धरान: नेपाली लेखक सङ्घले धरानमा भानुचौक स्थित भानुभक्तको शालिकमा माल्यार्पण गर्दै २१० औ भानु जयन्ती मनाइएको छ । झरी वर्षाका बिच पनि छाता ओढेर अग्रज लेखक, कवि साहित्यकारहरू बिहानै भानु जयन्ती मनाउन भानुचौक पुगेका थिए ।

धरान उपमहानगरपालिका उपमेयर आइन्द्रविक्रम बेघा झरीका बिच ठिक समयमा माल्यार्पणका लागि पुगेका थिए । प्रमुख अतिथि उपमेयर बेघाले भने ‘झरी वर्षाले पनि भानु जयन्तीलाई अवरोध गर्न सकेन यो नै महत्त्वपूर्ण कुरा हो ।’ उनले भानु जयन्तीका अवसरमा सबैलाई शुभकामना दिएका छन् ।

भानुको शालिक वरिपरि भएको कार्यक्रममा समालोचक प्राडा खेमनाथ दाहालले भानु भक्तिमय रामायणको सुन्दर काण्डका केही श्लोकहरू पाठ गरेका थिए ।

नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य प्राडा.गोपालप्रसाद भण्डारी, मोती संस्मरण समितिका अध्यक्ष गोविन्द तिम्सिना, प्रा.डा. चन्द्रमणि नेपाल, डा. भवानीशंकर भट्टराई, प्रा.डा. भोलानाथ पोखरेल, गिरिराज आचार्य, आनन्द आचार्य, डा.नारायण निरौला, लालबहादुर कार्की, कुलबहादुर कार्की, जगन्नाथ कट्टेल लगायतले माल्यार्पण गरे ।

सङ्घका सुनसरी अध्यक्ष हर्ष सुब्बाको अध्यक्षता तथा सचिव विजय घिमिरेको सहरीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

यस्तो छ भानुभक्तको शालिक र भानुचौक नामकरणको इतिहास :

भानु जयन्तीमा बिर्सन नहुने कुरा, साहित्यकार, कवि, लेखकबाट माल्यार्पण गरिने भानुभक्तको शालिकको लामो इतिहास छ । भण्डै चार दशक अघि भाडाका यातायात सेवा चलाउन धरानमा आधा दर्जन मोटर कम्पनीहरू खुलेका थिए । मोटर गाडीका व्यवसायसँग भाषा, साहित्यको कुनै साइनो हुने कुरा थिएन ।

‘तर, धरानको साहित्यिक इतिहासमा तिनै मोटर कम्पनीहरूले पहिलो स्थान राखेका छन्’ नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य प्रा.डा. गोपालप्रसाद भण्डारीको भनाई छ । धरानमा भानु जयन्ती मनाइँदै आएको भानुभक्तको शालिक र भानुचौक चार दशक अघि तिने मोटर कम्पनीहरूले बनाइदिएका हुन ।

त्यस बेलाको भानुभक्तीय भाषा मोटरबाट गाडी, बस, सवारी सम्म आइपुगेको छ । भाषा प्रयोगमा आएको बदलाव जस्तै शालिकको रंगरोगन, सजावटहरू फेरिएका छन् । सरोकारवाला संस्थाहरू पनि फेरिँदै गएका छन् । नजिकै भएको धरान थानाको कारण बजार अड्डा भनिँदै आएको ठाउँ शालिक बनेपछि भानुचौक भएको छ ।

२०३४ सालमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टबाट उद्घाटन भएको शालिकको शिलान्यास भाषा शास्त्री महानन्द सापकोटाले गरेका थिए । भाषा शास्त्री सापकोटा धरानमा पनि बसेका थिए भन्ने नयाँ पुस्ताका साहित्यकारहरू कमैलाई थाहा होला ।

उनको बसाई हाल धरान–१ लक्ष्मी सडक स्थित नाति रमेश नेपालीको निवास सापकोटा प्रेसमा हुन्थ्यो । शालिक निर्माण र स्थापनामा आर्थिक योगदान दिने मोटर कम्पनीहरूको नाम अहिले पनि शिलालेखमा देख्न सकिन्छ । ती कम्पनीहरू कोशी अञ्चल मोटर सिन्डिकेटका सदस्य कम्पनीहरू थिए ।

भाषा, साहित्य, संस्कृतिको लागि काम गर्ने कुनै उद्देश्यको साइनो नभएको मोटर कम्पनी, सिण्डिकेटबाट शालिक स्थापनाको संयोग रोचक छ । यातायात व्यवसाय अगुवा हिरा उदासका अनुसार सिन्डिकेटका तत्कालीन सभापति स्वर्गीय जगदीश नेपालीको जोडबलबाट भानुभक्तको शालिक स्थापना भएको हो । उदास त्यस बेला कोशी अञ्चल मोटर यातायात प्रालिका सञ्चालकहरू मध्येका थिए ।

जगदीश नेपाली व्यवसायी मात्र नभएर एक सिद्धहस्त लघुकथाकार पनि थिए । लघुकथाकार जगदीश नेपाली विशेषाङ्क प्रकाशित गरिसकेका सम्पादक गिरिराज आचार्य भन्छन् ‘उहाँका लघु कथाहरू खलिल जिब्रानका जस्ता नैतिक मूल्य मान्यता प्रेरित छन् ।’

रोचक तथ्य जगदीश नेपाली, भाषा शास्त्री महानन्द सापकोटाका छोरा हुन । पिता महानन्द सापकोटाको नाममा भने उनले केही गरेको भने पाइन्न ।

ठुला उद्योग, व्यापारको क्षेत्रमा लागेका मानिसमा भाषा, साहित्य, संस्कृतिप्रति अलिकति मात्र रुचि भएमा ठुलै भूमिका र योगदान हुने कुरा यसबाट बुझ्न सकिन्छ । प्रा.डा. भण्डारीको भनाई छ ‘भाुनचौकको शालिकले नेपाली भाषा साहित्यप्रति सधैँ सबैलाई प्रेरणा जगाउने काम गर्दै आएको छ ।’

सिन्डिकेटले भानुको शालिक स्थापना गर्ने कार्य मात्र गरेन । शालिकको रेखदेख धरानमा भानुचौकमा भानु जयन्ती मनाउने थालनी पनि गर्‍यो । सिन्डिकेटमा रामप्रसाद खनाल, इन्द्रबहादुर थापा (मगर) कवि, लेखक थिए । त्यस बेला सिण्डिकेटको सहकार्यमा कवि बन्द्र पालिखेले स्थापना गर्नु भएको बुक क्लबले भानु जयन्ती मनाउने गर्थ्यो ।

पछिल्लो समय २०३६ सालमा सडक कविता क्रान्तिको लहर चल्यो । त्यसै बेला देखी भानुभक्तको शालिकमै खुला भानु जयन्त मनाउने चलन बढेको हो । यसै क्रममा युवा साहित्यिक जमात, सुनसरी साहित्य प्रतिष्ठान, मोती संस्मरण समिति, कवि शिरोमणि लेखनाथ प्रतिष्ठान सहितले निरन्तर दिँदै आएको शालिकमै भानु जयन्ती मनाउने परम्परालाई केही वर्ष देखी नेपाली लेखक सङ्घले दोहोर्‍याउदैं आएको हो ।

bhanuchok-jayanti-bhanu