इटहरी: सुनसरीको दुहबी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष माधब भण्डारीले प्रयोग गर्ने सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरी भएको छ । सोमबार राती आफ्नै घरमा राखेको को १ ब १४०३ नम्बर प्लेटको सरकारी मोटरसाइकल चोरी भएको हो ।

यामाहा कम्पनीको एफजेड मोटरसाइकलको लक तोडेर मोटरसाइकल चोरी भएको वडाध्यक्ष भण्डारीले बताए । ‘गएराती मोटरसाइकल घरबाटै चोरी भयो, मैले यो घटनाको बारेमा ईलाका प्रहरी कार्यालय दुहबीमा निबेदन दिएको छु,’ उनले भने । यसअघि दुई बर्ष अगाडि नै यहाँ रहेका सबै वडाध्यक्षहरुलाई नगरपालिकाले सरकारी नम्बर प्लेटको मोटरसाइकल बितरण गरेको थियो । दुहबीमा सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरीको घटना यो पहिलो रहेको भएपनि अन्य फुटपातमा तथा बजार क्षेत्रमा दैनिकजसो चोरी हुने गरेको स्थानीय रोहित सरदारको गुनासो रहेको छ ।

‘कलको सामान, सिटि सफारीका ब्याट्री पनि हराउने गरेको छ,’ सरदारले गुनासो पोखे, ‘प्रहरीले हाईवे क्षेत्रमा मात्र गस्ती गर्ने गरेको छ, भित्री सडक खण्डमा प्रहरी नै पुग्दैन ।’ उनले अहिले सम्म यहाँ भएका चोरीका घटनामा प्रहरीले कसैलाई पनि पक्राउ गर्न नसकेको आरोप लगाए । यता इटहरी–१ स्थित आँपगाछी चोकमा पनि सोमबार राती चारी भएको छ । यहाँ रहेको धनकुटे होटलमा गएराति सिसि क्यामेराको फुटेज छोपेर चोरी भएको होटल सञ्चालिका कमला श्रेष्ठले बताईन् । उनले यहाँको नगद र सामान चोरी भएको बताएपनि दोषीलाई पक्राउ गर्न भने सकेको छैन ।