• प्रमोद भट्टराई

नेपाली काँग्रेसका कार्यकर्ताहरू जो बिपी कोइराला पढ्न रुचाउँछन् । उनीहरूले पक्कै बिपी कोइरालाको महान् ग्रन्थ ‘आत्मवृत्तान्त’ पढेकै हुनुपर्छ । ‘आत्मवृत्तान्त’ नेपाली काँग्रेसका एक संस्थापक महान् नेता बिपी बारेमा बुझ्न मात्रै होइन नेपाली राजनीतिक, सामाजिक र अन्य विभिन्न आयामहरू बुझ्न धेरै महत्त्वपूर्ण हुन्छ ।

उक्त ग्रन्थले नेपालको विद्यार्थी आन्दोलनको इतिहास बारेमा पनि बोल्छ । २००४ सालमा बिपी कोइरालालाई विराटनगरबाट पक्राउ गरेर धनकुटा ल्याइयो । धनकुटापछि पुनः मध्य पहाडको बाटो हिँडाएर काठमाडौँ पुर्‍याइयो । राणा शासकहरू विरुद्ध भएको जुटमिल आन्दोलनमा समर्थन गर्न आएको समयमा बिपीलाई राणा सत्ताले पक्राउ गरेको थियो ।

बिपीलाई काठमाण्डौमा लगेर थुनिने वित्तिकै काठमाण्डौमा विद्यार्थी आन्दोलन भयो । एकातिर मजदुर आन्दोलन । अर्कोतिर विद्यार्थी आन्दोलन । दलहरू प्रतिबन्ध लाइएको तानाशाही युगमा आन्दोलन हुनु आफैमा ठुलो विषय थियो ।

‘जयतु संस्कृतम’ नाममा आन्दोलन भयो । जुन आन्दोलन समय क्रममा राणा शासन ढाल्ने मध्येको एक प्रमुख आन्दोलन बन्यो । संस्कृत पढ्ने विद्यार्थीहरूले अन्य क्षेत्रमा समेत पठनपाठन हुनुपर्ने भन्दै आन्दोलन भयो त्यो बेला । राजनीतिक दल प्रतिबन्ध लागेको समयमै भएको त्यो आन्दोलन विद्यार्थी आन्दोलनको रूपमा चलेको थियो ।

आन्दोलनमा नेतृत्व गरेका केही मध्येका एक काशीनाथ गौतम पछि काँग्रेस प्रवेश गरेका थिए । उनको राणा युगमा काँग्रेसका पोस्टरहरू बोकेर गाँउ गाँउमा पुर्‍याउने गर्दथे । गुल्मीमा चुनाव जितेपछि उनी बिपी कोइरालाको प्रथम नवनिर्वाचित सरकारको मन्त्री समेत बन्ने अवसर पाए । त्यो मात्र हैन, काँग्रेसका अर्का महान् नेता शुर्वण शमशेरलाई चुनाव क्षेत्रमै नपुगी चुनाव जिताएको जस पनि उनै गौतमलाई जान्छ ।

नेपालको प्रथम निर्वाचित सरकार बन्नुमा विद्यार्थी आन्दोलनकै देन छ । यो कुरामा नेपाली विद्यार्थी आन्दोलनले गर्व गर्नुपर्छ । नेपाल विद्यार्थी संघ ‘जयतु संस्कृतम’ आन्दोलन भन्दा धेरैपछि स्थापना भए पनि काशीनाथ गौतम देखी ‘जयतु संस्कृतम’ आन्दोलनको ‘लिगेसी’ बोकेको संस्था हो, नेपाल विद्यार्थी संघ ।

नेपाल विद्यार्थी संघ नेपालको लोकतान्त्रिक कित्ताको सबैभन्दा ठुलो आशाको केन्द्र हो । नेपालका विद्यार्थीहरूले देशभरका विभिन्न कलेजहरूमा हुने स्ववियुमा उत्तिकै माया दिएर यो अभियानलाई, यो आन्दोलनलाई साथ र समर्थन दिएका छन् । जयतु संस्कृतम आन्दोलन, २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ देखी दोस्रो जनआन्दोलन हुँदै त्यस अघि र पछिका विभिन्न कठिन समयहरुमा नेपाल विद्यार्थी संघ जोडिएको छ ।

नेपाल विद्यार्थी संघ र नेपाली विद्यार्थी आन्दोलन पर्यायवाची जस्तै भएका छन् । यो तर्कका लागी तर्क होइन । इतिहासले निर्माण गरेको लिगेसीको तथ्य हो ।

