इनरुवा : सुनसरीको सदरमुकाम इनरुवामा जग्गाको कारोबार गर्दै आएका  ४० वर्षीय कारी यादवको हत्या भएको छ ।

सुनसरी जिल्ला अदालत नजिकै रहेको सोमबारे हाट छेउ घर भएका यादवको शव हत्या भएको अवस्थामा आज बुधबार बिहान फेला परेको हो । यादवको शव घर छेउमै भेटिएको हो । यादवको हत्या घरेलु हतियारको प्रहारबाट भएको हुन सक्ने अनुमान गरिएको छ ।

घटनाको प्रकृति अनुसार हत्या गरिएका यादवको शव राती सुत्ने अवस्थामा लगाउने पहिरन छ । शव भेटिएको स्थानमा रगत नभेटिएकाले अन्यत्रै हत्या गरि फालिएको हुन सक्ने पीडित पक्षको अनुमान छ । स्थानीयका अनुसार यादवका दुई सन्तान मावला गएकाले श्रीमती समेत उनीहरुलाई लिन माइत गएकी थिइन् । घरमा यादवकी बुहारी र अन्य साना केटाकेटी रहेका थिए ।

रातीको समयमा फोन आएर कारी यादव घर बाहिर निस्केको भनिएपनि वास्तविकता बारे प्रहरी अनुसन्धानबाट खुल्ने मृतकका आफन्तहरुको अपेक्षा छ । घटनास्थलमा सुनसरीका डीएसपी बिनोद शर्मा सहितको टोली परिचालित छ । हत्या शंकास्पद देखिएको बताउने प्रहरीले घटनामा संलग्न दोषी छिटै पक्राउ पर्ने जनाएको छ ।