धरान: इलाममा उत्पादन भएको किवी फलको बजारीकरण तथा धरान र इलामबीच व्यापारिक सम्बन्ध बढाउने उद्देश्यले धरानमा २ दिने इलाम किवी फल एक्स्पो २०७६ हुने भएको छ ।

इलाम उद्योग वाणिज्य संघको आयोजना तथा इलाम नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(किवी जोन) इलाम, सन्दकपुर गाउँपालिका, सुनसरी उद्योग वाणिज्य संघ र धरान उपमहानगरपालिकाको सहआयोजनामा पुष ३ र ४ गते धरानमा किवी एक्स्पो हुन लागेको हो । दुई दिने एक्स्पो धरानको छाताचोकस्थित सोमबारे हटिया लाग्ने ठाउँमा हुने आयोजकले जनाएको छ । एक्स्पोमा कुल १० स्टल हुनेछ । ती मध्ये ७ वटा किवीको मात्र स्टल हुनेछ भने ३ वटामा इलाममा उत्पादन भएको ग्रिन टि, घिउ, ललीपपलगायत अन्य खाद्य वस्तुहरुको स्टल हुने इलाम उद्योग वाणिज्य संघका सचिव श्रीबहादुर विष्टले जानकारी दिए ।

एक्स्पो अवलोकनमा आउनेहरुलाई निःशुल्क किवीको स्वाद पनि चखाइने भएको छ । एक्स्पो अवधिमा दोस्रो दिन धरानका थोक बिक्रेताहरुसँग छलफल गरिनेछ भने धरानको कृषि वडा ५ र ६ का किसानहरुसँग पनि किवी खेतीबारे छलफल गरिने आयोजकको भनाई छ । धरानको एक्स्पोकै लागि किसानहरुलाई किवी टिप्न नदिएर राखिएको किवी खेतीका अगुवा तथा किवी जोनको सञ्चालक समितिका सचिव गंगा विष्टले जानकारी दिए । उनका अनुसार धरानको एक्स्पोमा अत्यन्तै गुणस्तरीय किवी फल ल्याइनेछ ।

kiwi1

विष्टका अनुसार इलाम किवी ब्राण्ड लेवल गरिएको किवी धरानको एक्स्पोमा हुनेछ । ‘हेवार्ड जातको उच्चगुणस्तरको किवी यहाँ ल्याउछौं, इलामको वगानमा पाउने होलसेल मुल्यमा बिक्री गछौं । यो किवी नेपालमा विदेशबाट आउने गर्छ,’उनले भने,‘ग्रीन किवीको स्पेशल, ए, बि र सि ग्रेड हुन्छ । अहिले धरानमा बि र सि ग्रेडको मात्र छ, हामी स्पेशल र ए ग्रेडको किवी ल्याउछौं ।’

एक्स्पोमा ७ वटा स्टलमा ७ हजार केजी किवी बिक्रीको लागि ल्याउने आयोजकले जनाएको छ । त्यसमध्ये ७० प्रतिशत किवी बिक्री हुने अपेक्षा आयोजकको छ । सरदर प्रतिकिलो ३ सयको दरले २१ लाखको किवी बिक्री हुने र अन्य खाद्य सामग्रीसहित २५ लाखको कारोबार एक्स्पोबाट हुने अपेक्षा गरिएको इलाम उद्योग वाणिज्य संघका सचिव विष्टले बताए ।

kiwi2