निर्वाचित मेयर तारा सुब्बाको निधन पछि धरानमा रिक्त रहेको मेयर पदमा मंसिर १४ गते उपनिर्वाचन हुदैछ । उक्त निर्वाचनमा मेयर पदमा विभिन्न १२ दल र ११ स्वतन्त्र गरी २३ जनाको उम्मेदवार छन् । जसमध्ये समाजवादी पार्टीबाट गजेन्द्र इस्वो मेयर पदका प्रत्यासी छन् ।
पुर्व ब्रिटिश लाहुरे इस्वो धरानका अग्रणी समाजसेवीकोेरुपमा पनि परिचित छन् । उनी गोर्खा भूपू सैनिकहरुको समानताको आन्दोलनका अगुवा नेता पनि हुन् । विभिन्न संघसंस्थामा सक्रिय रहेका इस्वोलाई हाल समाजवादी पार्टीले मेयर पदमा उम्मेदवार बनाएको छ । उनै उम्मेदवार इस्वोसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:

प्रश्न: तपाईको पारिवारीक पृष्ठभुमी बताइदिनुस् न ।

उत्तर: म स्व. कालुहाङ ईस्वो लिम्बु र स्व. कृष्णमाया फोम्बो लिम्बुको कोखवाट वि.स. २०१४ साल असार ४ गते सोमबारका दिन तेह्रथुम आठराई २ खाम्लालुङ वाईफुङ गाँउमा जन्मिएको हुँ । गाउकै स्कुलमा माध्यमिक तहको अध्ययन गर्दा गर्दै २०३४ सालमा गोर्खा व्रिटिस आर्मीमा भर्ति भएँ । २०४९ सालमा अवकाश पाएपछि धरान उपमहानगरपालिका वडा नं. १५ एभरेष्टलाईनमा स्थायी बसोबास गरिरहेको छुँ, र निरन्तर २७ वर्ष देखि विभिन्न संघ संस्था, राजनितिक दलमा आवद्ध भई समाज सेवा गरि रहेको छु ।

प्रश्न:  राजनीतिमा कहिलेदेखि सक्रिय हुनुभएको हो ?

उत्तर: किशोर अवस्थामा तत्कालिन राजनीतिक परिवेशमा २०२७, २८ सालमा कम्युनिष्ट विचारधारा अंगाली राजनीतिमा आकर्षित हुदै विभिन्न गतिविधिमा संलग्न भएको थिए । गोर्खा भर्ति पश्चात राजनितिवाट टाढा भई विशुद्ध सैनिक सेवामा १५, १६ वर्ष कार्यरत रहेको थिए । २०५२–५३ सालमा ब्रुनाईको सेवामा रहँदा अन्याय गरेको अनुभव पश्चात अन्यायको विरुद्ध आवाज उठाई जागिर छाडेर नेपाल फर्केको हुँ । नेपाल आए पछि कम्युनिष्ट विचारलाई पुनः अंगिकार गर्दै एमाले पार्टीको सम्पर्कमा आई २०५९ साल देखि २ कार्यकाल धरान नगर सदस्यको रुपमा काम गरेको छु ।

प्रश्न: आर्मीमा सेवा गर्नु भो, भुपु आर्मीको समस्या के–के हुन ? कसरी हल गर्नु पर्दछ जस्तो लाग्दछ ?

