इटहरी : चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विद्यार्थी सङ्गठनहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । सुनसरीमा विद्यार्थी सङ्गठनहरूले गठबन्धन मार्फत प्रतिस्पर्धा रोचक बनाएका छन् । मुख्यतः नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियन (सवियु) बिच प्रतिस्पर्धा हुने भएको छ ।
सबैभन्दा बढी क्याम्पसमा नेविसंघले सभापतिको उम्मेदवार उठाएको छ । सुनसरीका ७ मध्ये ६ क्याम्पसका निर्वाचन हुने पक्का भएको छ । पिण्डेश्वर विद्यापीठमा अनेरास्ववियुका अनीश रेग्मीको नेतृत्वमा सर्वसम्मत स्ववीयु समिति चयन भइसकेको छ । अन्य क्याम्पसमा मुख्यतः नेविसंघ, अनेरास्ववियु, सवियु बिच नै प्रतिस्पर्धा हुने भएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पनि आफ्नो दाबीलाई बलियो बनाउँदै लगेको छ । अन्य सङ्गठन सँग तालमेल नगरेको राप्रविसंले चुनावी प्रचार अभियान तीव्र पारेको छ । 
यस्ता छन् चुनावी मुद्दाहरू : 
नेपाल विद्यार्थी सङ्घ 
नेविसंघले जिते मात्र विद्यार्थीको जित हुने बताउँछन् जिल्ला सभापति प्रमोद भट्टराई । विगतमा अन्य सङ्गठनले विजयी हुँदा विद्यार्थीको अवस्था झनै नाजुक भएको उनको तर्क छ । अब सक्षम नेतृत्वबाट क्याम्पस र विद्यार्थीको हितमा काम हुने उनको भनाई छ ।
अब विद्यार्थीलाई पढाउने मात्र हैन सिकाउने पनि गर्नुपछि । त्यसैले हामीले ‘पढ्दै-कमाउँदै’ कार्यक्रम ल्याएका छौँ । जहाँ गरिब विद्यार्थीको पहिचान गरी रुचि अनुसारको निःशुल्क सीपको व्यवस्था हुन्छ  र सोही अनुसार रोजगारीकोको प्रबन्ध मिलाउँछौ । उनले भने, कोर्ष बाहिर पनि ज्ञान छ भन्ने सिकाउन वरिष्ठ साहित्यकार, कलाकार, अर्थशास्त्री, र विज्ञलाई गेष्ट लेक्चरको रूपमा उपस्थित गराउँछौ । सँगै ‘उद्यमी सँग विद्यार्थी’ कार्यक्रम सञ्चालन गरी विद्यार्थीमा उद्यमशीलताको विकाश गर्ने देखी विदेशी विश्वविद्यालय सँगको सहकार्यमा विद्यार्थी विनिमय कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
क्याम्पस अनुसारका समस्या भएकाले विद्यार्थी सँग संवाद गरेर समस्या समाधानको पहल गरिने उनले बताए । कला र सङ्गीत सँग विद्यार्थीलाई जोड्नको लागि विशेष कार्यक्रम ल्याउने उनले प्रष्ट पारे । 
अनेरास्ववियु
अनिवार्य र निःशुल्क माध्यमिक शिक्षा र प्रविधिमैत्री कक्षा कोठा अनेरास्ववियुको प्राथमिकतामा रहेको सुनसरी जिल्ला अध्यक्ष नवराज खड्काले बताए । आकस्मिक उपचारको प्रबन्ध सँगै स्थानीय सरकार सँग समन्वय गरेर निःशुल्क स्वास्थ्य बिमा र घर भाडामा छुटको व्यवस्था मिलाइने उनले बताए । विद्यार्थीको लागि २५ युनिट सम्म बिजुलीको महसुल निःशुल्क गराउने अभियानमा अनेरास्ववियु रहेको प्रष्ट पारे । अबको शिक्षा सीपमूलक हुनुपर्ने बताउँदै व्यवहारिक शिक्षाको पक्षमा लागिपर्ने बताए । क्याम्पस भित्रको आर्थिक पारदर्शिता कायम गर्दै सुशासनको प्रत्याभूति दिलाउने उनको योजना छ । 
अनेरास्ववियु (क्रान्तिकारी) 
समग्रमा विद्यार्थी आन्दोलनको ओज लाई पुनर्जागरण गर्ने योजनामा छन् अनेरास्वियु (क्रान्तिकारी) का सुनसरी अध्यक्ष नवीन दाहाल। विद्यार्थीको हित विना कुनै पनि आन्दोलन सफल नहुने दाहालको तर्क छ । त्यसैले अखिल क्रान्तिकारीको प्रतिनिधित्वले त्यो हकहितको वातावरण बनाउनेमा उनले विश्वास व्यक्त गरे । 
‘विद्यार्थी आन्दोलनको जगमा भएका उपलब्धिलाई संस्थागत गर्ने मात्र हैन विद्यार्थीले त्यसको उपयोग गर्ने पाउने अधिकार सुनिश्चित गर्नुपर्ने आजको जिम्मेवारी हो । हामीले उठाएका उम्मेदवार पनि पूर्ण विद्यार्थी छन् । जसले विद्यार्थीको समस्या बुझेका छन् । उनै विद्यार्थीबाट स्ववीयुको गरिमा बढाउने काम हुन्छ ।, उनले भने, ‘समग्रतामा क्याम्पसको बेथिति सुधार गरेर शैक्षिक वातावरण सुमधुर बनाउने हो ।’
समाजवादी विद्यार्थी युनियन 
समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मथिलेस यादव प्रतिगमन र याथास्थीतिवाद विरुद्धको निर्वाचन लड्न लागिएको बताउँछन् । भ्रष्टाचार मुक्त क्याम्पस निर्माण गर्ने योजना रहेको यादवले सुनाए । समाजवादी शिक्षा लागिगर्ने अभियानमा रहेको बताउँदै आगामी स्ववियू पूर्ण समानुपातिक हुनुपर्ने धारणा राखे । बहुभाषिक शिक्षा प्रणाली लागु गर्न अब त्रिभुवन विश्वविद्यालयमा दबाब दिने उनले उद्घोष गरे ।