धरान : देवऋषि आचार्य समाजले आईतवार धरानमा भानु जयन्तिको अवसर पारेर लैंगिक समानता एवं समाजिक समावेशीकरण विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

समाजसँग आवद्द करिब ५० जना सहभागी कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि नेकपाका नेता एवं प्रदेश सभा सदस्य भीम आचार्यले लैंगिक समानताको महत्व वर्तमान परिपे्रक्षमा अझ धेरै बढेको बताए । साथै उनले आजको समयमा कोही कसैलाई लैंगिकताको सिकार बनाए समाज बिभाजित हुने पनि धारणा राखे । मुलुकको राजनीति लगायतका सबै खाले संरचनाहरु समावेशी हुनुपर्ने र राज्यका हरेक निकायमा सबैको समान पँहुच भए मात्र लोकतन्त्रको भावनाको सही कदर हुनेमा आफू विश्वस्त रहेको समेत उनले बताए ।

कार्यक्रमको सहजीकरण समाजका सचिव विकास आचार्य र सामाजिक अगुवा सुखशान्ता राईले गरेका थिए । सोही कार्यक्रममा यस वर्षको एसईई परिक्षामा उच्चतम अंक ल्याउने धरानका १८ जना विद्यार्थीहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सचिव आचार्यले धरानको सामाजिक क्षेत्रमा थपिएको नवीन संस्थाले धरानको गरिमालाई उच्च राख्न र यहाँको सामाजिक कृयाकलापमा समेत महत्वका साथ आफूलाई कृयाशिल बनाउन कुनै कसर बाँकी नराख्ने बताए । देवऋषि आचार्य समाज पनि आगामी दिनमा धरानको महत्वपूर्ण सामाजिक संस्थाको रुपमा स्थापित हुदै धरानवासीको हितमा काम गर्ने उनले बताए ।

उक्त कार्यक्रम समाजका तदर्थ समितिका संयोजक राजेश आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो भने गिरिराज आचार्य , अम्बिका घिमिरे आचार्य , लोकेन्द्र आचार्य र ९ नम्बर वडाध्यक्ष रत्न बहादुर कटुवालले पनि मन्तव्य राखेका थिए ।