विराटनगर : प्रदेश नं.१का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूलाई एक आपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।
प्रदेश नं.१ सरकार अन्तर्गतका मन्त्रालय तथा निकायहरूको बुधवार भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनैतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गरे ।
‘हामीलाई चिनिया उक्ति जस्तो–बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’ मुख्यमन्त्री राईले भने । ‘हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुपर्यो, कर्मचारी जो भए पनि हुन्छ ।’ उनले कर्मचारीहरूलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन पनि मन्त्रीहरूलाई निर्देशन गरे ।
मुख्यमन्त्री राईले योजना कार्यान्वयनका क्रममा मन्त्रीहरूलाई असहयोग नगर्न सचिवहरूलाई आग्रह गरे । ‘यो वा त्यो कानुनको बहाना गरेर मन्त्रीज्यूहरूलाई अलमलाउनु भएन’ मुख्यमन्त्री राईले भने, ‘टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवज्यूहरूले पनि मन्त्रीज्यूहरूलाई खुला र पारदर्शी ढङ्गले भन्नुपर्यो ।’ उनले ऐन, कानुनका कारण गाँठो परेका विषय फुकाउन सरकार तत्पर रहेको उल्लेख गरे । ‘अब जहाँ समस्या पर्छ त्यहाँ कानुन बनाउँदै जाने हो’ मुख्यमन्त्री राईले भने ।
समीक्षा कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रालय विस्तार पछि जनस्तरबाट आलोचना भएको अवस्थामा अब कार्यसम्पादनबाटै जवाफ दिनुपर्ने बताए । ‘मन्त्रालय र मन्त्री बढाएर खर्च बढाए भन्ने आरोप छ, अब राम्रो कार्यसम्पादन गरेर परिणाममुखी कामबाटै जवाफ दिनुपर्दछ’ मन्त्री आङ्बोले भने । उनले कामको प्रकृति र जिम्मेवारीअनुसार मन्त्रालयहरूको बजेट फरक फरक हुनु स्वाभाविक भएको उल्लेख गर्दै प्राप्त बजेट सञ्चालन र खर्च गर्नमा दक्षता वृद्धि हुनुपर्ने आवश्यकता औँल्याए ।
उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले कर्मचारीहरूलाई स्थिर सरकारको संज्ञा दिँदै जाडोमा तराई गर्मीमा पहाड बस्न खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सरकारको मुख्य राजश्वको स्रोतलाई वृद्धि गर्न यातायात व्यवस्था कार्यालयको काम कारबाहीलाई थप व्यवस्थित गरिने बताए ।
प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले सरकारको कार्यक्रम र भावना अनुरूप काम गर्नका लागि आवश्यक तादम्यता मिलाउन सचिवहरूलाई निर्देशन दिए । उनले सरकारका मन्त्रीहरूलाई ऐन, कानुनको बारे सुस्पष्ट जानकारी गराउने काम सम्बन्धित मन्त्रालयका सचिवहरूको भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे ।
समीक्षा कार्यक्रममा प्रदेश नं. १ अन्तर्गतका मन्त्रालय र निकायका सचिवहरूले आ–आफ्ना मन्त्रालय र कार्यालयको अर्ध–वार्षिक प्रगति प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश सरकारका सबैजसो मन्त्रीहरूको उपस्थिति रहेको थियो ।