धरान : पछिल्लो समय धरानको बुढासुब्बा मन्दिर परिसरमा रहेको टुप्पो नभएको बासले तामा नहालेको सुख्खा याममा बाँसघारी सुक्न पनि थालेको छ । 

विषेशगरी चैत र वैशाख दुई महिना बढी सुख्खायाम हुने भएकोले बाँस मर्ने सम्भावना बढेर गएको भन्दै नेकपा एमाले धरान उपमहानगर इन्चार्ज नारायण सुबेदीले २ हजार लिटर पानी खरिद गरेर बाँसघारीमा सिँचाई गरेका छन् । '२ हजार लिटर पानीले दुई झाङमा मात्रै सिचाई गर्न पुग्यो, बाँकी झ्याङ अझै दिनानुदिन सुक्दै गइरहेको छ, संरक्षण गर्नुपर्ने अनि अन्त कतै नपाइने प्रजातिको बाँस चैत वैशाखको खडेरीले सुक्दै गएको देखेपछि आफूले पानी ट्याङ्करबाट खरिद गरेर सिँचाई गरेको' सुबेदीले बताए । 

चैत र वैशाख यो दुई महिना बुढासुब्बाको बाँसझ्याङमा निकै सुख्खा हुने र बाँस मर्ने हुनाले एमाले नेता सुवेदीको यो कार्यले बुढासुब्बाको बाँस संरक्षणमा साथ पुगेको स्थानीय प्रेमप्रसाद पराजुलीले बताए । नेता सुवेदी जस्तै अरूले पनि बुढासुब्बाको बास संरक्षणका लागि यसरी पानी सिँचाईका लागि सहयोग गर्न पराजुलीले आग्रह पनि गरे । 

टुप्पो नभएको बाँसले केही वर्ष देखि तामा नहालेको भन्दै धरानका मेयर तिलक राईले चासोका साथ प्राविधिक सहित पुगेर संरक्षणका लागि पहल गरिरहेको बेला एमाले नेता सुवेदीले पानी हाली दिनुभयो यसले बासलाई सुख्खायाममा ठुलो राहत पुगेको बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेले बताए ।

यो दुई महिना अत्यन्तै सुख्खा हुने भएकोले बाँस मर्न पनि सक्ने भएकोले बाँसलाई पानी आवश्यक भएकोले सुवेदीको यो अभियानमा अरूले पनि थप चासो लिनुपर्ने देखिन्छ ।