धरान: धरानको प्रमुख धार्मिकस्थल मध्ये एक बुढासुब्बा मन्दिर जाने बाटो ३० फिटको मापदण्डअनुसार विस्तार हुने भएको छ ।

धरान उपमहानगरपालिकाबाट स्वीकृत मापदण्डअनुसार धरान १४, विजयपुर चोकदेखि मन्दिरसम्मको बाटो विस्तार गर्ने तयारी भएको हो । यसको लागि वडा कार्यालय र उपमहानगरको प्राविधिक टोलीले सिमांकनलगायतको प्राविधिक काम गरिरहेको छ । चोकदेखि मन्दिरसम्मको करिब ७ सय मिटर बाटो यसै आर्थिक बर्षमा ३० फिट मापदण्डको पक्की सडक बन्ने वडाअध्यक्ष कृष्णप्रसाद भटराईले बताए । उनका अनुसार उपमहानगरले यो सडक विस्तारको लागि १ करोड बजेट विनियोजन गरेको छ भने विजयपुर चोक विस्तारको लागि थप १५ लाख बजेट विनयोजन गरेको छ ।

mandir-bato

उपमहानगरपालिकाले धरान १ स्थित रेडक्रस भवनदेखि विजयपुर चोकसम्मको बाटो गौरवको आयोजनाअन्र्तगत समावेश गरेर विस्तार गरिरहेको छ । विजयपुर चोकसम्म यो बाटो यही आर्थिक बर्षमा पुर्ण हुदैछ । हाल विजयपुर क्षेत्रमा १० फिट कालोपत्रे सडक छ भने ड्रेससहितको हिसाब गर्दा १५ देखि २० फुटसम्मको बाटो छ । प्रमुख धार्मिकस्थलहरु भएको विजयपुरको साँघुरो सडकले पर्यटकहरु बोक्ने सवारी आवागमनमा पनि समस्या छ ।

उपमहानगरका इञ्जिनियर किसोर अधिकारीका अनुसार सिमांकनको क्रममा २ वटा घरको मात्र पुरानो वरण्डा र कम्पाउण्ड वाल भत्किने अवस्था देखिएको छ । जसले गर्दा बुढासुब्बासम्म सडक विस्तार गर्दा धेरै क्षति नहुने उनले बताए । सिमांकनको काम सकेपछि वडा कार्यालयमार्फत साइट क्लियर गरिने र उपमहानगरले टेण्डर आह्वान गर्ने उनले बताए ।