धरान: छैटौं नगरसभा र कर समायोजन कार्यदल गठनको निर्णय गरेर आज धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ ।

साविक बिष्णुपादुका चिण्डेडाँडा जाने बाटोको सर्दु खोला (धरान २० र १३ को सिमाना) मा पक्की पुल शिलान्यासको कार्यक्रमले गर्दा कार्यपालिका बैठक बीचैमा स्थगित भएको हो । पुल शिलान्यास कार्यक्रम प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले गर्ने तय भएकोले मेयर, उपमेयरसहित कार्यपालिका सदस्यहरु उक्त कार्यक्रममा जानुपर्ने थियो । त्यसैले नगरसभा र कार्यदल गठनको प्रस्तावमा निर्णय गरेर बैठक स्थगित गरिएको थियो । ‘आज सबै एजेण्डामा पर्याप्त छलफल र निर्णय गर्न समय पुगेन, त्यसैले २ वटा निर्णय गरेर बैठक सोमबार बिहान बस्ने गरि स्थगित भएको छ,’कार्यपालिका प्रवक्ता एवं वडा २० का अध्यक्ष मणीराम राईले भने ।

प्रवक्ता राईका अनुसार छैटौं नगरसभा आगामी फागुन २ र ३ गते गर्ने निर्णय भएको छ भने १३ सदस्यीय कर समायोजन कार्यदल गठन गर्ने अर्को महत्वपुर्ण निर्णय पनि भएको छ । कर समायोजन कार्यदलको संयोजकमा वडा नं १५ का अध्यक्ष नरेश इवारम छन् भने सहसंयोजकमा वडा नं १८ का अध्यक्ष प्रविण राई छन् । इवारम नेकपाबाट विजयी अध्यक्ष हुन् भने राई कांग्रेसबाट विजयी अध्यक्ष हुन् । यस्तै, सदस्यहरुमा कार्यपालिका सदस्य कैलाश अग्रवाल, वडा २ का अध्यक्ष माधवगोविन्द श्रेष्ठ, विकास वनेपाली, कर विज्ञ कृष्ण अग्रवाल, मीन कार्की, डा.अमृत राई, खगेन्द्रप्रसाद खतिवडा, सारदाप्रसाद भटराई, अशोक झा, सुनसरी उद्योग वाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय प्रमुख रहने निर्णय भएको छ । बाँकी एजेण्डामा सोमबार बिहान ८ बजे पुनः बैठक बसेर निर्णय गरिने प्रवक्ता राईले बताए ।