धरान: बलात्कार अभियोग लागेका कृष्णदास गिरी(सिद्धबाबा)लाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत सुनसरीको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएको छ ।
सरकारी वकिलको कार्यालय सुनसरीका अनुसार जिल्ला अदालतको आदेशमा कानुन, प्रमाण र तथ्यमा आधारित नभएकोले ७३ नम्बर वमोजिम उच्च अदालतमा निवेदन दिइएको हो । सरकारी वकिल गोकुल निरौलाका अनुसार जिल्लाा अदालतले गरेको थुनछेक आदेशमा चित्त नबुझी प्रतिवादीलाई थुनामा राखेर पुर्पक्ष गरिनुपर्छ भन्ने माग गर्दै निवेदन दिइएको हो । ‘हिजो बुधबार नै उच्च अदालतमा ७३ नम्बर वमोजिम निवेदन दिइएको छ,’निरौलाले भने,‘जिल्ला अदालतको थुनछेक आदेशमा चित्त नबुझी प्रतिवादीलाई थुनामा राखी पुर्पक्ष गरिनुपर्छ भन्ने माग छ ।’

सरकारी वकिलले कानुन, प्रमाण र तथ्यमा आधारित भएर निवेदन दिइएको बताए । उनले शुक्रबार उच्च अदालतबाट कैफियत प्रतिवेदन माग हुनसक्ने पनि बताए । ‘भोली उच्च अदालतबाट कैफियत प्रतिवेदन माग हुन्छ, धरौटीमा छोड्ने आदेश हुनुको कारण माग हुन्छ,’उनले भने ।

गएको सोमबार जिल्ला अदालत सुनसरीका न्यायाधिश राधाकृष्ण उप्रेतीको इजलाशले कृष्णदासलाई ३ लाख रुपैया धरौटी लिएर छाड्ने आदेश दिएका थिए । उनको यो आदेशविरुद्ध अधिकारकर्मीहरु आक्रोशित छन् भने कानुन व्यवसायी र अपराधशास्त्रीहरुले पनि आश्चर्य प्रकट गरिरहेका छन् । महिला अधिकारकर्मीहरुले अदालतको यो आदेशविरुद्ध आन्दोलन शुरु गरेका छन् । अदालतको आदेश लगत्तै पीडित महिलाले अदालतबाट आफु पुनः एकपटक बलात्कृत भएको आरोप लगाएकी छिन् । उनले प्रहरीले पनि राम्रो अनुसन्धान नगरेको आरोप लगाउदै डिएसपी विनोद शर्माले प्रलोभन देखाउदै मिल्न दबाब दिएको बताएकी थिइन् ।