उत्तर: व्रिटिस गोर्खा भुतपुर्व सैनिकहरुले २०४६ साल देखिनै पेशागत हक अधिकारको कानुनी न्यायिक आन्दोलन गर्दै ३० वर्षे यात्रा पार गरि सकेको छ । पहिलो र दोस्रो विश्व युद्धताका नेपालीहरुलाई व्रिटिसले भर्ति गराएर व्रिटिसको देश, माटो र साम्राज्यको खातिर लाखौं गोर्खाहरुलाई भर्ति गराइयो। र उनिहरु युद्धमा कति मरे, वाँचे भन्ने लेखा जोखा व्रिटिस सरकार र नेपाल सरकार संग नभएकोले त्यसको अध्ययन अनुसन्धान गरी एकिन गर्ने पक्षमा आन्दोलन क्रियाशिल छ । र एउटा लामो इतिहासको काल खण्डमा व्रिटिस सरकारले विर गोर्खाहरुलाई समान कामको समानदाम हुनु पर्नेमा भेदभाव गरिएकाले यस खाले भेदभावको अन्त हुनुपर्छ भनि न्यायिक आन्दोलन पनि जारी छ । नेपालका सारा वौद्धिक, वुद्धिजिवि, कानुन व्यावसायी, मानव अधिकारकर्मीहरु सबैको साथ सहयोग लिई नेपाल सरकारलाई यो समस्या समाधान गर्न माग गर्दै आईरहेका छन् ।

samajbadi 4

प्रश्न: कम्युनिष्ट पार्टीमा लामो समय रहनु भएको रहेछ, कम्युनिष्टसँग कुन कुराले मोह भंग भयो ?

उत्तर: पहिलो संविधान सभाको चुनावको वेला एमालेले जातिय मुक्तिको लागि जातिगत कमिटी निर्माण ग¥यो । किरात लोकतान्त्रिक लिम्बु संघको धरान नगर अध्यक्षको जिम्मेवारी सम्हालेको थिएँ । पहिलो संविधान सभाले संविधान निर्माण गर्ने क्रममा पार्टीहरुलाई राज्य पुनसंरचनाको अवधाराणा माग हुदा एमालेले १४ प्रदेशको खाका तयार पारेको थिायो । विज्ञहरुको राज्य पुर्नसंरचना आयोगले १० + १ को संरचना संविधान सभालाई बुझाएको थियो । यहि विषयलाई तत्कालिन एमालेले ग्रहण गर्न नसके पछि यो पार्टीले समुदायगत उत्पीडनको विषयलाई उठान गर्न नसकेको र नेपालको सबै भन्दा ठुलो समस्या वर्गिय र सामुदायिक (जातिय) समस्या हल नगरी अगाडी वढ्न नसकिने बुझाईको कारण कम्युनिष्ट पार्टी एमाले छाडेको हो ।

प्रश्न: अहिले समाजवादी पार्टीमा हुनुहुन्छ ? कम्युनिष्टहरु पनि समाजवाद भन्छन् । समाजवादी पार्टीको समाजवाद र कम्युनिष्ट समाजवादमा कुनै तात्विक भिन्नता छ ?

उत्तर: विश्वमा हालसम्म देखिएको दुईवटा विचारधारा पुँजीवादी र साम्यवादी विचारधारा छन् । कम्युनिष्टहरुले समाजवादवाट साम्यवादमा पुग्ने कुरा गर्छन् । उनिहरुले भन्ने गरेको समाजवाद राज्य–अर्थतन्त्र र सर्वहारा अधिनायकत्वमा आधारित कम्युन लोकतन्त्रको समष्टिगत रुप हो । हामीले भनेको समाजवाद सामाजिक बजार अर्थतन्त्र सहितको सामाजिक लोकतन्त्रको समष्टिगत रुप हो । कम्युनिष्ट समाजवादले सामुदायिक अन्तविरोधलाई वर्गीय अन्तरविरोधको अंश मात्रै ठान्छ । तर समाजवादी पार्टीको समाजवादले वर्ग तथा सांस्कृतिक सामाजिक न्याय र समानताको आधारमा समाजवादको परिकल्पना गरेको छ ।

प्रश्न: समाजवादी पार्टीको तर्फवाट मेयरको चुनाव लड्दै हुनु हुन्छ । २०४६ साल यता धरानमा निरन्तर कम्युनिष्टहरुले जित्दै आईरहेका छन्, यस पटकको जन अभिमत कस्तो होला भन्ने आशा गर्नु भएको छ ।

