धरान : धरान १९ स्थित हरियाली सामुदायिक वन समुहमा स्वर्गीय मेयर तारा सुब्बा स्मृति पार्कमा अर्धकद सालिक अनावरण कार्यक्रम सकेपछि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, वडअध्यक्षहरुसहित सबै उपमहानगरपालिका प्रांगणमा पुगे ।

त्यहाँ स्वर्गीय तारा सुब्बाको प्रथम स्मृति दिवस आयोजना भएको थियो । कार्यक्रमको प्रमुख अतिथि थिए, प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी । मन्तव्य राख्ने क्रममा उनले आफ्नो स्वास्थ्य विग्रेको अवस्थामा पनि मेयर तारा सुब्बाले नगरसभा सञ्चालन गरेपछि घरमा बसिरहेको स्मरण गर्दै भावुक मात्र भएनन्, केही बेर भावविह्वल पनि बने । पोडियममा उभिएर स्वर्गीय मेयर सुब्बालाई उपचार गर्न राजधानी पठाएको समय स्मरण गर्दागर्दै सभामुख भण्डारी बोल्नै छोडेर आँशु पुछ्न थाले । त्यसबेला उनी मात्र होइ, स्मृति दिवसमा सहभागी अधिकांश पनि भावविह्वल बनेका थिए ।

IMG_9929

सभामुख भण्डारीले रोगले च्यापेर शरीर थला पर्दै गर्दा पनि मेयर सुब्बाले नगर सभा धमाधम चलाएको र त्यसपछि उपचारमा पनि नगई घरमै बसिरहेको बारे आफुले थाह पाएको बताए । पार्टीका साथीहरुले त्यसबारे जानकारी गराएपछि आफुले घरमा नै पुगेर सुब्बाको चाहना अनुसार नै राजधानीको निदान हस्पिटलमा उपचार गर्न पठाएको पनि सभामुख भण्डारीले बताए । ‘पार्टीका साथीहरुलाई सोध्दा केही पनि नभनेपछि मलाई जानुस् भन्नुभयो, म गए । अवस्था खराब थियो, उहाँको चालकलाई कपडा ठिक पार्नुस् भने । भाई देवहाङलाई साथ नछोड्नु भने । पैसा कति छ भन्दा २ हजार, २५ सय छ भन्नुभयो,’भावविह्वल हुदै सभामुख भण्डारीले भने,‘खगेन्द्र खतिवडालाई उहाँले पाउनुपर्ने तलब, भत्ता केही छ भने दिनुस् भने । तारा जी कै चाहना अनुसार निधान हस्पिटल पठाउने व्यवस्था गर्यौं ।’

निधानमा पनि स्वास्थ्यमा सुधार नभएपछि थप उपचारको लागि नर्भिक लगिएको बताउदै सभामुख भण्डारीले त्यहाँबाट पुनः ग्राण्डी लैजानु परेको बताए । ग्राण्डीमा पहिल्यै डेढ लाख रुपैया डिपोजिट गर्ने पैसा नहुदा समस्या भएको खुलाउदै सभामुख भण्डारीले उक्त अस्पतालका पुर्व प्रबन्धक विजय रिमालले जमानी बसेपछि मात्र भर्ना गर्न सकिएको पनि जानकारी दिए । ‘उहाँले उपचार गर्छु भनेर पनि भन्न सक्नु भएन । हामीले नै उपचार गर्न लग्यौं, तर ढिला भइसकको थियो,’सभामुख भण्डारीले भने,‘उहाँको पार्थिव शरीर हामीमाझ नभएपनि बोली, व्यवहार, विचार, दृष्टिकोण, सिद्धान्तले गर्दा जनताको मन मनमा बस्नुभएको छ ।’

IMG_9918

कार्यक्रममा नेकपाका जिल्ला सचिव रमेश बस्नेतले स्वर्गीय मेयर सुब्बा योग्य र असल जनप्रतिनिधिकोरुपमा मात्र नभै कुशल राजनीतिकर्मीकोरुपमा पनि भएको बताए । नेपाली कांग्रेसका नगर सभापति तिलक राईले पनि धरानबासीले सही नेतृत्व चयन गरेको अनुभूति भइरहेको अवस्थामा मेयर सुब्बा चाडै बितेको धारणा राखे । जनप्रतिनिधिकोतर्फबाट बोल्दै वडा नं २ का अध्यक्ष माधव गोविन्द श्रेष्ठले स्वर्गीय मेयर तारा सुब्बा जनताप्रति उत्तरदायी मेयर भएको बताए । साथै, उनले स्वर्गीय मेयर सुब्बाले धरानको विकास र समृद्धिमा देखेको सपना पुरा गर्ने प्रतिवद्धतासहित अघि बढ्नुपर्ने पनि बताए ।

IMG_9901

IMG_9921