चीनले कोरोना भाइरसको परीक्षण किट निर्यातमा चीनले प्रतिबन्ध लगाएको छ ।

आन्तरिक बजारमा विक्री गर्न अनुमति नलिएका कम्पनीहरुले बनाएका किट र अन्य मेडिकल सामग्रीको निर्यातमा रोक लगाइएको हो ।चिनियाँ कम्पनीहरुसँग किनेको परीक्षण किट र अन्य सामाग्रीको गुणस्तर कमसल भएको र त्रुटी भेटिएको भन्दै युरोपले ती सामान लिन नमानेकै बेलामा चीनसरकारले यस्तो घोषणा गरेको हो ।

प्रतिबन्ध कोरोना भाइरस परीक्षण किट, मास्क, व्यक्तिगत सुरक्षा उपकरण पीपीई०, भेन्टिलेटर र इन्फ्रारेड थर्मोमिटर उत्पादन गर्ने सम्पूर्ण कम्पनीमा लागू हुने मंगलवार चिनियाँ वाणिज्य मन्त्रालय, सामान्य प्रशासन र राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै बताएको हो ।

यसअघि आफ्नो उत्पादन निर्यात गर्न चिनियाँ कम्पनीहरुले सीई प्रमाणीकरण गरे पुग्थ्यो । तर अहिले भने आन्तरिक बजारमा विक्री गर्न लाइसेन्स लिएको हुनुपर्ने प्रावधान राखिएको छ ।

कम्पनीहरुले सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरेको हुनुपर्ने र भन्सार कार्यालयले प्रमाणीकरण गरेको हुनुपर्ने समेत विज्ञप्तिमा भनिएको छ । प्रतिबन्ध हरेक कम्पनीका लागि लागु हुनेछ र कसैले नियम उल्लंघन गर्न खोजेमा कडा कारबाही गरिनेछ चेतावनी दिइएको छ ।

विश्वभर कोरोना भाइरसको महामारी बढ्दै गएसँगै कोरोना परीक्षण किट र अन्य मेडिकल सामाग्रीको माग पनि बढेको छ । माग बढेसँगै यी वस्तुको उत्पादनमा हात हाल्ने र अन्तरराष्ट्रिय बजारमा निर्यात गर्ने चिनियाँ कम्पनीको संख्या पछिल्लो समय बढेको पनि छ । तर नेदरल्याण्ड, टर्की लगायत केही यूरोपेली देशले सामान नै फिर्ता पठाउने तयारी गरिरहेका छन् ।