धरान : यही मङ्सिर २५ गते धरानमा प्रदेश १ स्तरिय पहिलो स्टेट वान सिङ्गिङ आइडलको ग्राण्ड फिनाले हुँदैछ । ग्राण्ड फिनाले धरान ८ स्थित सभागृह हलमा हुने भएको छ ।

रेडमुन इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको स्टेट वान सिङ्गिङ्ग आइडलमा विभिन्न चरणको अडिशन तथा निर्णायकहरुको विभिन्न चरण पार गर्दै फिनालेको लागि नौ जना प्रतियोगीहरु भिड्दैछन् । भोजपुरको सुदेश राई, झापाकी जस्मिन बराल, सुनसरीकी प्रिया लाम, उदयपुरकी शोभा तामाङ, पाँचथरको डेबिट लिम्बु, धनकुटाकी शान्ता लिम्बु, धनकुटाको हिमाल मगर, सुनसरीकी गोमा कुलुङ्ग र झापाको समिर मोते लगायत नौ प्रतिस्पर्धीहरुले ग्राण्ड फिनालेमा देखाउने आफ्नो गायन प्रस्तुतिबाट पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको छिनोफानो हुनेछ ।

बरिष्ठ गायक दीप श्रेष्ठ प्रमुख निर्णायक रहने स्टेट वान सिङ्गिङ्ग आइडलको अन्य निर्णायकहरुमा दक्षिण कोरियामा एक समय कोरियन गीतहरु गाएर नाम कमाउनु भएका तथा हाल एनआरएन कोरियाका सल्लाहकार गंगाराज राई र संगीतकार, गायक तथा प्राज्ञ रामकुमार राजधामी रहने छन् ।
स्टेट वान सिङ्गिङ्ग आइडलको बिजेताले भेस्पा स्कुटी, दोस्रोले ७० हजार र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।