काठमाडौं :  चीनमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा सुनदेखि लसुन सम्म महँगो भएको छ।
चीनमा तीव्र गतिमा कोरोनाभाइरस फैलिएपछि त्यसको प्रभाव अहिले नेपालमा पनी देखा परिरहेको छ। उक्त प्रकोपका कारण नेपाल पनि प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभावित भएको छ।

नेपालमा अहिलेसम्म एक जनामा मात्र कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। चीनमा सङ्क्रमण फैलिएपछि धेरै नेपालीहरू स्वदेश फर्किएका छन्। वुहानबाट उद्धार गरेर ल्याइएका १७५ जना अहिले पनि क्वारन्टीनमै छन्। नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या घट्दा नेपाली अर्थतन्त्र विभिन्न किसिमले प्रभावित हुने देखिएको छ।

चीन विश्वकै व्यापार महाशक्ति राष्ट्र मानिन्छ। नेपालको पनि कुल आयातको झन्डै २० प्रतिशत चीनबाटै हुन्छ। त्यसमा पनि औद्योगिक कच्चा पदार्थदेखि लिएर लत्ताकपडा उतैबाट आउँछन्। तर गएको केही सातायता त्यो व्यापार ठप्प भएको छ।

लगानी गर्न सुरक्षित क्षेत्रको खोजीमा रहेका लगानीकर्ताले सुनलाई रुचाएको बताइएको छ
"चिनियाँ नयाँ वर्षको बिदा सुरु भएपछि जबदेखि त्यहाँ कोरोनाभाइरस सङ्क्रमण फैलियो तबदेखि आयात निर्यात ठप्पजस्तै छ " नेपाल चीन उद्योग व्यापार सङ्घका अध्यक्ष त्रिभुवनधर तुलाधरले बताए।

स्थलमार्गबाट व्यापार हुने मुख्य नाका केरुङ होस् वा समुद्री र हवाईमार्गबाट हुने व्यापार सबै ठप्प जस्तै रहेको उनले बताए। त्यसको सोझो असर बिस्तारै बजारमा देखा पर्न थालेको छ।

corona 1

लसुन र सुन दुवैको भाउ बढ्यो

चीनमा फैलिएको कोरोनाभाइरस प्रकोपले नेपालको अर्थतन्त्रमा पार्ने व्यापक असर बुझ्न दुईवटा मात्रै सामग्रीको अध्ययन गरे पनि पुग्ने देखिन्छ।

तरकारीमा लसुन अनि सांस्कृतिक महत्त्व पनि भएको बहुमूल्य धातु सुन दुवैको मूल्यमा यसको असर परेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डको तथ्याङ्कले डेढ महिनामा चीनबाट आयातीत लसुनको मूल्य अढाइगुनाले बढेको देखाउँछ।

केही समयअगाडि भारतका कारण प्याज महँगो भएको बताइएको थियो भने अहिले चीनका कारण लसुन महँगो भएको भनिएको छ
नयाँ वर्ष लाग्दा सुकेको चिनियाँ लसुनको भाउ प्रतिकिलो २४० रुपैयाँ थियो भने अहिले त्यो ६०० भन्दा बढी छ। अझ स्थानीय तरकारी बजारमा त त्यति मूल्यमा पाउन पनि गाह्रो भएको बताइन्छ।

सुनको समीक्षा गर्दा कोरोनाभाइरसले चीनको अर्थतन्त्र र व्यापारमा पर्ने सक्ने प्रभावको आकलन गर्दै अन्तर्राष्ट्रिय बजारमा सुरक्षित तत्त्वको खोजीमा रहेका लगानीकर्ताका कारण बढेको मागका बीच यसको भाउ बिहीवार सात वर्षयताकै उच्च बिन्दुमा पुग्यो। हाल चीनसँगको आयात निर्यात ठप्प जस्तै रहेको व्यापारीहरूले बताएका छन्