• रश्मि प्रधान
धरान: धरानमा प्रदेश १ स्तरीय पुष्प प्रदर्शनी तथा व्यापार मेलको तयारी सुरु गरिएको छ । यसपालि हुने पुष्प मेला पाँचौँ पटक आयोजना हुन लागेको हो । फ्लोरिकल्चर एसोसिएसनद्वारा आज सोमवार आयोजित पत्रकार सम्मेलनमा मेला माघ २५ देखि २९ गते सम्म पब्लिक स्कुलको मैदानमा हुने   जानकारी दिएको छ ।
पाँच दिनसम्म सञ्चालन हुने पुष्प व्यापार मेलामा खरिद विक्रीका लागि ५ सय भन्दा बढी प्रजातिका फूल प्रदर्शनीमा राखिने बताइएको छ । मेलामा स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने मेला संयोजक राम कुमार राईले बताए । उनका अनुसार राज्यले  सहज रूपमा बैङ्कबाट सहुलियत दरमा ऋण प्रदान गरेमा प्रविधियुक्त बेर्ना बिरुवा हुर्काउन बनाइने ग्रिन हाउस घर भित्राउन सकिने र त्यसले विदेशबाट फुल आयात प्रतिस्थापन गर्न सकिन्छ । 
पुष्प ब्याबसायी प्रेम पराजुलीले स्थानीय सरकार धरान उपमहानगरपालिकाले पुष्प ब्यवसायिहरुलाई प्रवर्द्धन गर्न वार्षिक बजेट उपलब्ध नगरेको गुनासो गरे । उनले भने ‘व्यवसायीले सधैँ बजेटको लागि चाकडी चाप्लुसी गर्नु पर्ने बाध्यता छ ।’ 
धरानलाई फूलबारीको सहर बनाउने नीतिलाई प्रदर्शनीले सहयोग पुग्ने आयोजकले जनाएको छ । प्रदर्शनीमा ५० वटा स्टलमा ५ सय भन्दा बढी प्रजातिका बिरुवाहरू रहनेछन् । मेलामा ५० हजार भन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा ७० लाख भन्दा बढीको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ ।
मेलामा मौसमी, आलङ्कारिक बोटबिरुवा, सुनाखरी, कम्पोस्ट, फूलको गानो, बिउ बिजन, कृषि औजार, उपकरणलगायतको प्रदर्शनी तथा बिक्री गरिने छ । मेलाले पुष्प व्यवसाय मात्र नभई घर, आँगन, बगैँचा सजाउन चाहनेलाई पनि उपयोगी हुने अध्यक्ष ईश्वर पोखरेलले बताए । 
प्रदेश १ मा ६५ भन्दा बढी पुष्प व्यवसायीहरू रहेका छन् । वार्षिक १३ करोडको कारोबार हुने गरेको बताइएको छ । पुष्प व्यवसायमा ४० करोडको लगानी रहेको छ । मेलामा धरान नगरपालिकाको सिफारिसमा प्रत्येक वडाका ३ जनालाई  सयपत्री उत्पादनमा वृद्धि गराउन र यसलाई प्रभावकारी बनाउन प्रशिक्षण समेत दिइने कार्यक्रम पनि छ ।