धरान : अहिले चलिरहेको 'भ्यालेन्टाइन डे'का लागि करोडौँको भारतीय फुल नेपालमा आयात भएका छन् । कटपिस फुलको बजारमा धमाल मच्चाई रहेको भारतीय फुलको हिस्सा जाडो महिना भएकोले ७० प्रतिशत बढी छ । गर्मी याममा भारतीय कटपिस एरेञ्ज फुलले बजारको झन्डै शतप्रतिशत लिन्छ ।
नेपाल फ्लोरिकल्चर एसोसिएसनका महासचिव विश्वमणि पोखरेलले भने ‘कटपिस फुल भारतबाट भन्सार तिरेर ल्याइएका हुन्छन्, नेपालमा प्रतिबन्धित माटो सहितको नर्सरीका फुलको बिरुवा तस्करीबाट भित्रिने गरेकाले नेपाली नर्सरी व्यवसाय ठुलो मारमा पर्दै आएको छ ।’
उनका अनुसार कटपिस एरेञ्ज फूलहरू आयात गर्न पाए पनि माटो सहितको नर्सरीका बिरुवाहरूको आयातमा प्रतिबन्ध लगाएको छ । तर नेपाल-भारत सिमाक्षेत्र नजिकका भारतीय नर्सरी बजारबाट तस्करीको माध्यमले फुलका बिरुवाहरू भित्रिने गरेका छन् । गुणस्तरीयताको दृष्टिले कुनै प्रत्याभूति गर्न नसकिने भारतीय बिरुवाहरू सस्तो पर्ने भएकाले त्यसले नेपाली नर्सरी व्यवसायलाई ठुलो मारमा पार्दै आएको छ । नयाँ फुलप्रेमीलाई झट्ट हेर्दा आकर्षित गर्ने बिरुवाले लोभ्याउँछ । कतिपय गुणस्तर नभएका बिरुवाहरू सँग नेपाली नर्सरीले प्रतिस्पर्धा गर्न कठिन भएको उनको भनाई छ ।
बर्सेनि अर्बौँ रुपयाको कारोबार हुने फुलको बजारमा भारतीय फुलको रजाइँ हुनका कारण नेपालको तुलनामा उत्पादन लागत धेरै कम हुनु मुख्य कारण भएको हो । भारतीय फुल र नर्सरीका उत्पादनहरू  त्यहाँको सरकारको उदार नीति र श्रमिकको ज्याला न्यून हुनुका कारण सस्तो भएको महासचिव पोखरेलले बताए ।
उनका अनुसार भारतीय सरकारले नर्सरी उद्यमलाई ग्रिन हाउस निर्माणमा ९९ प्रतिशत अनुदान देखी उपकरण, मल, किटनाशक औषधीहरूमा अनुदान दिने गरेको छ । नर्सरीमा प्रविधि केन्द्रित लगानीमा पनि सरकारी प्रोत्साहन भएकोले ठुलो परिणाममा फुलका खेतीहरू हुन्छन् । त्यहाँ नर्सरीका श्रमिकको दैनिक ज्याला १५० रुपया मात्र छ ।  
नेपालमा नर्सरी उद्यमप्रति सरकारको ध्यानै गएको छैन । धरानमा आजै देखी सुरु भएको पाँचौँ पुष्प प्रदर्शनी तथा व्यापारमा मेलामा प्रदेश १ सरकारका कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले पुष्प व्यवसायको प्रवर्द्धनका लागि नीतिगत विषयका प्रस्ताव लिएर आउन फ्लोरिकल्चर एसोसिएसनलाई आग्रह गरे । 
प्रदेशका मन्त्रीको भनाइले पनि फुल तथा नर्सरीको व्यापारका बारेमा नीति निर्माण तहमा भारतीय फूलहरूको आयातलाई प्रतिस्थापन गर्ने नीति बनाउने तर्फ ध्यानाकर्षण नभएको पुष्टि हुन्छ । महासचिव पोखरेलले भने ‘भारतीय फुल र बिरुवाको प्रतिस्थापनका लागि सरकारले ठोस नीति बनाउन नसके नेपाली पुष्प व्यवसाय माथि उठ्न सक्दैन ।’
Puspa-mela-4काठमान्डुकी पुष्प व्यवसायी निगारा श्रेष्ठका अनुसार सरकारले भारतीय सस्तो फुलको आयातले नेपाली सयपत्री फुल खेतीलाई समेत प्रभावित गर्न लागेको छ । सिमाक्षेत्रमा नर्सरीका बिरुवाको तस्करीलाई कडाइका साथ रोक्ने काम भएको छैन । भारतीय फुलको आयातमा भन्सार बढाएर निरुत्साहित गर्ने र तस्करीलाई कडाइका साथ नियन्त्रण गर्न जरुरी छ ।   
फ्लोरिकल्चरका महासचिव पोखरेलले भने ‘भारतमा जस्तै नेपालमा सरकारले नर्सरी र पुष्प व्यवसायलाई प्रोत्साहित गर्ने नीति बनाउनु पर्छ ।’ तिनै तहको सरकारबाट फुल खेती, नर्सरी उद्यमलाई प्रविधि केन्द्रित बनाउन कृषि अनुदान, उपकरण, आवश्यक वस्तु आयातमा भन्सार छुटको व्यवस्था हुनुपर्दछ । 
तर, धरानमा आयोजना भएको प्रदेश स्तरीय भनिएको पुष्प प्रदर्शनी व्यापारमा मेलामा स्थानिय सरकार धरान उपमहानगरपालिकाबाट कुनै सहयोग नपाएको आयोजकहरुले पत्रकार सम्मेलनमै सार्वजनिक गरे । धरानका मेयर हर्क साम्पाङले जलाधारमा फुलको बिरुवा रोपेको फुल फुलेको सामाजिक सञ्जालमा निकै प्रचार भयो ।
धरानलाई फुलको सहर बनाउने मेयर साम्पाङको नारा धरानमै आयोजना भएको पुष्प मेलामा भएको अनुपस्थितिले केवल नारा मात्र हो कि भन्ने प्रश्न मेलाका सहभागी नर्सरी सञ्चालकहरूले गरेका छन् । स्थानिय सरकारको व्यवहारमा देखिएको नीतिले माथिल्लो सरकारहरूको नीति कस्तो होला भन्ने सङ्केत पनि दिएको छ ।