धरान : धरान खानेपानी व्यवस्थापन बोर्डले नेपाल खानेपानी संस्थानको विल काउन्टर आज देखि जिम्मा लिएको छ ।

निकै लामो समय देखि खानेपानी संस्थान र धरान खानेपानी व्यवस्थापन बोर्ड बिच एकले अर्कालाई आरोप प्रत्यारोप लगाउँदा खानेपानी समस्या समाधानमा समस्या देखिँदै आएकोमा आज देखि संस्थानको विल काउन्टर जिम्मा लिनुको साथै बोर्डको अध्यक्षको हैसियतले मेयर तिलक राईले संस्थानमा पुगेर कर्मचारीहरुसंग छलफल समेत गरेका छन् ।

धरानको खानेपानी समस्यालाई अव धरान खानेपानी बोर्डले जिम्मेवारी लिने लगायतको संस्थानका प्रमुख रामकुमार श्रेष्ठ र मेयर तिलक राई बिच दुईपक्षिय सहमति भएको बोर्डका सदस्य श्याम पोखरेलले बताए ।

पोखरेलका अनुसार नेपाल खानेपानी संस्थानको सम्पूर्ण कर्मचारी अव धरान खानेपानी व्यवस्थापन बोर्डको मातहतबाट सञ्चालन हुनेछ ।

आयोजनाको अहिले परीक्षण काल भएकोले सम्पूर्ण आयोजना जिम्मा दिन अझै पनि ८ महिना बाकी रहेको भन्दै सदस्य पोखरेलले भने अव खानेपानीमा देखिएको समस्या समाधानको काम बोर्ड मातहतबाट हुनेछ ।

धरानको खानेपानी समस्या यही वर्ष नभए पनि अर्को वर्षको सुख्खा याम सम्ममा समाधान भइसक्ने पनि बताइएको छ ।

आठौँ नगर सभाको उद्घाटन समारोहमा संस्थान र बोर्ड मर्ज हुनुपर्ने भन्दै विरोध भएपछि फागुन २१ गते सम्म नगर सभा स्थगित गरिएको थियो ।

नगर सभा सुचारु हुनु पहिले नै संस्थान र बोर्ड मर्ज हुनुपर्ने भनिएकोमा पहिलो चरणमा संस्थानको विल काउन्टर बोर्डले जिम्मा लिएको हो । अव थप पक्रिया अघि बढ्दै जाने बताइएको छ ।