धरान: धरान उपमहानगरका नवनिर्वाचित मेयर तिलक राईले कर समायोजन गर्नको लागि विज्ञ टोली गठन गरेको जानकारी दिएका छन् ।

उनले धरानका मतदाताहरुलाई धन्यवाद ज्ञापन घरदैलो कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै सोमबार साँझ ९ सदस्यीय विज्ञ टोली गठन गरेको जानकारी दिएका हुन् । मेयर राईले कर समायोजन गर्ने विषयमा कार्यभार सल्हाने क्रममा नै मंसिर १८ गते नै यसबारेमा निर्णय गरेका थिए । ‘करलाई समयानुकुल, वैज्ञानिक र व्यवहारिक बनाउने निर्णय गरेका छौ,’मेयर राईले भने, ‘यसका लागि ९ जना विज्ञको समुह समिति पनि गठन गरिसकिएको छ ।’

मेयर राईका अनुसार विज्ञ समूहले काम गरेको रिपोर्टलाई संघीय सरकारका अर्थमन्त्रालयका विज्ञहरु, प्रदेश सरकार अर्थमन्त्रालयका विज्ञहरु, नगरका अगुवाहरु र कार्यपालिकाबाट छलफल गरेर त्यसलाई पारित गरेर कार्यन्वयन गरिनेछ । ‘त्यसो भयो भने कर समायोजन हुन्छ’ मेयर राईले भने, ‘घटाउनुपर्ने करहरु घट्नेछ ।’ मेयरमा निवार्चित भएपछि मङ्सिर १८ गतेबाट राईको धन्यवाद ज्ञापनको घरदैलो कार्यक्रम शुरुवात भएको थियो । उक्त घरदैलो कार्यक्रम सोमबार मेयर राईको गृहवडा १८ मा धन्यवाद ज्ञापन तथा विजयी र्याली आयोजना गरेर सम्पन्न भएको हो । धन्यवाद घरदैलो कार्यक्रमको समापनमा धरान १८ स्थित वीपी सुन्दर बजारमा बिशेष समारोह आयोजना भएको थियो ।

समारोहलाई सम्बोधन गर्दै मेयर राईले आफुलाई गल्ती गर्ने, आराम गर्ने र व्यक्तिगत काम गर्ने छुट नभएको धारणा राख्दै मतदाताहरुलाई नगरपालिकामा खबरदारी गर्न पठाएको बताए । उनले भने, ‘मलाई गल्ति गर्ने छुट छैन, आफ्नो लागि आराम गर्ने छुट छैन । मलाई व्यक्तिगत काम गर्ने छुट पनि छैन, मलाई मतदाताहरुले नगरपालिकामा खबरदारी गर्न पठाएको हो । त्यहाँ कुनै गल्ती कमी कमजोरी नगर्नका लागि हो, त्यहाँभित्र रहेको कुनै पनि गल्ति कमिकमजोरी सच्याउनका लागि मतदाताहरुले पठाउनु भएको हो ।’

Tilak1

नगरको खानेपानी, सडक, बसपार्कको विषयमा सुक्ष्म रुपमा अध्ययन गरेर कार्यन्वयन गर्ने मेयर राईले बताए । नगरको समस्या चाडो भन्दा चाडो समाधान गरिने पनि मेयर राईले बताए । मेयर राईले नगरका अधुरा योजनाहरुलाई पुरा गर्न पहलकदमी अघि बढाउने बताए । धरानको २० वटै वडाका वडाध्यक्षहरु तथा उपमेयरको साथ सहयोग हुनेमा आफू विश्वस्त रहेको पनि मेयर राईले बताए । मेयर राईले भने, ‘नगरपालिकाभित्र रहेको राम्रो कामहरुलाई हामि अगाडी बढाएर लाने छा, नगरपालिकाभित्रका नराम्रा कामहरु जस्तै नगरबासीहरु सन्तृष्ट छैनन्, नगरबासीहरु असन्तृष्टि हुनुहुन्छ, त्यो कुरालाई सच्याएर अगाडी बढाइने मेरो प्रतिवद्धता छ ।’

मेयर राईले उपनिर्वाचन हुनुभन्दा अघिदेखि नै आफूले तलबभत्ता नलिने बताउदै आएका छन् । ‘नगरबासीलाई भ्रम नहोस् नगरपालिकाको तलब भत्ता लिन्न भनेको छु, यो मेरो वास्तविक अठोट हो, म तलबभत्ता लिन्न, तर प्रक्रिया के रहेछ भने आफ्नो बैङ्क खाता खोल्नुपर्ने रहेछ, त्यो तलबभत्ता खातामा आएपछि एउटा कोष बनाएर समाजसेवामा खर्च गर्नेछु’–मेयर राईले भने । कसैले त्यो कोष सुकुम्बासीको हकहित, कसैले असहाय, कसैले एकल महिलाहरुलाई खर्च गर्न सल्लाह सुझाव दिएको मेयर राईले बताए । कोषमा जम्मा हुने खर्चलाई यिनै मध्ये कुनै एउटा काममा नै खर्च गर्ने मेयर राईले बताए । राईले आफूले भनेको कुराहरु पूरा गर्ने प्रतिवद्धता व्यक्त समेत गरे ।

tilak2 1

समारोहलाई नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का महासमिति सदस्य तथा नेपाल तरुण दल पुर्व केन्द्रिय सदस्य लक्ष्मी खतिवडाले समापन समारोहमा सम्बोधन गर्दै धराने जनताको विश्वास र मायाले मेयर तिलक राईले अढाई वर्षको कार्यकाल पाएको बताईन् ।मेयर राईले जनताको भावना बुझेर काम गर्नेमा आफू विश्वस्त रहेको उनले बताईन् । ‘अब नगरपालिका परिसरमा व्यक्तिगत काम लिएर छिर्ने छैनौ, जनताको काम लिएर मात्र छिर्ने छौ’–उनले भनिन् ।

समारोहमा नेका सुनसरी क्षेत्र नं. १ का सचिव मुरारी भट्टराई, नेका नेपाल बेलायत सम्पर्क समिती प्रदेश नम्बर १ का उपसंयोयोजक देब रुम्दाली, वडा नम्बर १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई(प्रविण), नेका तेह्रथुम जिल्ला सदस्य छिरिङ शेर्पा, नेका सुनसरी जिल्ला सदस्य मोहन बस्नेत, युनेश मगर, नेका क्षेत्रीय सदस्य तथा धरानका उपाध्यक्ष महेन्द्र तामाङ, नेका धरान सचिव युवराज शंकरलगायतको उपस्थिति रहेको थियो । समारोहमा १८ नं. वडाका नेका बुथ सभापती नवराज श्रेष्ठले समापन मन्तव्य राखेका थिए भने नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सहसचिव प्रेम कुमार राईले कार्यक्रमको सञ्चालन गरेका गरेका थिए ।