इटहरी : चैत ५ गते सुनसरीका ७ मध्ये ६ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ ।
निर्वाचनमा विद्यार्थी सङ्गठनले माउ पार्टीकै शैलीमा गठबन्धन गरेका छन् । 
पार्टी र विद्यार्थी सङ्गठनका नेताहरू बिचको सहमतिमा भागबन्डा गरिएको नेपाल विद्यार्थी सङ्घ सुनसरी सभापति प्रमोद भट्टराईले बताए । उनका अनुसार नेबिसंघले ६ वटै क्याम्पसमा सभापति उम्मेदवार पाउने गरी तालमेल भएको छ ।
नेकपा एमाले निकट अनेरास्ववियुले पनि ५ वटा क्याम्पसमा सभापतिमा उम्मेदवारी दिएको छ । जनता बहुमुखी क्याम्पसमा उज्ज्वल सिग्देल, सप्तकोशी बहुमुखीमा चित्रामान राई, पुर्वाञ्जल इन्जिनियरिङमा अशेष रेग्मी, महेन्द्र बहुमुखीमा सुनिल सुब्बा, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा प्रतीक ओझाले उम्मेदवारी दिएका छन् ।
नेबिसंघले भने ६ वटै क्याम्पसको सभापतिमा उम्मेदवारी दिएको छ । जनता बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियन सँग तालमेल गरेको छ । जनताको सभापतिमा नेबिसंघको तर्फबाट सहदेव काफ्ले र सचिवमा समाजवादीका अर्जुन राई उम्मेदवार भएका छन् ।
सुनसरी बहुमुखी क्याम्पसमा नन्दन गुप्ता, सप्तकोशी बहुमुखीमा मार्सल तामाङ, पुर्वाञ्जल इन्जिनियरिङमा नवीन श्रेष्ठ, महेन्द्र बहुमुखी क्याम्पस विनोद आले मगर, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अविनव गुरागाईँलाई नेबिसंघले उम्मेदवार बनाएको छ । बाकी पदाधिकारी र सदस्यमा अन्य सङ्गठनलाई भागबन्डा मिलाइएको सभापति भट्टराई बताउँछन् । 
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी युनियन अनेरास्ववियु (क्रान्तिकारी) ले पुर्वाञ्जल इन्जिनियरिङ क्याम्पस धरानमा मन्दिप अधिकारीलाई सभापति उम्मेदवार बनाएको छ । समाजवादी विद्यार्थी युनियनले सुनसरी बहुमुखी क्याम्पस इनरुवामा देव कुमार यादव उम्मेदवार भएका छन् । 
राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घले सम्पूर्ण क्याम्पसमा उम्मेदवारी दिएको छ । 
फर्जी विद्यार्थी भर्ना भएको भन्दै तालाबन्दी भएको पिण्डेश्वर विद्यापीठमा भने निर्वाचन नहुने सम्भावना बढ्दै गएको छ । नेबिसंघले गरेको तालाबन्दीको कारण निर्वाचन तालिका प्रभावित भएको हो । विद्यार्थी संगठन बिच सहमति गरेर सहमतिकै स्ववियु समिति निर्माण गर्ने तयारी भइरहेको एक नेताले बताए ।