विराटनगर : विराटनगरको कोशी अस्पतालको सेवा प्रवाह चुस्त दुरुस्त बनाउँदै प्रदेश १ कै नमुना अस्पताल बनाउन मोरङका राजनीतिक दलहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । 

कोसी अस्पतालको सेवामा गुनासो आएपछि संवाद समूह प्रदेश १ ले आयोजना गरेको संवादमा अस्पतालको सेवा सुधारमा दलहरू लाग्ने प्रतिबद्धता जनाएका हुन् । 
विशेषज्ञ डाक्टर नबस्ने, सूचना प्रणाली व्यवस्थित नहुँदा बिरामीलाई समस्या भएको र पहुँचवालाले मात्रै सेवा पाएको गुनासो आएपछि दलहरूसँग संवाद आयोजना गरिएको हो । संवादमा दलहरूले कोसी अस्पताललाई नमुना अस्पतालका रूपमा स्थापित गर्न एक हुने प्रतिबद्धता जनाएका हुन्  । 

आगामी आर्थिक वर्षको बजेटमा कोशी अस्पताललाई प्राथमिकतामा राख्नका लागि  अस्पताल विकास समिति र अस्पताल प्रशासनको नेतृत्वमा सबै दलहरूले साझा रूपमा पहल गर्ने बताएका हुन्  ।
अस्पतालको क्षमता बिस्तार गरी ५ सय बेडको अस्पताल बनाउन भएको ओएनएमस सर्वे पारित गराउन भूमिका खेल्ने  पनि उनीहरूले बताएका छन् । 

अस्पतालले ओएनएमएस सर्वे पठाइसकेकाले यो पारित भए अस्पतालमा देखिएको कर्मचारी र चिकित्सक समस्या समाधान हुने अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले बताए । संवादमा अस्पतालको सही व्यवस्थापनका लागि  दलहरूको तर्फबाट बेला–बेला अनुगमन र निरीक्षण गरी समस्या समाधानमा  सकारात्मक पहल गर्ने पनि दलका नेताहरूले बताए ।

पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य जीवन घिमिरेले कोशी अस्पतालको बिग्रिएको साख जोगाउनु पर्ने अहिलेको चुनौती रहेको बताए । 

हिजोको तुलनामा केही सुधार हुँदै गएको छ, उनले भने, कहिले प्रदेश र कहिले सङ्घीय सरकार मातहतमा हुँदा समस्या भएको थियो । अहिले सङ्घीय सरकार मातहतमा हुँदा पनि केही कामहरू देखिएको छ । उनले कोशी अस्पताल प्रदेश कै रिफरल अस्पताल भएकोले नमुना रिफरल अस्पतालको रूपमा विकास गर्न दलहरूले भूमिका खेल्नु पर्ने बताए ।

नेपाली काँग्रेसका उपसभापति भक्तिनाथ माझीले नागरिकलाई दिने सेवा प्रवाहको बारेमा सूचना प्रणाली व्यवस्थित नभएको बताए ।  ‘सूचना अभावका कारण सेवाग्राही अलमलमा पर्ने अवस्था छ, उनले भने, ओपिडी, इमरजेन्सीको बारेमा पनि जानकारी प्राप्त गर्न अप्ठेरो छ ।

सेवा पाउने र दिने बारेमा एउटा हल बनाएर हेल्प डेस्क बनाएर जाने हो भने धेरै नागरिकको समस्या समाधान गर्न सकिन्छ ।’ अस्पताल प्रवेश गर्ने बित्तिकै  सेवा के पाउने ? कहाँ–कहाँ पाउने? कति  बजेदेखि कति बजेसम्म सेवा पाउने ? भन्ने सूचना नागरिकलाई दिनुपर्ने बताए ।

नेकपा एमालेका सचिव रुपेश खतिवडाले अस्पतालको जनशक्तिलाई सही व्यवस्थापन गर्ने हो भने धेरै समस्या समाधान हुने बताए । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र काम नगर्नेलाई कारबाही गर्नेगरि जानु पर्ने उनको धारणा छ । अस्पतालको सुधार गर्न दलका प्रतिनिधि सहितको उपस्थितिमा समितिका पदाधिकारी, प्रशासन प्रमुख, शाखा प्रमुखहरू बसेर छलफल गरेर जान सक्नु पर्ने बताए ।  

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले समस्या दलहरूमा नै रहेको बताए । ‘हामीबाट सुरु भएको समस्या हामी जहाँ जहाँ जान्छौँ त्यही जान्छ, उनले भने, पहिला हामी सुध्रिएपछि मात्र संस्थाहरू सुध्रिन्छन् ।’  सरकारले तोकेको समय भित्र कार्यालयमा नबस्ने डाक्टरलाई कारबाही गर्नु पर्ने बताए । ‘अहिले डाक्टरहरू कारबाही हुँदैन भन्नेमा देखिन्छन्, उनले भने, काम नगर्ने नागरिक प्रति जबाफदेही नहुने डाक्टरलाई कारबाही गर्ने हो भने सबै समस्या हल हुन्छ ।’

जसपाका नेता राजकुमार यादवले डेलिभरी अवस्थामा  अस्पताल जाँदा पनि भर्ना नहुने गरेको बताए । ‘पहुँचवाला गएको छ भने चाँडो भर्ना हुन्छ, उनले भने, अन्य व्यक्ति गयो भने भर्ना पाउने अवस्था छैन ।’ तर कोशी अस्पतालमा पहिलाको भन्दा केही सुधारको छनक देखिएको बताए ।

लोसपाका नेता मोहम्मद कादिरले ग्रामीण क्षेत्रबाट आउने  सर्वसाधारणलाई धेरै दुख हुने गरेको बताए । पहुँचको आधारमा मात्र सेवा पाउँदा अप्ठेरो अवस्थामा सेवा पाउनु पर्ने नागरिक वञ्चित हुने अवस्था आउने बताए ।  अस्पताल विकास समितिले  सबैदलहरुलाई बोलाएर समस्याको बारेमा छलफल गर्ने हो भने धेरै समस्या हल भएर जाने बताए ।

राप्रपाका नेता माधवराज आचार्य  र टङ्क गुरागाईँले आर्थिक अवस्था कमजोर भएको व्यक्ति उपचारको लागि जाने गरेकाले यस्तो अवस्थामा नागरिकका गुनासो सुन्न हेल्पडेस्क राखिनु पर्ने बताए ।
अस्पताल विकास समितिका अध्यक्ष भट्टराईले  सूचना डेस्क राख्ने प्रतिबद्धता जनाए ।