धरान : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०८ औँ जन्म जयन्ती देश विदेशमा विविध कार्यक्रम गर्दै मनाइँदै छ ।
भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन्। उनी वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतीराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकविको उपाधि दिएका थिए। उनका पाण्डुलिपिहरूलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन् ।
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । विसं १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ’, भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।
सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठुलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसै गरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘राम गीता’, फुटकर रचना लगायतका कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लखेका थिए– ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।
भानुभक्तमा केवल साहित्यिक ज्ञान मात्र थिएन परन्तु ज्योतिष शास्त्रमा पनि उनको राम्रो पहुँच देखिन्छ । उनका फुटकर कवितामा लेखिएको आफ्नो जन्मकुण्डलीस्थित लग्न, ग्रह स्थान, भाव,नवांश, स्वगृहीग्रह तथा घडी पला विपलाको प्रदर्शनले यो पुष्टि गर्दछ ।
सामान्य लेखपढका मानिसलाई तिथि, वार, नक्षत्र आदिको जानकारी भए पनि ग्रह स्थान, नवांश, स्वगृही–परगृही,द्वादशभाव, ग्रहमैत्री जस्ता प्राविधिक पक्षको गणना ज्योतिषको राम्रो अध्ययन नगरी बताउन सकिन्न । त्यस्तै एक मित्रले दाङबाट पठाएको चिठीमा आयुको विचार गर्ने प्रश्न सोधिएकाले पनि उनी ज्योतिषी थिए भन्ने प्रमाण यसबाट पाइन्छ ।
ग्रामीण परिवेशको सामान्य परिवारमा जन्मेर पनि संस्कृत शिक्षाको राम्रो अध्ययन गरी समग्र नेपाली भाषीलाई एकताका सूत्रमा उन्न नेपाली भाषामा रामायण लेख्नु आदि कवि भानुभक्त आचार्यको विशिष्ट योगदान हो ।
कारावासमा बस्दा समेत अटुट रूपमा काव्य साधना गरी २५ हजार श्लोक भएको संस्कृतको रामायणलाई १२ सय श्लोकमा सीमित गरी शास्त्रीय छन्दमा सम्पूर्ण रामायण कथालाई उतारी नेपाली भाषामा काव्यात्मक गति प्रदान गर्नु अत्यन्त कठिन कर्म हो ।
यसर्थ राष्ट्रले दिएको ’आदिकवि’को उपाधि पनि अपुग हुन जान्छ परन्तु देशव्यापी रूपमा भानु जयन्ती मनाउने राष्ट्रिय परम्पराले भने केही श्रद्धा प्रकट गरेको देखाउँछ ।