इटहरी : सुनसरीको धरानमा अवस्थित बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी मूल्य मान्यता बाहिर ऋण प्रवाह गरेको पाइएको छ। बचतकर्ताको बचत गलत प्रयोजनमा ऋण प्रवाह भएको र सहकारीको मान्यता अवलम्बन नगरेको कारण समस्या उत्पन्न भएको हो ।  
धरान उपमहानगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनले सहकारी सञ्चालकको बदमासीको कारण समस्या आएको प्रस्ट पारेको छ । सञ्चालक समितिका नातागोता र आफन्तको नाममा हदभन्दा बढी ऋण लगानी हुँदा सहकारी अप्ठ्यारोमा परेको प्रतिवेदनको निष्कर्ष छ । 
सहकारीकै सञ्चालक आबद्ध रहेको बराह ज्वेलरी इन्डस्ट्रीज प्रालीमा सबैभन्दा धेरै ऋण लगानी भएको छ । त्यस सँगै बराह कृषि उपज तथा पशुपालन प्राली, बराह डिपार्टमेन्ट स्टोर, बराह फेमिलि किचन र बराह भेडेटार मल्टी प्रपोज कम्पनीले सहकारी मान्यता विपरीत कर्मचारी र सञ्चालकको नामबाट ऋण लिएका छन् । 
सञ्चालक स्वयम् र नातेदारहरू ऋण लिनेमा अग्रस्थानमा छन् । न्यूनतम ५ लाख देखी २ करोड सम्म एउटै व्यक्तिले ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि मान बहादुर विश्वकर्मा, शिव कुमार लामिछाने, पूर्ण कालिकोटे, सुभराज खाती, रवि सुनार, विष्णुमाया विक, मन्दीरा लामिछाने, नरेन्द्र कुमार राई, अम्बर बहादुर विक, होमराज कालिकोटे र गोमा गजमेरको नाममा करोडौँ ऋण लगानी भएको छ । 
उपमहानगरपालिकाले वरिष्ठ आर्थिक विकाश अधिकृत भक्तिराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । हेमा थुलुङ सदस्य सचिव रहेको समितिमा नरेन्द्र पराजुली र जनार्दन कोइराला सदस्य थिए । २०७९ साउन १ गते परेको निवेदनको आधारमा नगर प्रमुख स्तरीय निर्णयले ५ सदस्यीय छानबिन समिति गठन भएको हो । 
बराह पीडित सङ्घर्ष समितिका संयोजक खगेन्द्र बहादुर नेपाली, सह–संयोजक कमल राई र श्याम प्रसाद ढकालले निवेदन हालेका थिए । शिव कुमार विक, मान बहादुर विक, विष्णुमाया विक, गङ्गाबहादुर कालिकोटे, विष्णु कुमारी तुलाधर विरुद्ध उनीहरूले निवेदन दर्ता गराएका हुन् । 
साउन ८ गते गठन भएको समितिले १५ गते उपमहानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ३ बमोजिम बैङ्क खाता रोक्का गर्ने निर्णय ग¥यो । सोही दिन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय लगायत ११ वटा निकायमा सम्पत्ति रोक्काको लागि निवेदन पेस भयो । 
समितिले उपमहानगरपालिकाका प्रमुखलाई बुझाएको प्रतिवेदनमा बराहलाई सङ्कटग्रस्त सहरकारीको सुचीमा राख्दै सहरकारी ऐन अनुसार कारबाही गर्नुपर्ने निष्कर्ष छ निकालेको छ । 
सहकारीले लगानी भएको ऋण उठाउन कुनै प्रयास नभएको, सहकारीको मूल्य मान्यता बाहिर गएर ऋण लगानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै बचतकर्ताको रकम समयमा फिर्ता नगरेको, सेयर सदस्य नबनाई ऋण लगानी गरेको र एउटै मितिमा विभिन्न खाता खोलेर ठुलो मात्रामा लगानी गरेर बदमासी गरेको पाइएको छ । 
आफ्नै नातेदारमा बढी ऋण लगानी गरेको बताएको समितिले संस्थाले प्रारम्भिक पुँजी कोषको १५ गुणा भन्दा बढी बचत नगर्ने सुझाव दिइएको छ । तरलता १५ प्रतिशत कायम गरेर मात्र लगानी गर्नुपर्ने, संस्थाका ४९ प्रतिशत भन्दा बढी सञ्चालकले एकलौटी ऋण नलिने र उत्पादन मूलक क्षेत्रमा मात्र ऋण लगानी गर्न सुझाएको हो । घर जग्गा खरिद गर्दा संस्थाको ऐन र परिधिमा बस्नुपर्ने र शेयर सदस्य बनाएर मात्र लगानी गर्नुपर्ने समितिको ठहर छ ।  
सङ्कटग्रस्त अवस्थामा पुगेको सहकारीमा बचतकर्ता र सेयर सदस्यहरू लगानी डुबेको कारण त्रासमा छन् । लामो समयदेखि आन्दोलनमा रहेको बचतकर्ता लगानी फिर्ता पाउनुपर्ने माग राख्दै आइरहेका छन् ।
छानबिन समितिको प्रतिवेदन