उत्तर: ३० वर्षसम्म धरानलाई कम्युनिष्टहरुले शासन गरे तर धरान अगाडी बढ्नुको साटो झन झन पछाडी पर्दै गइरहेको छ । यसलाई पछिल्लो अवस्थामा धेरै पछाडी रहेको इटहरी र दमक नगरपालिकाहरुले आम्दानी र विकासमा जितेर अगाडी बढीरहेका छन् । यसको मुख्यकारण कम्युनिष्टहरुमा विकास गर्ने दीर्घकालिन रणनितिगत योजना निर्माण गर्न नसक्नु र सक्षम नेतृत्व दिन नसक्नु नै मुख्य कारण रहेको छ । धरानमा रहेका मुख्य प्रशासनिक कार्यालयहरु अन्य ठाँउमा सार्दा दरिलो उपस्थीति देखाई रोक्न नसक्नुले सहि तरिकाले नेतृत्व गर्न कम्युनिष्टहरु धरानमा असमर्थ रहेको देखाउँछ । यसलाई चिर्दै धरानको विकासलाई अगाडी वढाउने प्रमुख उदेश्यका साथ मैले उम्मेदवारी दिएको हुँ । जनताले कुरा बुझेका छन् । यो पटक कम्युनिष्टहरुलाई हराएर चुनाव जित्न सकिने सम्भावना देखेको छु ।

प्रश्न: धरानमा समाजवादी पार्टीको संगठनात्मक स्थीति कस्तो छ ? कार्यकर्ता पंक्तिको सहयोग पाउने कुरामा कत्तिको विश्वस्त हुनु हुन्छ ?

उत्तर: समाजवादी पार्टी भरखर निर्माण भएको पार्टी हो । यसको संगठन नियमित रुपमा विस्तार भै रहेको छ । पहिलाको भन्दा अहिले संगठन राम्रो छ । नेता तथा कार्यकर्ताहरु व्यक्ति नभै पार्टीले चुनाव लड्नु पर्छ भन्ने मान्यताका साथ अगाडी बढी रहेका छन् । कार्यकर्ता पंक्ति र आम मतदाताले समाजवादी पार्टीलाई जिताउने छन् भन्ने कुरामा ढुक्क छु ।

प्रश्न: तपाईको पार्टी समाजवादी पार्टीले पहिचान र अधिकारमा आधारित संघीयता, संविधान संशोधन र पुर्नसिमाङकनको मुद्दा जोडदार रुपमा उठाएको छ ? धरान जस्तो ठाँउमा यी मुद्दाले राम्रै प्रभाव पार्नु पर्ने होइन र ? किन त्यस्तो हुन नसकेको होला ?

उत्तर: वर्षाैदेखि स्थापित नेका र कम्युनिष्टहरुको विचार र संगठनलाई चिर्दै हाम्रो विचार र संगठन अघि बढिरहेको छ । समाजवादी पार्टीले उठाएका पहिचान र अधिकारमा आधारित संघीयता, संविधान संसोधन र पुर्नसिमाङकनको मुद्दाहरुले सवैको ध्यान खिचेता पनि वषौं देखि अङगाल्दै आएको विचार र संगठन तत्काल छाड्न नसकेको जस्तो देखिन्छ । तर मुद्धाहरुको साथ समर्थनको दायरा फराकिलो बन्दै गइरहेको छ ।

gajendra-isbo1

प्रश्न: निर्वाचन आर्थिक हिसाबले निक्कै महंगो हुदै गएको सुनिन्छ । ठुला भनिएका पार्टीले ठुलै खर्च गर्लान ? यो निर्वाचन खर्चको सवाललाई तपाई कसरी लिनु हुन्छ ?

उत्तर: अहिलेको निर्वाचन प्रणालीको विरोध गर्दै हामी मितव्यायी ढंगले चुनाव लड्ने पक्षमा छौं । हामी तडक भडक र बढी खर्च गर्ने भन्दा कम खर्चमा हाम्रो कुरा जनतामा पु¥याउदै जन समर्थन जुटाउदै चुनाव जित्ने पक्षमा छौं ।

प्रश्न: भुपु सैनिकको नाताले विभिन्न संध संस्था मार्फत तपाईले धरानमा धेरै काम गर्नु भएको थियो, धरानको भुपु सैनिक समुदायलाई के आग्रह गर्नु हुन्छ ?

