धरान : धरान उपमहानगरपालिकाको १० औँ नगर सभा शुक्रवार हुने भएको छ । 

विपी प्रतिष्ठानको अडोटेरिएम हलमा शुक्रवार बिहान १० बजेदेखि नगर सभा सुरु हुने नगर प्रमुख तिलक राईको अध्यक्षतामा बिहीबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको हो । 

चालु आर्थिक वर्षको नवौँ कार्यपालिकाको बैठकले उपमहानगरपालिकाको नवौँ नगर सभाबाट स्वीकृत आर्थिक ऐन २०७८ को दफा १७ मा भएको छुट सम्बन्धी व्यवस्थाको १ को ४ मा संशोधन गरी नगरपालिकामा दाखिला गर्न बाँकी बहाल कर गत असोज मसान्तसम्म जरिवाना छुट दिने भनिएकोमा आगामी चैत्र मसान्तसम्म जरिवाना छुट हुने व्यवस्था गरी १० औँ नगर सभामा प्रस्ताव पेस गरिने भएको छ । 

यस्तै, नवौँ नगर सभाबाट स्वीकृत विनियोजन ऐन २०७८ मा चालु आर्थिक वर्षका लागि अनुमान गरेको आन्तरिक आय अनुमानको तुलनामा सङ्कलन न्यून भएको र अनुमान गरेका जति सङ्कलन हुने सम्भावना नरहेकोले आन्तरिक आयबाट खर्च हुने गरी स्वीकृत गरिएका कार्यक्रम तथा योजनाहरूमा १० प्रतिशत घटाएर नगर सभामा पेस गरिने निर्णय गरिएको छ ।

नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहहरूलाई प्रदान गरिएको आधारभूत तथा माध्यमिक शिक्षा लगायत शैक्षिक कार्यक्रमहरूको व्यवस्थापन तथा सञ्चालन गर्न आवश्यक शिक्षा ऐनको मस्यौदा कार्यालयबाट तयार भई कानुन मस्यौदा समितिबाट समेत सिफारिस भई आएको शिक्षा विधेयक २०७८ लाई स्वीकृत गरि नगर सभामा पेस गरिने निर्णय भएको छ । 

यस्तै, बैठकले सार्वजनिक सुनुवाइ कार्यविधि २०७८ स्वीकृत, पदाधिकारीहरूको आचार संहिता २०७८ स्वीकृत, सार्वजनिक निजी साझेदारी विधेयक २०७८ नगर सभामा पेस गरिने निर्णय गरेको छ ।