धरान : धरानमा अहिले तीव्र रूपमा बढेका डेङ्गुका महामारी फैलाउन दुई किसिमको लामखुट्टेको भूमिका रहेको पाइएको छ । ती दुई प्रकारका लामखुट्टेको बारेमा विस्तृत अध्ययन भने भएको छैन ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार भएको डेङ्गु रोग नियन्त्रण, व्यवस्थापन सम्बन्धी छलफलमा माइक्रोबायोलोजी विभागका प्रमुख डा.नारायण राज भट्टराईले उक्त तथ्य प्रस्तुत गरेका हुन ।

उनका अनुसार उक्त दुई प्रकारका लामखुट्टे बाहिरबाट आएका हुन कि यहीँका हुन त्यसको यकिन गर्न सकिएको छैन । हाल धरानमा देखिएका दुई प्रकारका लामखुट्टे फरक फरक क्षेत्र वा एकै क्षेत्रका हुन् त्यस बारे विस्तृत अध्ययन भइरहेको उनले बताए ।

डा.भट्टराईले भने ‘धरानमा देखिएका दुई प्रकारका डेङ्गु फैलाउने लामखुट्टे फरक फरक क्षेत्र वा एकै क्षेत्रका हुन् सो सम्बन्धी विस्तृत अध्ययन गरी डेङगो रोग नियन्त्रण गर्न आवश्यक छ ।’ छलफलमा  डेङगो रोगको प्रकार र प्रकृति बारे उनले उक्त तथ्य प्रस्तुत गरेका हुन् ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा उक्त दुई दिने डेङ्गु रोग नियन्त्रण, व्यवस्थापन अभिमुखीकरण कार्यक्रम नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको हो ।

छलफलमा सुनसरी जिल्लाका स्वास्थ्य निकायका स्वास्थ्यकर्मी, कर्मचारीहरू, स्थानिय अस्पताल, पोलिक्लिनिकहरुका प्रतिनिधिहरू सहभागी थिए । उनीहरूलाई डेङ्गु रोग नियन्त्रण, व्यवस्थापनमा अभिमुखीकरण गराइएको हो ।

इपिडिमियोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र प्रसाद मरासिनीले भने ‘नेपालमा डेङगो रोग अहिले मात्र देखिएको होइन विगतमा पनि देखिएको हो ।’ उनले नेपालमा विगतदेखि हालसम्मको डेङगो रोगको तथ्याङ्क देखिएका समस्या र चुनौती प्रस्तुत गरे ।

सहभागी सबै विशेषज्ञहरूले अन्तिम निष्कर्ष भने डेङ्गु महामारीको नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर सबैभन्दा प्रभावकारी उपाय हुने उल्लेख गरेका थिए । 

छलफलमा भेक्टर बर्न डिजिज शाखाका प्रमुख डा.गोकर्ण दाहाल, कोशी प्रदेश स्वास्थ्य सचिव सुधा देवकोटा, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेत, सुनसरी जनस्वास्थ्य प्रमुख सागर प्रसाईँ, सहिद शुक्रराज शास्त्री ट्रपिकल अस्पताल, टेकुका चिफ कन्सल्टेन्ट फिजिसियन डा.विमर्श शर्मा चालिसे, विश्व स्वास्थ्य सङ्गठन, फाइरमेडका प्रतिनिधिहरू सहभागी थिए ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.संजीवकुमार शर्मा, अस्पताल निर्देशक डा.जगत नारायण प्रसाद, विभागीय प्रमुखहरू, शिक्षक चिकित्सकहरू, वार्ड इन्चार्ज तथा नर्सहरू मेडिकल रेकर्ड शाखा लगायत सबै सहभागी थिए ।

छलफलमा सुनसरीका नगर प्रमुख, उपप्रमुखहरू, जनप्रतिनिधीहरुले स्थानिय तहमा आफूले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि गरिएकाका गतिविधिका जानकारी दिएका थिए । सभापतित्व डा.रुद्र प्रसाद मरासिनी गरेका थिए । प्रमुख अतिथिमा डा.दीपेन्द्र रमण सिंह थिए ।