इटहरी : नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ मा रोकिएको क्षेत्रीय अधिवेशन प्रक्रिया अझैसम्म सुरु हुन सकेको छैन । असोज १६ गते स्थगित भएको अधिवेशन प्रक्रिया सुचारु हुन नसकेको भन्दै सभापतिका उम्मेदवार सुदिप अधिकारीले आक्रोश व्यक्त गरेका छन् ।
नेतृत्वले समयमै निकास ननिकाले कार्यकर्ताले सहेर नबस्ने उनले बताए । सामाजिक सञ्जाल मार्फत धारणा राख्दै उनले आम कार्यकर्ताले सार्वजनिक कार्यक्रमबाटै लखेट्ने अवस्था आउने स्मरण गराए ।
४८३ जना मतदाताले मतदान गरिसकेको अवस्थामा प्राविधिक कारण देखाउँदै निर्वाचन स्थगित गरिएको र भोलिपल्टै निर्वाचन समितिलाई निवेदन दिँदा पनि प्रक्रिया पूरा नगरिनु पार्टीको आन्तरिक लोकतन्त्रकालागि लज्जास्पद विषय भएको उनले उल्लेख गरेका छन् ।
निर्वाचन स्थगित भएपछि 'सर्वसम्मति' को नाममा महाधिवेशन प्रतिनिधि चयन गरिएको भन्दै आपत्ति जनाए । "कुन आधार र कुन बैठकको निर्णयबाट महाधिवेशन प्रतिनिधिहरू चयन गरिए ? विधिवत् उम्मेदवारी दर्ता गराएका र फिर्ता नलिएका उम्मेदवारहरूलाई कुन विधानअनुसार सूचीबाट हटाइयो ?" उनको प्रश्न छ ।
निर्वाचन प्रक्रियामै निर्विरोध निर्वाचित भइसकेका ४ जना प्रतिनिधिहरूले समेत आजसम्म प्रमाणपत्र नपाउनु रहस्यमय रहेको अधिकारीको भनाइ छ । अधिकारीले असन्तुष्ट उम्मेदवार र कार्यकर्ताहरूको चित्त बुझाएर विधि र विधानसम्मत ढङ्गले तत्काल निकास निकाल्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर क्षेत्रीय कार्यसमितिलाई तत्काल अनिर्णयको बन्दीबाट मुक्त गर्न र पार्टीको आन्तरिक लोकतन्त्रको रक्षा गर्न उनको माग छ ।









































































