• मोहन श्रेष्ठ

धरान : पछिल्लो समय शैक्षिक योग्यता, सिप, क्षमता र प्रतिभाशी शारीरिक अपाङ्गता भएका युवाहरूले व्यवसायीक सेवाको क्षेत्रमा रोजगारी पाउन थालेका छन् । कतिपय स्वरोजगार बनेर आत्मनिर्भर भएका छन् ।

यसै अभियानमा धरानमा १०० जना शारीरिक अपाङ्गता भएका योग्य जनशक्तिलाई रोजगार दिलाउन सुनसरी उद्योग वाणिज्य सङ्घले स्थानिय सरकार, उद्योगी, व्यवसायीहरू सँग रोजगारी अभियान चलाउँदै आएको द लेप्रेसी मिसन नेपालसँग अन्तरक्रिया गराएको छ ।

लेप्रोसी मिसनका क्लष्टर म्यानेजर विपिन दासका अनुसार अभियान झापा, मोरङ, सुनसरी सहित ७ जिल्लामा केन्द्रित छ । कुल ४०० जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई व्यवसायीक क्षेत्रमा रोजगारी दिलाउने, स्वरोजगार बनाउने लक्ष्य राखिएको छ ।

त्यस मध्ये धरान सुनसरीमा १०० जनालाई रोजगारी दिलाउन अन्तरक्रिया आयोजना गरिएको हो । रोजगारीका लागि प्रस्तावित जनशक्ति लेप्रोसी मिसनद्वारा तालिम प्राप्त छन् । उनीहरू मध्ये स्नातकोत्तर, स्नातक, प्लस टु पास गरेका महिला पुरुषहरू भएको दासले बताए ।

लेप्रेसी मिसनका अध्यक्ष भरतप्रसाद दाहालका अनुसार रोजगार अभियानका लागि मिसनले नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कोशी प्रदेश र सुनसरी उद्योग वाणिज्य सङ्घको साझेदारी गरेको बताए ।

लेप्रोसी मिसन नेपालमा कुष्ठरोगको उपचारका लागि ६० वर्ष अघि स्थापित भएको संस्था हो । मिसनले काठमान्डु नजिक लेलेमा कुष्ठरोगको आनन्द वन अस्पताल सञ्चालन गर्दै आएको छ । कुष्ठरोग केन्द्रित कार्यक्रम पछि मिसनले अपाङ्गता भएकाहरूको सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको विपिन दासले बताए ।

अन्तरक्रियामा धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्रविक्रम बेघाले स्थानीय उद्योगी व्यवसायीहरूको सहकार्यमा अपाङ्गता भएका योग्य व्यक्तिहरूलाई रोजगारको क्षेत्रमा भूमिका खेल्न तयार रहेको प्रतिबद्धता जनाए ।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले धरानका धेरै होटेल तथा हस्तकला उद्योग र विद्यालयहरूमा शारीरिक अपाङ्गता भएका योग्य जनशक्ति रोजगार भएको बताउँदै सङ्घले स्वरोजगारीका लागि विशेष भूमिका खेल्न सक्ने बताए ।

अन्तरक्रियामा हार्डवेयर, कङ्क्रिट व्यवसायी नवीन राजभण्डारीले व्यवसायीहरू अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार दिन तयार रहेको बताए । होटेल व्यवसायी प्रमेश श्रेष्ठले आफ्नो होटेलमा धेरै पहिला देखिनै आधा भन्दा बढी बहिरा कर्मचारी रहेको बताए ।

हस्तकला व्यवसायी श्यामकृष्ण श्रेष्ठले आफ्नो उद्योगमा बहिरा कर्मचारी राखेर काम गरिरहेको र उनीहरू लगनशील भएर काम गर्ने गरेको जानकारी दिए । शिक्षा निकेतन माविमा शिक्षक रहेका दृष्टि विहीन उमेश परियारले अपाङ्गता र रोजगारीका लागि ल्याप्रोसी मिसनले गरेको सहयोगका बारेमा अनुभव सुनाए ।

सौन्दर्य कला व्यवसायी नेविका साहीले सौन्दर्यकलाको क्षेत्रमा पनि अपाङ्गता भएका व्यक्तिहरूलाई राम्रो अवसर रहेको बताइन् । सुन चाँदी व्यवसायी प्रदीप गहतराज र किसन मास्केले गरगहना बनाउने क्षेत्रमा काम दिन सकिने बताए ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा विक्रम प्रसाद श्रेष्ठले कस्ता कस्ता अपाङ्गता भएका व्यक्तिहरूले के कस्ता काम गर्न सक्छन् ? व्यवसायमा रोजगार दिन को तयार छन् ? आवश्यकता अनुसारका योग्यताका लागि मिसनले अपाङ्गता भएका व्यक्तिलाई तालिम दिनुपर्ने सुझाव राखे ।

कार्यक्रम संयोजक सुनसरी उद्योग वाणिज्य सङ्घका सदस्य विष्णु बरालले अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार दिने विषयमा उद्योगी व्यवसायीहरूले विशेष प्राथमिकता दिनुपर्ने अनुरोध गर्दै सङ्घ संस्थाहरूले स्थानीय सरकार र निजी क्षेत्रलाई घच्घच्याईरहनु पर्नेमा जोड दिए । अन्तरकृयाको सहजीकरण सङ्घका महासचिव महेन्द्र प्रधानले गरेका थिए ।

farak kshamata