धरान : चारकोशे जङ्गल स्थित खानेपानीको भूमिगत श्रोतका पम्पहरू मर्मत सम्भार गरेर पूर्ण रूपमा उपयोग नगर्दा धरानमा अहिले पानीको हाहाकार उत्पन्न भएको रिपोर्ट आज बिहीबार आयोजित एक अन्तरक्रियामा सार्वजनिक गरिएको छ ।

नेवार एकता समाजद्वारा आयोजित 'खानेपानीको समस्या अभाव कि बेवास्ता' विषयक अन्तरक्रियामा भिडियो रिपोर्ट प्रस्तुत गर्दै अध्यक्ष महेश श्रेष्ठले भने ‘भूमिगत श्रोतका पम्पहरूबाट अहिले पनि दैनिक ८० लाख लिटर खानेपानी आपूर्ति हुनसक्ने अवस्थाबाट धरानवासी वञ्चित भएका छन् ।’

भूमिगत श्रोतको उपयोगलाई बेवास्ता गर्दा अहिले धरानमा खानेपानी ट्याङ्करमा किन्न समेत दुईचार दिन पालो पर्खनु पर्ने गरी हाहाकार भएको उनले बताए । श्रेष्ठले रिपोर्टमा सामान्य कनेक्टर नबनाउँदा साता दिन देखी दैनिक ७ लाख लिटर उत्पादन हुने वेल बन्द भएको उल्लेख गरेका छन् ।

अन्तरक्रियामा पूर्व मेयर मनोज मेयाङबोले भने ‘हिउँदका बेला खानेपानीको सङ्कट समाधान गर्नकै लागि भूमिगत श्रोतका लागि वेल पम्पहरू निर्माण गरिएको थियो, त्यसको उपयोगमा बेवास्ता दुर्भाग्यपूर्ण छ ।’

उनले एडिबीको परियोजनाले बर्खामा जलाधारको श्रोतबाट आवश्यकता भन्दा बढी पानी पुग्ने तर, हिउँदमा धरानलाई पर्याप्त पानी उपलब्ध गराउन भूमिगत श्रोतलाई प्राथमिकता दिएरै वेल पम्प निर्माण गरेको बताए ।

पूर्व मेयर मेयाङबाले भूमिगत श्रोतलाई व्यवस्थित रूपमा अधिकतम प्रयोग गरेमा हिउँदका बेला खानेपानीको हाहाकारै नहुने दाबी गरे । उनका अनुसार अहिले मेयर हर्क साम्पाङले खोजेका वैकल्पिक श्रोतले समस्याको समाधान गर्न सक्छ सक्दैन भन्न सकिने अवस्था छैन । तर भएका भूमिगत श्रोतलाई उपयोग नगर्नु ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ उखान जस्तै बनेका उनको भनाई थियो ।

अन्तरक्रिया अघि प्रस्तुत रिपोर्टमा जङ्गलमा रहेको ७ नम्बर वेलको २ वटा कनेक्टर बिग्रँदा ७ दिन देखी पानी उत्पादन नभएको त्यहाँ खटिएका कर्मचारीले बताएका छन् । उक्त वेल पम्पबाट दैनिक १७ लाख लिटर खानेपानी उत्पादन गर्छ ।

सेउती पुल नजिकको खानेपानी संस्थानले २४ वर्ष अघि निर्माण गरेका २ नम्बर वेलमा अहिले पनि पर्याप्त आउँछ । प्रति मिनेट २ हजार ५ सय लिटर पानी उत्पादन हुने उक्त बेलबाट अहिले पानी तानिएको छैन । बन्द गरिएको कर्मचारीले रिपोर्टमा बताएका छन् ।

एडिबी परियोजनाको ६ वट वेल पम्प भएको मुख्य कन्ट्रोल सेन्टर बिग्रिएको अवस्थामा छ । ६ वटा वेलबाट कुल १ करोड ५२ लाख लिटर खानेपानी उत्पादन गर्ने कन्ट्रोल सेन्टर मर्मत नभएको भनी रिपोर्टमा उल्लेख छ ।

एडिबी परियोजनाबाट पानीपिया नजिक निर्मित ३ र ८ नम्बर वेल समयमा स्विच अन गरेर पानी खोल्ने र बन्द गर्ने कर्मचारी नहुँदा प्रायः बन्द अवस्थामा रहेको रिपोर्टमा उल्लेख छ । ५ नं वेलमा जेनेरेटर चलु अवस्थामा रहको छ । जमिनमुनिबाट पानी आउने मुख्य पाइप फुटेको छ । फुटेको ठाउँमा जमिन मुनिबाट पानी आइरहेको छ, तर मर्मत गरिएको छैन ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खानेपानी जाने ६ नम्बर वेल चालु अवस्थामा छ । बिपीका लागि कुल ३ वटा वेलबाट पानी जाने भएतापनि बाँकी २ मध्ये पालो गरी एउटा मात्र चलाउने गरिएको त्यहाँका कर्मचारीले बताए । उक्त वेलबाट दैनिक ४० लाख लिटर पानी उत्पादन हुन्छ । प्रति मिनेट २६ सय लिटर पानी तान्ने वेल २२ घण्टा चल्छ ।

समाजका वरिष्ठ केन्द्रीय सदस्य मोहन श्रेष्ठ सहितको टोलीले कुल १४ वटा वेलको स्थलगत अवलोकन गरी कर्मचारीहरू सँग कुराकानी गरेर रिपोर्ट तयार गरिएको पत्रकार तथा समाजका केन्द्रीय अध्यक्ष श्रेष्ठले बताए ।

अन्तरक्रियामा उपमहानगरपालिकाकी पूर्व उपमेयर मञ्जु भण्डारीले खानेपानी व्यवस्थापन बोर्डमा नगर प्रमुख पदेन सस्य रहने व्यवस्था भएको बताउँदै भनिन् ‘बोर्डको अध्यक्ष कहीँ पनि नगर प्रमुख छैनन् धरानमा मात्र तत्कालीन परिस्थितिमा मेयरलाई जिम्मेवार बनाउन भनी अध्यक्ष बनाइएको हो ।’ ऐन अनुसार बोर्डका सदस्यहरूले अध्यक्ष चयन गर्ने प्रावधान छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डका सदस्य श्याम पोखरेलले आफू पार्टी सभापति हुनअघि बोर्ड सदस्यमा नियमानुसार नियुक्त भएको बताउँदै भने ‘तर वर्तमान मेयर आएपछि एक पटक पनि बोर्डको बैठक बसेको छैन, निर्णयहरू भएका छैनन् ।’ बोर्डबाट भएका आर्थिक कारोबार देखी भएका कामहरूप्रति बोर्ड सदस्यहरू जिम्मेवार नभएको उनले बताए ।

पोखरेलका अनुसार बोर्ड कसको निर्णय र प्रक्रियाबाट चलिरहेको छ भनी बोर्डका सदस्यहरूले निर्देशक राजु पोखरेललाई लिखित रूपमा जानकारी मागेको पनि ४ महिना भयो तर कुनै जानकारी दिएको छैन । उनले भने ‘हामीले बोर्डको म्याद कटेको जानकारी दिएका छौ र कानुनी प्रक्रिया अनुसार न्यायालयको ढोकामा जादैछोै ।’

Khanepani-bewasta