नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु कोशी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भयो । सर्वसम्मत रूपमा गङ्गा बहादुर खड्का (जीवी गजल) को अध्यक्षतामा कार्यसमिति चयन भएको छ । विद्यार्थी राजनीति प्रति आकर्षण घट्दै गइरहेको बेला विद्यार्थी सङ्गठनको आवश्यकता र औचित्यको विषयमा जीवी गजल सँग गरिएको कुरा कुराकानी ।
सर्वप्रथम यहाँलाई हार्दिक बधाई तथा शुभकामना !
हस् । तपाईँलाई पनि धन्यवाद ।
तपाईँले पनि धेरै तपस्या गरेर आशीर्वादमा अध्यक्ष पद पाउनु भयो हैन ?
कुरा त्यस्तो हैन । मैले मेरो पार्टी नेकपा एमालेका नेताहरूको पक्षमा वकालत गरे भन्नुको अर्थ तपस्या गर्नु हैन । एउटा पार्टीको कार्यकर्ताको हैसियतले पार्टीको पक्षमा बोल्नु मेरो कर्तव्य हो । जहाँसम्म तपाईँले भनेको आशीर्वादको कुरा छ त्यो गलत हो । आशीर्वादको कुरा त परै छाड्नुस् मलाई कुनै पनि ठुला नेताको समर्थन थिएन । म चुनावमा जाने अन्तिम तयारीमा थिएँ । पछि मेरै नाममा सर्वसम्मत भएर अध्यक्ष भएको हुँ । ४३० प्रतिनिधिले मत हाल्ने बुझेपछि म सर्वसम्मत भएको हुँ ।
अध्यक्ष भएपछि कस्तो महसुस गर्दै हुनुहुन्छ ?
मैले अध्यक्ष पदलाई खाली एउटा औपचारिक पदको रूपमा मात्र लिएको छैन । यो मेरो लागि अवसर र चुनौती दुवै हो । अवसर भनेको कोशी प्रदेशका १४ वटै जिल्लामा अनेरास्ववियुको कमिटी विस्तार गर्नु र सबै ठाउँमा आफूलाई पुर्याउनु हो । सङ्गठन सँग आफ्नो विचार र मुद्दालाई पुर्याउनु हो । सामुदायिक तथा संस्थागत विद्यालयमा अनेरास्ववियु पुर्याउनु मेरो चुनौतीको विषय हो । कोशी प्रदेशका सबै पालिकामा सङ्गठन विस्तार गर्छौ । गाउँ, नगर र वडा सम्ममा कमिटी बनाउने बारे सोचिरहेको छु ।
विद्यार्थी राजनीति प्रति नै वितृष्णा छ । कसरी गर्नुहुन्छ सङ्गठन ?
विद्यार्थी आन्दोलनमा रुचि हुनुपर्छ । विद्यार्थी नेताहरूको अध्ययन छैन । समाचारको हेडलाइन हेरेर विचार बनाउने विद्यार्थी नेता हुन सक्दैन । अध्ययनको दायरा बढाउनुपर्ने हुन्छ । अध्ययन भनेको समाज अध्ययन गर्ने हो । समाजको भावना बुझेर सोही अनुसार विद्यार्थी आन्दोलन अगाडी बढ्नुपर्छ । समाजको मनोविज्ञान बुझेर सोही अनुसार गतिविधि गरेपछि आफै हुन्छ सङ्गठन ।
वडामा पुगेर अनेरास्ववियुले के गर्छ ?
विद्यार्थीका मुद्दा लिने काम गर्छौ । वडा देखिने विद्यार्थीका एक एक गरेर समस्या पहिचान गरेर समाधान गर्न अब अनेरास्ववियु लाग्छ ।
लामो समयदेखि विद्यार्थी राजनीतिमा हुनुहुन्छ । के समाधान गर्नुहुन्छ अब ?
विद्यार्थीका धेरै समस्या छन् । सर्वसुलभ शिक्षाको व्यवस्था देखी गुणस्तरीय शिक्षाको कुरा छ । विद्यार्थीले पढ्न पाउँछन् तर कस्तो अवस्थामा पढिरहेका छन् भन्ने हो । यो सिपमूलक शिक्षाको जमाना हो । कक्षा १२ पास गरेपछि विद्यार्थीलाई नेपालमै कसरी रोक्ने भन्ने हो । विद्यार्थीले नेपालमै कसरी आर्थिक उपार्जन गर्न सक्छ वा नेपालमै रोजगारी पाउन सक्छ भन्ने मुख्य मुद्दा हो । मेरो नेतृत्वमा अब १४ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने र विद्यार्थीको स्वरोजगारका मुद्दा उठाउने हो । म यसमा दृढ संकल्पीत भएर लागिपर्छु ।
युवा अवस्था पार भइसक्दा सम्म विद्यार्थी राजनीति गर्नुपर्ने अवस्था किन आयो ?
मेरो लागि भन्नु भएको हो भने म युवा नै छु । म पार्टीमा पनि छु । सुनसरी एमालेको सचिवालय सदस्य र विद्यार्थी इन्चार्ज पनि हुँ । म विद्यार्थी नै हो । विद्यार्थीको कुनै उमेर हुँदैन । कलेज पढ्ने मात्र विद्यार्थी हैनन् । पिएचडी गर्ने पनि विद्यार्थी हुन् । उनीहरूको नेतृत्व गर्न उनीहरूको भावना बुझ्ने नेता चाहिन्छ ।
अब विद्यार्थी आन्दोलनको औचित्य सकिएको हो ?
हैन । सकिएको छैन । अघि तपाईँले भन्नु भए जस्तै राजनीतिक प्रति युवा विद्यार्थीको वितृष्णा छ । यसलाई अब अनेरास्ववियुले कम गर्छ । राजनीति लाई युवा विद्यार्थी सँग जोड्ने हो । रचनात्मक रूपमा विद्यार्थीलाई राजनीतिमा सहभागी गराउनुपर्छ । राजनीति गलत हो भन्ने भाष्य निर्माण भएको छ । यसलाई चिर्नुपर्छ । यसले समाज, देश र व्यवस्था प्रति नै निराशा जन्माउँछ । जुन अहिले सुरु भएको छ । केही भ्रष्ट प्रवृत्तिले मात्र राजनीति दूषित भएको हो भन्ने कुरा बुझाउने काम अब मेरो नेतृत्वको कमिटीले गर्छ । समाजलाई राजनीति सँग जोड्न सकिएन भने द्वन्द्व बढ्छ । त्यसैले विद्यार्थी र युवा समाजलाई जोड्नु पर्नेछ ।
विद्यार्थी पार्टीको पनि प्रतिपक्ष मानिन्छ । तर किन दास मनोवृत्ति हाबी भयो ?
त्यो चाहिँ क्षमता नभएकाले गर्ने हो । आफ्नो क्षमतामा विश्वास नहुनेले हो नेताको घरमा गएर चाकरी गर्ने । विद्यार्थी नेता रचनात्मक र क्षमतावान् हुनुपर्छ । पार्टीलाई गलत कुरामा करेक्सन गराउन सक्नुपर्छ । पार्टीको कमिटीमा हुँदा पार्टीको काम गर्ने हो । विद्यार्थीको मोर्चामा हुँदा विद्यार्थीकै काम गर्ने हो ।