धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को १ नं प्रदेश कमिटिको पदाधिकारी बैठकले धरानको मेयर पदको उम्मेदवार सिफारिशमा विजय राईको पनि नाम थपेर माथिल्लो कामिटिमा सिफारिश गरेको छ ।

आज केहीबेर अघि सम्पन्न भएको प्रदेश कमिटि पदाधिकारी बैठकले प्रदेश कमिटि सदस्य राईको पनि नाम थपेर ४ जना उम्मेदवारका आकांक्षीहरुको नाम केन्द्रमा पठाएको हो । नेकपा धरान उपमहानगर कमिटि र जिल्ला कमिटिबाट भएको सिफारिशमा भने विजय राईको नाम थिएन । उनी बाहेक जिल्ला कमिटि सदस्यहरु प्रकाश राई, वेणु काफ्ले र फोक्वाहाङ सुब्बा(चोत्लुङ) गरी ३ जनाको नाम मात्र सिफारिश भएको थियो ।

नगर र जिल्लाबाट सिफारिश भएको उम्मेदवारको बिषयमा पदाधिकारी बैठकले विजय राईको पनि नाम थपेर केन्द्रमा सिफारिश गरिएको नेकपा १ नं प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरेले जानकारी दिए । ‘नगर र जिल्लाबाट आएको सिफारिशमा विजय राईको पनि नाम थप गरेर पठाएका छौं,’अध्यक्ष घिमिरेले भने ।
पदाधिकारी बैठकमा नेकपा प्रदेश १ इञ्चार्ज भिम आचार्य, मुख्यमन्त्रीसमेत रहेका शेरधन राई, सावित्रीकुमार काफ्लेसहित ४ जना सहइञ्चार्जहरु, प्रदेश कमिटि अध्यक्ष घिमिरे र सचिव सुरेश राई हिमाल छन् ।

प्रदेश कमिटिबाट विजय राईको पनि नाम थपेर सिफारिश भएपछि जिल्ला र नगर कमिटि धरानमा हलचल पैदा भएको छ । खासगरी धरान उपमहानगर कमिटिमा हलचल मच्चिएको हो । धरानमा साविक एमालेमा र हालको नेकपाभित्र पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको उपस्थिति शुन्य छ । तसर्थ, ओली पक्षका मानिएका विजय राईको नाम सिफारिशमा पर्न सकेको थिएन । प्रदेश कमिटिबाट उनको पनि नाम थपेर गएपछि उनले टिकट पाउने व्यापक चर्चा भएकोले यहाँ हलचल पैदा भएको हो ।