोध पुगेको र धराने जनताले पानी पिउन नपाएको भन्दै दबाब दिएपछि संस्थानको धरान शाखा र खानेपानी बोर्डबीचमा सहकार्य गर्ने वातावरण तयार भएको हो । अनुगमनकै बेला सहयोगको प्रतिवद्धता जनाएको संस्थानले भोलीपल्ट नै पत्रसहित २ जना प्राविधिक पठाएको पाइएको छ ।

संस्थान २ जना प्राविधिक कर्मचारी पठाए पछि इन्टरकनेक्सनको काम शुरु भएको कार्यवाहक मेयर एवं खानेपानी व्यवस्थापन बोर्डकी अध्यक्ष मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन् ।संस्थानबाट आएका कर्मचारी र आयोजना, कन्सल्टेन्टका प्राविधिकबीचमा आयोजनाको डिजाइन र संस्थानको पाइपलाइनबीचको अध्ययन गर्ने काम भएको छ । अहिले धरानको सबैभन्दा धेरै जनसंख्या भएको क्षेत्र वडा नं १५ मा इन्टरकनेक्सन गरेर एउटै सिस्टमबाट माग वमोजिमको पानी वितरणको लागि काम भइरहेको छ । ‘वडा १५ मा पिण्डेश्वर सिस्टमको पानीलाई खुलाउनको लागि इन्टरकनेक्सनको काम शुरु भएको छ, संस्थानले २ जना कर्मचारी पत्रसहित पठाइदिएकोले सकरात्मक सहकार्यको थालनी भएको छ,’कार्यवाहक मेयर भण्डारीले भनिन् ।

water-project1

वडा नं १५ क्षेत्रको लागि आयोजनाले पिण्डेश्वर सिस्टमबाट पानी वितरण गर्ने लक्ष्य राखेको छ । पाइपलाइन विछ्याइसकेर रिजर्ब वेयरमा पानी पुर्याएपनि संस्थान र बोर्डबीचमा सहकार्य नहुदा त्यहाँबाट पानी वितरण हुुन सकेको छैन । पिण्डेश्वर सिस्टमबाट पानी विरतण हुन सकेमा संस्थानले त्यसक्षेत्रमा दिदै आएको पानी रोकेर अन्य क्षेत्रमा वितरण गर्न मिल्ने भएकोले धेरै राहत पुग्ने अपेक्षा गरिएको छ । ‘सिस्टम एउटै बनाउदा वडा १५ मा संस्थानले पानी वितरण गर्नुपर्दैन, र त्यता दिने गरेको पानी अन्यत्र दिन पुग्छ,’संस्थानका प्रमुख रामकुमार श्रेष्ठले भने,‘इन्टरकनेक्सन गर्नलाई नै २ जना कर्मचारी पठाइसकेका छौ ।’ उनले आफुहरुले पहिल्यैदेखि सहयोग गरिरहेको दाबी गर्दै संस्थानको केन्द्रीय कार्यालयको निर्देशन अनुसार चल्नुपर्ने बाध्यता रहेको पनि खुलाए ।

खानेपानी संस्थान र बोर्डबीच समन्वय अभावले आयोजनाले लक्ष्यवमोजिम पानी उत्पादन गरेपनि धरानबासीले पिउन पाएका छैनन् । नेपाल सरकारले संस्थानको धरान शाखाको सम्पत्ति तथा दायित्व हस्तान्तरण गर्ने निर्णय गरेपनि जनसरोकार मञ्च नेपालले त्यसविरुद्ध रिट निवेदन दिएपछि रोकिएको थियो । सर्वोच्चले स्टे अर्डर दिदा इन्टर कनेक्सनको काम ठप्प थियो । तर, बुधबार मात्र सर्वाेच्च अदालतले जनसरोकारको रिट नै खारेज गरिदिए पनि अब सम्पत्ति तथा दायित्व हस्तान्तरण र इन्टरकनेक्सनको कार्यलाई अघि बढाउन सहज बनेको छ ।

ब्यानर तस्बिर स्रोत: सुजेन्द्र तामाङको फेसबुक