धरान : धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघा भर्खरै डेङ्गु सङ्क्रमण मुक्त भएर काममा फर्किएका छन् । डेङ्गु नियन्त्रण अभियानमा जोडिएका उनी सचेत र सजग हुन आग्रह गर्छन् ।

सङ्क्रमणको अवस्था सुनाउँदै उनले एक स्वरमा भनेका छन्, ‘ज्वरो आयो, जिऊ दुख्यो, खाना रुचेन, बान्ता आयो । झर्को लाग्ने हुँदो रहेछ । कोही मान्छे पनि भेट्न मन लागेन, एकदमै सताउँदो रहेछ ।’

आफूले जस्तो दुखद अवस्था जनताले भोग्नु नपरोस् भन्दै उपमहानगरबाट डेङ्गु नियन्त्रण अभियान व्यापक रूपमा चलिरहेको उनले बताए । तर योजनाबद्ध रूपमा समन्वय र सहकार्य हुन नसक्दा अभियान प्रभावकारी बन्न नसकेको उनको भनाइ छ । उनको भनाइबाट मेयर हर्कराज राईले खास चासो दिएको जस्तो बुझिँदैन । छलफल र संवाद भइरहेको बताउँदै उनले एकीकृत रूपमा मेकानीजम बन्न नसकेको कपुरी न्युजलाई बताए ।

डेङ्गु भाइरस उत्पादन गर्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले अन्य स्थानको भन्दा धरान बढी जोखिममा भएको  उनको तर्क छ । धरानमा खानेपानी अभावको कारण जनताले लामो समयदेखि पानी सञ्चय गरेर राख्ने गरेको उनले बताए । सोही पानीमा लामखुट्टेले अण्डा पार्ने भएकाले समस्या विकराल बनेको बेघा बताउँछन् ।

विगतमा पनि धरान डेङ्गु सङ्क्रमणले आक्रान्त बनाएको थियो । २०७६ सालमा महामारीकै रूप लिएको डेङगुले यस पटक पनि सोही अवस्थामा पुगेको छ । प्राय हरेक घरमा सङ्क्रमित भएपछि स्थानीय सरकार र बिपी प्रतिष्ठानले हाल आएर केही चासो दिएका छन् । गत वैशाख देखि सुरु भएको सङ्क्रमण तीव्र रूपमा बढ्दै गएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

हालसम्म परीक्षण गरिएका मध्ये ५९ प्रतिशत अर्थात् धरानमा मात्र २ हजार ४ सय १४ जना सङ्क्रमित भएको उनले जानकारी दिए । मुख्यतः खानेपानी भण्डारण गर्ने गरेको कारण यो अवस्था आएको मेहताले सुनाए । ‘धरानमा खानेपानी अभावको कारण स्थानीयले पानी सञ्चय गर्ने गरेका छन् । खुल्ला रूपमा राखिएको सफा पानीमा अण्डा पार्ने भएकाले यसले विकराल रूप लिएको हो,’ उनले भने ।

मेहेताका अनुसार धरानमा खानेपानीको विकराल समस्याले डेङ्गु सङ्क्रमण बढ्दै गएको हो । मेयर हर्कराज राई खानेपानी समस्या समाधान गर्ने बाचा सहित निर्वाचित भएका हुन् । श्रमदान अभियान चलाएर खानेपानी समस्या समाधान गर्ने उनी अग्रसर देखिएका छन् ।

धरान आसपास देखिएका श्रोतबाट दीर्घकालीन समाधान हुनसक्ने सम्भावना नभएपछि ४० किलोमिटर टाढाको कोका खोलाबाट पानी ल्याएका छन् । जुन धरानको लागि पर्याप्त छैन । धरानको खानेपानीको दीर्घकालीन समाधानको लागि बोटबिरुवा रोप्न लागेका राईको अभियानले तत्कालै समस्या समाधान हुने देखिँदैन । 

दिर्घरोगीलाई बढी समस्या 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गु उपचारमा सक्रिय डाक्टर अजय शाहका अनुसार दिर्घरोगीलाई सङ्क्रमणले बढी च्याप्ने बताउँछन् । पुरानो रोग भएका र पाको उमेरका सङ्क्रमितलाई धेरै असहज हुने उनले बताए ।

प्रतिष्ठानमा छुट्टै उपचार केन्द्र सुरु भएको बताउँदै डा. शाहले सङ्क्रमण बाट बच्नु उत्तम उपाय भएको सुनाए ।  उनले भने, ‘सङ्क्रमित भएपछि प्लेट्लेट्सको मात्रा कम हुन्छ । जसले गर्दा दाँत वा गिजाबाट रगत बग्न सक्छ । दिशा पिसाबमा रगत आउन सक्छ । त्यसको लागि हामीले विशेष प्राथमिकतामा राखेर उपचार गर्ने गरेका छौँ ।’

सङ्क्रमण भएपछि ज्वरो आउने भएकाले सुरुमा सिटामोल खान सुझाव दिँदै उनले डाक्टर सँग परामर्शमा मात्र अन्य औषधि खान अनुरोध गरे । एक पटक लागेपछि अर्को पटक सङ्क्रमण हुन्छ की हुँदैन भन्ने प्रश्नमा त्यो सम्भावना कायमै रहने बताए । यसका विभिन्न भेरिअन्ट हुने भएकाले पहिला सङ्क्रमण भएको बाहेक अन्य भेरियन्टले पुनः सङ्क्रमण हुने सम्भावना रहेको प्रस्ट पारे ।

प्रतिष्ठानले डेङ्गु उपचारका लागि छुट्टै वार्ड र क्लिनिक सञ्चालन गरिरहेको छ । उपमहानगरले पनि निःशुल्क परीक्षण कक्ष सञ्चालनमा ल्याएको छ ।