उत्तर: व्रिटिस गोर्खा सैनिकहरुको आन्दोलन पनि अन्याय र भेदभाव विरुद्धकै आन्दोलन हो । म निरन्तर उक्त आन्दोलनको नेतृत्व वरिपरी छु । नेपालमा भएको वर्गिय र सामाजिक अन्याय र विभेदको विरुद्ध निरन्तर विभिन्न समयमा भएको आन्दोलनहरुमा सहभागि भै लडि रहेकै छु । त्यसले गर्दा न्याय प्रेमी गोर्खा दाजुभाईहरुले मलाई साथ र समर्थन गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु ।

प्रश्न: तपाईको बुझाईमा धरानका मुख्य समस्या के हुन ?तपाई मेयर निर्र्वाचित भएमा ती समस्या कसरी हल गर्नु हुन्छ ?

प्रश्न: धरानको मुख्य समस्या दुई तरिकाले हेर्नु पर्छ जस्तो लाग्छ । धरान अहिले नगरपालिका होइन अहिले यो उपमहानगरपालिका भएको छ । साविक पानवारा र विष्णुपादुका धरानमा गाभिएको छ । पानवारा संग धरानलाई जोड्न हाल दुईवटा मात्र सेउती खोलामा पुल बनेको छ भने एउटा निर्माणाधिन छ । विष्णु पादुका संग जोड्ने हाल सम्म एउटै पनि पुल बन्न सकिरहेको छैन । यसले के देखाउँछ भने पानवारा र विष्णुपादुका संग सिमाङगत र भावनात्मक रुपमा जोडिएता पनि भौतिक रुपमा जोडिन सकिरहेको छैन । वर्षायाममा आवत जावत गर्न धेरै मुस्किल पर्छ । धरानमा एउटा पनि बस पार्क बन्न सकिरहेको छैन । अन्य पुर्वधारका विषयमा दीर्घकालिन रणनिति निर्माण हुन सकिरहेको छैन । खाने पानीको समस्या पुर्णरुपमा समाधान हुन सकिरहेको छैन । एयरपोर्ट कागलाई बेल पाक्यो हर्ष न विस्मातको रुपमा रहेको छ । सरकारी कार्यालयहरु धमाधाम अन्य ठाँउमा सरिहेको छ । शिक्षा र स्वास्थ्यको अवस्था खस्किँदो अवस्थामा छ ।

पर्यटनको अवस्था गफ र भाषणमा मात्रै सुनिन्छ तर खास योजना सहित अगाडी बढ्न सकिरहेको छैन । अर्को समस्या कुनै पनि योजना धरानमा विवाद रहीत हुन सकिरहेको छैन । यसले के कुरा देखाउँछ भने यहाँको नेतृत्वहरुमा समस्या समाधान गर्न सक्ने क्षमता छैन । समस्यालाई मिलाएर लैजाने भन्दा पनि बल्झाएर एकलौटी रुपमा पेलेर जाने प्रवृति हावी देखिएको छ । धरानको राजनिति र नेतृत्व बाटोको निर्माण भन्दा अन्य विषयमा स्पष्ट योजना सहित शिक्षा, स्वास्थ्य, पर्यटन, आर्थिक विकास, व्यापार व्यवसायको वृद्धि, कृषि र विभिन्न जिल्लाहरु संगको सडक संजालवाट जोडने विषयमा आउन सकिरहेको छैन ।

सुकुम्बासी एवम् खहरे, सर्दु, सेउती खोला लगायतमा अव्यवस्थित बसोबासी पनि यहाँको जल्दो बल्दो समस्या हो । अवैज्ञानिक कर वृद्धि अर्को समस्या हो । एतिहासिक सांस्कृतिक तथा जनस्तरमा प्रयत्न भईरहेका कामहरुको संरक्षण र सम्वद्र्धन यहाँको अर्को मुद्धा हो ।यी सबै खाले समस्या धरानको १ नंम्बर समस्याहरु ह्ुन यसको समाधान सम्भव छ, तर कुशल नेतृत्वको खाँचो छ । यो तमाम समस्याको समाधान मेरै नेतृत्वमा गर्ने भन्ने स्पष्ट योजना र विचार सहित चुनावी मैदानमा उभिएको छु ।

प्रश्न: धरानमा सत्तारुढ पार्टीको भुमिका चाहि कस्तो छ? जनतावाट जुन अवसर उनीहरुले बारम्बार पाएका छन् ती अनुसार काम गरेका छन् त ?

