झापा : झापाको चारआलीदेखि पश्चिम बंगालको सिलगुडीसम्म पाइपलाइन विछ्याउन प्रारम्भिक अध्ययन सुरू गरिएको छ। भारतीय आयल निगम (आइओसी) ले पाइपलाइन बिच्छ्याउन अध्ययन सुरू गरेको हो।

पाइपलाइन कहाँबाट ल्याउन छिटो तथा सजिलो हुन्छ भनेर प्रारम्भिक तहको अध्ययन थालिएको नेपाल आयल निगमका चारआली कार्यलय प्रमुख विपिन श्रेष्ठले बताए।

उनका अनुसार टोलीले नेपाल तर्फको क्षेत्रमा अध्ययन गरेको छ। अर्को टोली आएर पुन अध्ययन गरिने उनले जानकारी दिए। ‘दुई टोली आएर प्रारम्भिक चरणको अध्ययन गरेपछि उक्त अध्ययनको आधारमा कहाँबाट पाइपलाइन विच्छ्याउँने भन्ने ठाउँ फाइनल हुन्छ,’ उनले भने। पुस २८ गते नयाँ दिल्लीमा नेपाल-भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ‘ज्वाइन्ट वर्किङ ग्रुप’ को सहसचिवस्तरीय बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालले झापाको चारआलीदेखि पश्चिम बंगालको सिलगुडीसम्म पेट्रोलियम पाइपलाइन बिच्छ्याउन प्रस्ताव राखेको थियो।

प्रस्तावमा भारतीय वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसमा अध्ययन गर्ने जवाफ दिएको थियो। सोही अनुरूप अध्ययन सुरू भएको हो। टोलीले प्रि-भिजिविलिटी अध्ययन गरेर निकालेको प्रतिवेदनका आधारमा पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम अघि बढ्ने छ।

पेट्रोलियम आयात सहज बनाउन झापाको चारआलीदेखि पश्चिम बंगालको सिलगुडीसम्म अन्तरदेशीय पेट्रोलियम पाइप लाइन निर्माण गर्न लागिएको हो। चारआलीदेखि पश्चिम बंगालको सिलीगुडीसम्म पाइपलाइन मार्फत पेट्रोल ल्याउन सकिए निगमको ढुवानी खर्च बच्ने छ। नेपाल र भारतको संयुक्त लगानीमा मोतीहारी-अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भई भदौदेखि निगमले पाइपबाट डिजेल आयात गरिरहेको छ।