इटहरी : नेपाली काँग्रेसको कोशी प्रदेशको दोस्रो अधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धाको सम्भावना देखिएको छ । सभापतिका उम्मेदवारहरूले पत्रकार सम्मेलन मार्फत उम्मेदवारी घोषणा गरिरहेका छन् । सर्वप्रथम मोरङ जिल्ला सभापति तथा पूर्वमन्त्री डिगबहादुर लिम्बुले सभापतिमा उम्मेदवारी दिने घोषणा गरे ।

केन्द्रीय महाधिवेशन लगत्तै गृहनगर धरानमा आयोजित एक कार्यक्रममा वर्तमान महामन्त्री उमेश थापाले सभापतिकोलागि उम्मेदवारी दिने बताए । पार्टीलाई एक ढिक्का बनाएर स्थानीय र प्रदेश निर्वाचनमा सशक्त रूपमा प्रस्तुत हुने उनको तयारी छ । महामन्त्री भएको हिसाबमा सभापतिको लागि स्वतः उम्मेदवारी रहने थापाले प्रस्ट पारेका छन् ।

केन्द्रीय महाधिवेशनमा सहभागी भएर गृह जिल्लामा अभियान चलाइरहेको वर्तमान उपसभापति रमेशजंग रायमाझीले सोमबार उम्मेदवारी दिने घोषणा गरे । पार्टीलाई बलियो बनाउँदै विवादको बिचबाट एकताको सन्देश दिने अभियानको नेतृत्व गर्ने उनको मुद्दा छ। पार्टीलाई सङ्घीय संरचनामा थप बलियो बनाउँदै कोशी प्रदेशको पहिलो पार्टीको रूपमा स्थापित गर्ने रायमाझीले बताए ।

तीनै जना नेताहरूले केन्द्रीय नेतृत्व समक्ष आफ्नो उम्मेदवारीको विषयमा प्रस्ट पारिसकेका छन् । कोशी प्रदेशमा पहिचानको आवाजलाई समेट्ने र समावेशिताको मुद्दालाई सम्बोधन गर्ने लिम्बुको बुझाइ छ । थापा र रायमाझीलाई वर्तमान कार्यसमितिमा काम गरेको अनुभवले थप उत्साहित बनाएको छ ।

१३औँ महाधिवेशनका शेरबहादुर देउवा प्यानलबाट मोरङ सभापति बनेका लिम्बु १४ औँ महाधिवेशनमा डाक्टर शेखर कोइराला पक्षमा उभिएर पुनः सभापति निर्वाचित भए । विशेष महाधिवेशन विरुद्ध हस्ताक्षर अभियानको नेतृत्व गरेका उनी १५ औँ महाधिवेशनमा भने सहभागी भए ।

राष्ट्रिय सभाका पूर्वसदस्य तथा काँग्रेस संसदीय दलका पूर्व नेतासमेत भइसकेका रायमाझी मोरङका पुराना र अनुभवी नेता मानिन्छन् । उपसभापतिका रूपमा काम गरिसकेकाले अब मूल नेतृत्व सम्हाल्न आफू योग्य रहेको दाबी गर्दै उनले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका महामन्त्री थापाले साङ्गठनिक निरन्तरताको एजेन्डासहित सभापतिमा दाबी गरेका हुन् । पार्टीलाई प्रदेशकै एक नम्बर शक्तिका रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी रहने थापाले प्रस्ट पारे । आफ्नो गृह क्षेत्रमा थापा सर्वसम्मत उम्मेदवार छन् भने रायमाझी र लिम्बुलाई आफ्नै क्षेत्रले पूर्ण समर्थन गरेको छैन ।

चर्चामा मानबहादुर लिम्बुको नाम समेत रहेपनि उनलाई डाक्टर सुनिल शर्माले आफ्नो शक्ति सन्तुलनको लागि अगाडी सारेका हुन् । शर्मा निकट लिम्बु कोशी प्रदेशको पूर्व स्वास्थ्य मन्त्री हुन् ।