धरान : धरानका कृषकलाई चार थान खेतबारी जोत्ने पावर ट्रिलर धरान उपमहानगरपालिकाले प्रदान गरेको छ ।

मङ्गलवार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वडा नं. ४ का साना किसान तथा सहकारी संस्था लि. वडा नं. ५ का श्री जरिआहाल सामुदायिक कृषक समूह, वडा नं. ६ का गंगाधन बहुउद्देश्यीय कृषि फर्म र वडा नं. २० का चक्रकुण्ड सहकारी संस्था लि. का कृषकलाई पावर ट्रिलर हस्तान्तरण गरेका हुन् ।

कृषि शाखा अधिकृत भक्तिराज शर्माले धरान उपमहानगरपालिकाले यहाँ रहेका कृषकहरूको व्यवसाय प्रवर्द्धन र सहजताका लागि आधुनिकीकरण कार्यक्रम अन्तर्गत विभिन्न प्याकेजहरू ल्याएको हो । तीमध्ये पनि किसानहरूको पेसालाई प्रवर्द्धन गर्नका निम्ति खेतबारी जोत्ने पावर ट्रिलर कृषकहरूलाई प्रदान गरिएको बताए ।

उनले कृषकहरूको २५ प्रतिशत लगानी र नगरपालिकाको ७५ प्रतिशत लगानीमा प्रतिकोटा ६४ हजार रुपैयाँमा पावर ट्रिलर खरिद गरिएको जानकारी दिए । मेयर राईले धरानका वडा नं. ४, ५, ६ र २० कृषि जोनको रूपमा रहेको बताए । त्यस क्षेत्रका किसानहरूलाई कृषिका सामग्रीहरू उपमहानगरपालिकाले सहयोग गर्दै आइरहेको पनि मेयर राईले स्मरण गराए । 

मेयर राईले स्थानीय तहबाट प्राप्त भएको मेशिनरी औजार, मल, बिउ विजनहरूको अधिकतम रूपमा सदुपयोग गरेर उत्पादन गर्न पनि सुझाव दिए । मेयर राईले अनुदान लाने कृषकले आफ्नो वरपरका छरछिमेकलाई सहयोग गर्नुका साथै प्राविधिक ज्ञान हस्तान्तरण गर्न पनि आग्रह गरे ।