उत्तर: धरानमा सत्तारुढ पार्टीको भुमिका एकलौटी र एकाङ्गी पाराको छ । सबै दललाई मिलाएर लैजाने र सबैको सहयोगमा धरानको विकास गर्ने भन्ने मन साय देखिँदैन । यहाँ नेकपा अथवा कम्युनिष्टहरुमा के दम्भ छ भने धरान कम्युनिष्टहरुको लाल किल्ला हो, लठ्ठी या कुकुर उठाए पनि चुनाव जित्छौ भन्ने छ । यसले के कुरालाई इङ्गीत गर्छ भने हामीले जे गरे पनि हुन्छ । हाम्रो निर्णय धराने जनताले मान्नु पर्छ भन्ने निरंकुश मानसिकता पाईन्छ । यो दम्भ तोडिन आवश्यक छ ।

यहाँ भ्रष्टाचार बढेको छ । विकासको काममा कमिसन बढेको छ र यहाँ मनो मालिन्य बढेको छ । सरोकारवालाहरु र अन्य दलहरुसंग समन्वय नगरी कर जनताले थाम्नै नसक्ने गरि वृद्धि गरिएको छ । तर त्यसको बदलामा धराने जनताले विकास भन्दा पनि अपमान वेहोर्नु परेको छ । आफ्नोलाई काख अन्यलाई पाखा पार्ने प्रवृति झाँगिदै गई रहेको अनुभुति भै रहेको छ । विकासको काम देखि धरान नगरपालिकाले प्रदान गर्ने सेवा सुविधामा पार्टीगत दृष्किोणवाट हेरी व्यावहार गर्ने र काम अगाडी बढाउने कार्य भै रहेको छ ।जनताको करबाट उपलब्ध हुने सेवा सुविधा पार्टीगत गर्नु कत्तिको जायज छ ? सम्मानित मतदाताले मूल्यांकन गर्ने सही समय आएको छ ।

प्रश्न:अन्त्यमा धराने जनतालाई केही अपिल गर्न चाहानु हुन्छ ?

उत्तर: विगत ३० वर्ष देखि धरानलाई कम्युनिष्टहरुले नेतृत्व गरि रहेको छ । यो अवधीमा धरानले के पायो र के गुमायो भन्ने विषयमा अव धराने जनताहरुले सोच्नु पर्ने बेला आएको छ । धरानको समग्र विकासको लागि अव पार्टीको विकल्प खोज्नु पर्छ । समाजवादी पार्टी मुलुककै विचारको हिसावले, संगठनको हिसाबले र संघीय सभा, प्रदेश सभा र स्थानिय तहमा उपस्थितिको हिसावले तेस्रो शक्ति भएकाले यो एक स्पष्ट नेपालको वैकल्पिक शक्ति हो । धरानमा हामिलाई नेतृत्व गर्ने अवसर धराने जनताले दिएमा म एक कुशल नेतृत्व, कुशल प्रशासकको रुपमा सम्वन्धित सरोकारवालाको परामर्शमा स्पष्ट कार्य दिशा सहितको दीर्घकालिन योजनाका आधारमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहान्छु । तसर्थ चुनाव चिन्ह हातमा आफ्नो अमुल्य भोट दिएर मलाई विजय गराउन हाद्र्धिक अनुरोध गर्न चाहान्छु । यो पल्ट धराने जनताले राजनितिक विकल्प रोज्ने छन् र मलाई स्पस्ट बहुमतका साथ जिताउनेमा म विश्वस्त छु ।