धरान : आजबाट सुरु भएको २२ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमा भारतको दार्जिलिङ युनाइटेड करसाङ फुटबल क्लबले विजयीको सुरुवात गरेको छ ।

उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै करसाङ विजयी भएको हो । तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएका आयोजक धरानका सुनील खड्काले खेलको ३४ औं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाए । त्यसैगरी खेलको ७७ औं मिनेटमा करसाङका सुशान्त क्षेत्रीले पनि एक गोल गरी खेललाई बराबरी बनाए ।

यसपछि निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल समय अभावका कारण सिधै ट्राइबेकरबाट खेलको छिनोफानो गरिएको थियो । ट्राइबे्रकरमा आयोजक धरानका मनिस गुरुङ, हेमन्त थापाले मात्रै गोल गर्न सफल भए । मनोज राई र बिक्रम लिम्बुले भने गोल गर्न सकेनन् ।

यसैगरी करसाङका वीरेन प्रधान, प्रशान्त राई, सुशान्त क्षेत्री, प्रयास प्रधानले गोल गरी आफ्नो टिमलाई ४-२ गोलले विजयी गराए । आजको खेलको म्यान अफ द म्याच खरसाङका वाङदेन तामाङ घोषित भए । उनले १५ हजार रुपैयाँ र अन्य पुरस्कार पाए । धरानका सुनिल खड्काले बेष्ट गोलको पुरस्कार पाए भने उनले नगद ५ हजार रुपैयाँ पाए ।

प्रतियोगिताको दोश्रो खेल भोलि (आइतबार) नेपाल पुलिस क्लब र मेची नेत्रालय झापाबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख रुपैयाँ पाउनेछ ।