धरान : हिन्दु धर्मावलम्बी नेपालीहरूको महान् पर्व बडादशैं आइतबारदेखि सुरु भएको छ । नयाँ लुगा लगाउने, मीठो खाने चाडका रूपमा समेत परिचित दशैं व्यापार-व्यवसाय गर्नेहरूका लागि सबैभन्दा ठुलो सिजन हो ।

हरेक वर्ष दशैंमा लत्ताकपडा, खाद्यान्नदेखि सवारीसाधनसम्मको विक्रीमा बहार आउने गर्छ । दशैंको अघिल्लो दिनसम्म पनि उनीहरूले फुर्सद पाउँदैनन् । तर यसपालि दशैंको चहलपहल अघिल्ला वर्षको जस्तो नभएको धरानका व्यवसायीहरू बताउँछन् । व्यापारीहरूका अनुसार अघिल्ला वर्ष यति बेलासम्म बजारमा निकै भिडभाड भइसक्ने भानुचोक, देशी लाइन, पुतली लाइन बजार यसपालि भने मन्द छ। आर्थिक मन्दी र सहकारी ठगीको प्रभाव धरान बजारमा परेको उनीहरूको भनाइ छ ।

माछाभौडीबाट मस्जिद जाने बाटोमा रहेको कपडा पसलका व्यवसायीहरू बुधवार कपुरी न्युजका प्रतिनिधि बजार पुग्दा एक अर्कामा गफिइरहेका थिए । दशैं आयो, बजारमा भीड पनि बढ्यो, व्यापार चाहिँ कस्तो भइरहेको छ ? भन्ने जिज्ञासामा फेन्सी पसलका सञ्चालक श्याम श्रेष्ठले भने,‘महँगी बढ्यो, आम्दानी बढेन, त्यसैले ग्राहक सपिङका लागि उत्साहित छैनन् ।’ बचत तथा ऋण सहकारी संस्थाले ठगी गरेकोले थप समस्यामा परेको उनले सुनाए । उनले भने,‘सहकारी बन्द गरेर सञ्चालक सम्पर्कविहीन भयो । आजभोलि भन्दै महिनौँ भइसक्यो सहकारीले रकम फिर्ता दिएको छैन ।’

छेउमा रहेको कस्मेटिक पसलकी मन्दिरा श्रेष्ठ पनि पसलबाहिर बसेर ग्राहक पर्खिरहेकी थिइन् । पोहोर दशैंमा ग्राहकको भिडभाडका कारण कर्मचारी राख्नु परेको बताउँदै उनले भनिन्, ‘अहिले बजारमा राम्रो चहलपहल छ तर व्यापार छैन । पहिले कर्मचारी राख्नु परेको थियो । यसपालि आफैँलाई खर्च धान्न गाह्रो पर्ला जस्तो भइसक्यो ।’

dashain-bazar-chalpahalधरानको मुख्य बजार भानुचोकमा वर्षौँदेखि ब्याग, बेल्ट, चस्मा लगायत फेन्सी सामानको पसल गर्दै आएका रोशनी स्टोरका सञ्चालक अर्मान अली बजारमा मान्छेहरू हिँडे पनि व्यापारमा उत्साह नदेखिएको बताउँछन् । ‘किनमेलमा गिरावट आउनुको कारण चाहिँ आर्थिक मन्दी नै हो ।,’ उनले भने, ‘अब धरानका सहकारीहरूले कत्तिको पैसा डुबाइदिएको छ, मान्छेहरूसँग पैसा नै छैन । सहकारी पीडित म आफै पनि हुँ ।’ एक साता अघिसम्म सुनसान जस्तै रहेको धरान बजारमा मानिसहरूको ओहोरदोहोर भने बढेको उनले बताए ।

लत्ताकपडाको मात्रै होइन, यो वर्ष दशैंका मुखमा मोबाइल, इलेकट्रोनिक्स व्यापार पनि धेरै उत्साहजनक नभएको व्यापारीहरू बताउँछन् । धरान-१२ गीता मन्दिर लाइनमा रहेको खुसीका मोबाइलकी विमला खतिवडाले विगतमा जसरी व्यापार गर्न नसकेको बताइन् । आर्थिक मन्दीका कारण ग्राहकले  मोबाइल खरिदलाई प्राथमिकतामा नपारेको हो कि भन्ने प्रश्न उब्जिएको खतिवडाको आशङ्का छ । ‘मानिसहरू दशैं लागे जसरी हिँडिरहेका छन्, तर किनमेल गरेका छैनन्,’ उनले भनिन्,‘पहिलेको वर्षहरूमा यति बेला हामीलाई पत्रकारसँग कुरा गर्न फुर्सद कहाँ हुन्थ्यो र ?’

यता भानुचोकमा हरेक साँझ हुने सडक बजारमा ग्राहकको चहलपहलसँगै राम्रो व्यापार भइरहेको व्यापारीहरू बताउँछन् । कपडाको व्यापार गर्ने सुरज शाह भन्छन्, बल्ल दशैं लागेको जस्तो भान भयो । गत वर्ष दशैंमा कारोबार खासै थिएन तर यस वर्ष दशैं नजिकिएसँगै कारोबारमा उल्लेख्य वृद्धि भएको उनले बताए ।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ सरकारले ब्याजदर बढाउँदा उद्योग व्यवसायसँगै अर्थतन्त्रमा पनि नकारात्मक असर परेको बताउँछन् । यससँगै बचत तथा ऋण सहकारी संस्थाको ठगीले धरानको बजारमा ठुलो प्रभाव पारेको उनको भनाइ छ ।

उनी भन्छन्– ‘धरानका सहकारीले करिब १५ अर्ब रुपैयाँ ठगी गरेर फरार भएका छन्, बचतकर्तालाई पैसा उठाउन सास्ती परिरहेको छ ।’ सरकारले समयमै चासो नदेखाएकोले यस्तो अवस्था आएको उनको भनाइ छ । सुनसरी उद्योग वाणिज्य सङ्घले ब्याजदर वृद्धि र सहकारी ठगीका विषयमा स्थानीय तहदेखि केन्द्रसम्म आवाज उठाउँदै आएको उनले बताए ।

khusika-mobile