• रश्मि प्रधान
धरान : धरानमा आज देखी पब्लिक हाई स्कुलको मैदानमा पुष्प प्रदर्शनी तथा व्यापार महोत्सव सुरु भएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनद्वारा आयोजित पाँचौँ प्रदर्शनी र मेलाको एक समारोहका बिच प्रदेश १ सरकारका कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उद्घाटन गरेका छन् । मेला ५ दिन सम्म चल्ने छ ।
उद्घाटनको अवसरमा मन्त्री सिटौलाले पुष्प व्यवसायको प्रवर्द्धनका लागि नीति निर्माण, सुधार र लगानीका सम्भावना विषयका प्रस्ताव लिएर आउन फ्लोरिकल्चर एसोसिएसनलाई आग्रह गर्दै भने ‘नर्सरीबाट बिरुवा उत्पादन गरेर मात्र हुँदैन चाडपर्वलाई लक्षित गरी सिजनेबल फुलहरूको उत्पादन बढाउनु जरुरी छ ।’
उनले श्रम गर्ने सहरलाई शरम लाग्ने नबनाई फुलमा आत्मनिर्भर हुन आव्हान गर्दे स्थानिय सरकारले फुलको आयातलाई रोक्न पुष्प व्यवसायीलाई उत्पादनमुखी बनाउन लागिपर्ने बताए । मन्त्री सिटौलाले भने ‘सरकारले सातवटै प्रदेशमा पुष्प व्यवसाय प्रवर्द्धन गर्न केन्द्र स्थापना गर्न उपयुक्त हुने वा केन्द्र मार्फत नै काम गर्न सकिन्छ, आवश्यक सुझाव सहित प्रस्ताव लिएर आउनुहोस् ।’
कृषि तथा सहकारी विकास मन्त्रालयका सचिव डा.युवकध्वज जिसीले पुष्प व्यवसायको विकास, विस्तार र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रलाई सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग जारी रहने बताए । बाझो रहेको कृषि भूमिमा पुष्प खेती गरी उत्पादन बढाएर निर्यात गर्न सकिने उनको भनाइ थियो । 
फ्लोरिकल्चर एसोसिएसनका केन्द्रीय अध्यक्ष मीनबहादुर तामाङले पुष्प व्यवसायको प्रवर्द्धनका लागि विगतमा फयानले अघि सारेका कतिपय परियोजना बजेट अभावका कारण अलपत्र अवस्थामा रहेको भन्दै परियोजनाको निरन्तरताका लागि मन्त्री सिटौलालाई ध्यानाकर्षण गराए । उनले भने ‘फ्लोरिकल्चर एसोसिएसनले अघि बढाएको लालीगुराँसको व्यावसायिक उत्पादन, रैथाने फूलजन्य उद्योग स्थापना लगायतका कार्य अलपत्र अवस्थामा छन् ।’
कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव मेघनाथ तिम्सिनाले बजेट सीमितताको कारण सबै क्षेत्रलाई समेट्न नसक्नु प्रदेश सरकारको दुर्भाग्य रहेको बताए । प्रदेश सरकार पुष्प व्यावसायप्रती सकारात्मक रहेकोले पुष्प व्यवसायीलाई सक्दो सहयोग गर्ने बताए। प्रदर्शनी तथा व्यापार मेलाका स्टलहरूमा कुल ३५० प्रजातिका फुलहरू प्रदर्शन विक्रीका लागि राखिएका  छन् । नेपालमा उत्पादन नहुने अर्किड प्रजातिका फुलहरू फिलोन्पसीस, क्याटोलिया, अनसेडियम, डेनडेडियम, भेन्डा अर्किड प्रजाति फुलहरू एन्जीला नर्सरीमा मात्र रहेका सञ्चालक रतन बेराले बताए । 
उनका अनुसार उक्त प्रजातिका फुलहरू इन्डियामा मात्र उत्पादन हुन्छ । अर्किड फुल अव धरानमै उत्पादन हुने गरेको छ । प्रदेश १ स्तरीय भनिएको पुष्प प्रदर्शनी मेलामा सुनसरीका ४७ पुष्प व्यवसायीहरूको स्टलहरू रहेका छन् ।
व्यवसायीहरूको आन्तरिक समस्याका कारण मेलामा सहभागी हुन नसकेको मेला संयोजक राम प्रसाद राईले बताए । फुलहरूको सहर धरान भनिए पनि स्थानीय सरकार धरान उपमहानगरपालिकाले उपस्थिति समेत नजनाएकोमा फ्लावर जोन एण्ड पोट हाउसकी सञ्चालका शिव वान्तावा राईले क्षोभ प्रकट गरिन् ।
बान्तवाले भनिन् ‘उपमहानगरपालिकाले पुष्प व्यावसायिक प्रोत्साहन, प्रवर्द्धन गर्नुपर्नेमा कार्यक्रममा समेत उपस्थित भएको देखिएन यो दुःख लाग्दो कुरा हो ।’ माघ २९ गते सम्म सञ्चालन हुने पुष्प मेलामा ३५ हजारले मेला अवलोकन अनुमान गरिएको छ । 
आयोजक समितिका अध्यक्ष खगेन्द्र पोखरेलका अनुसार यसपालि पुष्प मेलामा ८० लाख रुपयाको कारोबार हुने अनुमान गरिएको छ । यस अघि चौथो पुष्प प्रदर्शनी तथा व्यापार मेलामा ७० लाख रुपया बराबरको कारोबार भएको उनले बताए ।
puspa-mela-2 1Puspa-mela-4Puspa-mela-5puspa-mela-3 3