अब सवाल चैत ५ गते हुने स्ववियु चुनावको हो । हुन त नेपालमा आधा दर्जन हाराहारी विश्व विद्यालयहरू छन् । चैत ५ को स्ववियु चैँ त्रिभुवन विश्वविद्यालयले गर्न लागेको चुनाव हो । हुन त देशैभरका सबै विश्वविद्यालयमा एकै क्यालेन्डरमा स्ववियु हुँदा अझ सुन्दर हुन्थ्यो । तर, त्यो भने अझै हुन सकेको छैन ।

नेपालमा आन्दोलनको पर्याय बन्दै आएको स्ववियुलाई अब विश्वमा टिक्न सक्ने, बिक्न सक्ने जनशक्ति बनाउने सिर्जनात्मक थलो बनाउन आवश्यक छ । नेपालको विद्यार्थी आन्दोलन र नेतृत्व अनि मुद्धाहरु अब काठमाडौँ र देशका सात प्रदेशका राजधानी सहरमा बनाएर हुन्न । अब सहरबाट मुद्दा गाउँ पठाउने जमाना होइन । अबको जमाना गाउँमा पुगेर मुद्दा टिपेर सहर आउने समय हो । गाउँका मुद्दालाई गाउँमै नेतृत्व विकासको समय हो ।

संविधानले दिएको तीन तहको सरकार देशमा स्थानीय नेतृत्वको राम्रो अभ्यास हो । यस्तै अभ्यास अब सङ्गठनमा गर्न आवश्यक छ । स्ववियु टिकट देखी अन्य राजनीतिक मुद्धाहरु लाई माथिबाट तल लाने होइन । तलबाट माथि लाने बनाउन आवश्यक छ । सबैभन्दा धेरै आवश्यक चाहिँ देशभरका आम सर्वसाधारणलाई विद्यार्थी आन्दोलन हल्लाखल्ला र सडक तताउने आन्दोलन मात्रै होइन नेपाली शिक्षा र सिर्जनलाई जनता सम्म लाने आन्दोलन बनाउन आवश्यक छ ।

जनताले महसुस गर्ने सिर्जनात्मक बनाउन आवश्यक छ । नेपालको सिमापार गरेर विश्वका विभिन्न फोरमहरूमा नेपालको अनुहार बलियो बनाउन विद्यार्थी आन्दोलन जोड्न आवश्यक  छ ।

अबको मुद्दा भनेको चार प्रमुख कुरामा हुनुपर्छ । एक, नेपालका विश्वविद्यालयलाई नै विश्व स्तरीय बनाउने । परीक्षा, पाठ्यक्रम बलियो बनाउने ताकि विभिन्न देशहरूमा पुगेर नेपाली विद्यार्थीहरूको अरबौँ रकम बिदेसिन नपरोस् ।

दोस्रो, मुद्दा भनेको शिक्षामा सबैको पहुँच । अहिले पनि नेपालमा शिक्षा खासगरी प्राविधिक र विज्ञान शिक्षामा गरिबको पहुँच छैन । छात्रबृत्ति पाएर पनि सहरमा जीवन धान्ने अवस्था छैन । यसको अन्त्य गर्नलाई सरकारले गरिबिको रेखामुनिका मेधावी विद्यार्थीको शिक्षामा आवास सहितको छात्रवृत्ति दिन आवश्यक छ ।

तेस्रो, मुद्दा भनेको अहिलेको शिक्षालाई उद्यमसँग जोड्ने । रोजगारसँग जोड्ने । यसो हुँदा विद्यार्थीहरूले पढेपछि जागिर पाउँदिन भन्ने तनाव कम हुन्छ । चौथौँ र सबैभन्दा महत्त्वपूर्ण मुद्दा चैँ विद्यार्थी आन्दोलनको दीर्घकालीन औचित्य र आवश्यकलाई सृजनात्मक रूपमा बढाइरहने हो । बचाइरहने हो ।

यसतर्फ नेपाल विद्यार्थी संघ लाग्नुपर्छ । नेपाल विद्यार्थी संघ सुनसरीको जिल्ला तहको एक जिम्मेवार अनुहार भएकोले व्यक्तिगत रूपमा म पनि यो मुद्दामा सबैसँग सहकार्य गर्न तयार छु । समन्वय गर्न तयार छु । आफू र आफ्नो नेतृत्व विकास गर्न तयार छु । त्यसमा मलाई विद्यार्थी देखी विज्ञहरूको साथ र सहकार्य आवश्यक छ ।

त्यसको लागी जतिबेलै तयार छु । के तपाईँ तयार हुनुहुन्छ ?

(लेखक नेपाल विद्यार्थी संघ सुनसरीका अध्यक्ष हुन् )