धरान : धरानमा डेङ्गु महामारीको प्रकोप दिनहुँ बढ्दो छ । तर स्थानिय सरकार धरान उपमहानगरपालिकाबाट प्रभावकारी नियन्त्रणका उपाय अवलम्बन नगरिएकोमा चौतर्फी आलोचना हुन थालेको छ ।

मेयर हर्क साम्पाङले डेङ्गु महामारीलाई गम्भिर रूपमा नलिएको देखिएपछि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर चलाएकी पूर्व उपमेयर मञ्जु भण्डारीले सामाजिक सञ्जाल मार्फत महामारी नियन्त्रणका लागि ध्यानाकर्षण गराएकी छन् ।

‘स्थानिय तहले बोर्डमा सरकार लेखेर, भाषण गरेर मात्रै सरकार हुँदैन’ भनी मेयर हर्क साम्पाङलाई व्यङ्ग्य गर्दै पूर्व उपमेयर भण्डारीले लेखेकी छन् ‘सङ्कट, महामारीमा जनतालाई साथ दिइएन भने लोकप्रिय प्रचारले केही हुँदैन ।’

उनले आफ्नो कार्यकालमा डेङ्गु प्रकोपलाई कसरी नियन्त्रण गरियो भनी स्मरण गराउँदै लेखेकी छन् ‘डेङ्गु प्रकोप ४०० जनामा पुग्ने बित्तिकै स्वास्थ्य सङ्कट वडा घोषणा गरी उक्त वडामा कार्यक्रम केन्द्रित गरी नियन्त्रणमा लिइएको थियो ।’

उनले डेङ्गुको प्रकोप बढेसँगै निजी स्वास्थ्य संस्थामा परीक्षण शुल्क आकासिएको छ, फलफूलको जुसको मूल्य महँगिएको उल्लेख गरेकी छन् । मेयर साम्पाङले फेसबुकमा आदेश दिने गरेको कुरालाई ब्यङ्ग्य गर्दै पूर्व उपमेयर भण्डारीले लेखेकी छन् ‘व्यवसायीहरूलाई र उपमोक्ताहरूलाई सहज बनाउन सामाजिक सञ्जालमा आदेश गरेर पुग्दैन भन्ने हाम्रो अनुभव छ ।’

विगतमा यस्तो महामारीमा निजी स्वास्थ्य सेवाका व्यवसायीहरुसंग उपमहानगरपालिकाले सहकार्य गरेको स्मरण गराउँदै उनले लेखेकी छिन् ‘निजी क्षेत्रको स्वास्थ्य सेवा प्रदायक सम्पूर्ण व्यवसायीहरुसंग समन्वय बैठक गरी दररेट कायम गरेर मूल्यमा सहजता र सेवामा सरलता ल्याउन सकिन्छ, जो हामीले विगतमा गरेका थियौँ ।’

मेयर साम्पाङको युट्युब प्रचार शैलीलाई कटाक्ष गर्दै उपमेयर भण्डारीले लेखेकी छन् ‘प्रचारले मात्र परिणाम दिँदैन ।’ नियमित सकारात्मक र उत्प्रेरणा दिने अनुगमन जरुरी हुन्छ । उनले लेखेकी छन् ‘ कामहरू परिणामका लागि गरौँ, प्रचार आफै हुन्छ । सरकार भएको अनुभूति दिलाउन लागिपर्नोस, स्थानिय सरकार ।’

यसबिच प्रदेश सांसद रमेशकुमार बस्नेतले धरानमा डेङ्गु महामारी फैलिएसंगै स्वास्थ्य संस्थाहरूमा सिटामोल, जीवनजल र डेङ्गु परीक्षण किट अभाव भएको कोसी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् ।

उनले शनिवारको मितिमा स्वास्थ्य मन्त्रालयलाई लिखित जानकारी गराउँदै धरानमा डेङ्गु नियन्त्रण तथा रोकथामका लागि तत्काल आवश्यक सामाग्री उपलब्ध गराईदिन निवेदन गरेका हुन ।

उनले बिपी प्रतिष्ठानमा डेङ्गु परीक्षणका लागि तत्काल ५००० थान परीक्षण किट उपलब्ध गराउन माग गरेका छन् । साथै जीवनजल १० हजार प्याकेटको माग गरिएको छ । सिटामोल १ लाख ट्याब्लेट माग सहित डेङ्गु उपचार र परीक्षणका लागि प्राविधिक जनशक्ति परिचालन गरी शिविरहरू सञ्चालन गर्न आग्रह गरिएको छ ।

ramesh kumar