इटहरी : इटहरीको पश्चिम लाइनमा रहेको डाउनटाउन म्युजिक रेस्टुरेन्ट ६ महिना अगाडी बन्द भयो । पारिवारिक वातावरणमा सेवा दिने उद्देश्यले दुई वर्ष अगाडी खुलेको रेस्टुरेन्ट कारोबार नभएकै कारण बन्द हुने अवस्थामा पुग्यो ।

पश्चिम लाइनमै व्यवस्थित रूपमा खुलेको मुस्ताङ हाउस पनि बन्द भएको छ । आकर्षक कलाकृति र डिजाइनमा सजावट गरिएको मुस्ताङ हाउस ५ महिना देख बन्द अवस्थामा छ। पूर्णतः पारिवारिक रेस्टुरेन्टको रूपमा चिनिएको मुस्ताङ हाउसलाई समेत इटहरीले टिकाउन सकेन । एक करोड बढी लगानी भएको रेस्टुरेन्ट इटहरीमा विस्थापित भएको छ ।

पचरुखी चोकमा ६ महिना मात्र सञ्चालन भएर मधुशाला क्याफे तथा रेस्टुरेन्ट बन्द भएको छ । विगत एक वर्ष अगाडी नै मधुशाला बन्द भएको हो । इटहरीको आइतबारेमा चर्चा कमाइसकेको डी सनसाईन क्याफेमा सटर लागेको एक महिना भयो । हाल विक्रीमा रहेको सनसाईन क्याफे बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ ।

डाउन टाउनका सञ्चालक उमेश ओझाका अनुसार आर्थिक मन्दीले अन्य व्यवसायमा जस्तै रेस्टुरेन्टमा पनि असर पुर्‍याएको छ । रेस्टुरेन्ट सौखिन ग्राहकको रोजाइमा मात्र पर्ने भएपछि व्यवसाय स्वाभाविक रूपमा प्रभावित हुने उनको धारणा छ ।

५३ लाख लगानीमा खुलेको डाउनटाउन भाडा तिर्नै नसक्ने भएपछि बन्द गर्नुपर्ने भएको उनले बताए । आफू पुरानै व्यवसायी भएको बताउँदै उनले कोरोना पछिको आर्थिक मन्दीको कारण यो अवस्था आएको उनको भनाइ छ । इटहरीमा रेस्टुरेन्टमा आएर खाना खाने र रमाइलो गर्ने ग्राहकको सङ्ख्या अत्यन्तै न्यून भएको उनको बुझाइ छ ।

पूर्वको व्यापारिक हबको रूपमा परिचित बन्दै गएको इटहरीमा प्रतिष्ठित रेस्टुरेन्टहरू एक पछि अर्को बन्द हुने र टिक्न गाह्रो हुने अवस्थामा पुगेका छन् । धरानलाईमा राम्रो प्रतिष्ठा कमाएको बगान पनि केही समय बन्द भएर पुनः सुचारु भएको छ । हाल रेस्टुरेन्ट बन्द भए पनि बेन्क्वेट मात्र सञ्चालनमा रहेको सञ्चालक प्रकाश चौलागाई सुनाउँछन् । दसैँ अगाडी पुर्ण रुपमा सञ्चालन गर्ने उनको तयारी छ । बगानमा उनले ३ करोड बढी लगानी गरिसकेका छन् । बैङ्कको ब्याजले महामारीको रूप लिएपछि समस्या भएको उनले बताए ।

एक करोड लगानी गरेर होटेल तथा पार्टी प्यालेस खोलेका मनोज भण्डारी अहिले विक्री गर्ने सोचमा छन् । कोरोना महामारीको पुर्वसन्ध्यामा होटेल खोलका उनी ६ महिना देखी पार्टी प्यालेसको मात्र काम गर्छन् । कर्मचारी टिकाउने समस्या भएपछि कुनै कार्यक्रम आउँदा पार्टी प्यालेस मात्र चलाउने गरेको बताउँछन् । उनको होटेलमा १६ जनाले रोजगारी गुमाएका छन् । ब्याज र भाडाले सीमा नाघेपछि समस्या बढ्दै गएको उनको भनाइ छ ।

कफिलय (क्याफे) का सञ्चालक नुहुँराज राई पहिला भन्दा व्यापारमा कमी आएको बताउँछन् । हाल स्टाफ खर्च, घर भाडा र सञ्चालन खर्च धान्न सक्ने अवस्थामा मात्र रहेको उनले बताए । कफिलयको राम्रो व्यापार पछि एक वर्ष अगाडी आइतबारेमा पाउरोटी क्याफे खोलेका उनले पाउरोटी उत्पादन सँगै कफीको व्यापार गरिरहेका छन् । सुरुवात देखी अहिलेसम्म एकैनासको व्यापार भइरहेको उनले बताए ।

इटहरीको प्रतिष्ठित रेस्टुरेन्ट पूर्वाञ्चल आइसक्रिम पार्लरमा पनि विगत १ वर्षदेखि व्यापार कमजोर बन्दै गइरहेको छ । सञ्चालक दामोदर विडारी विगतका वर्षहरूमा भन्दा व्यापार २५ प्रतिशत कमी भएको बताउँछन् । यसबिचमा थप लगानी गर्ने र कर्मचारीको सङ्ख्या बढाउन नसकिएको उनले बताए ।

इटहरीको सङ्गीत चौकमा २ वर्ष अगाडी सञ्चालनमा आएको मेट्रो रेस्टुरेन्टले पनि व्यापार बढाउन सकेको छैन । त्यस्तै धरान लाइनमा भर्खरै खुलेका नाङ्लो, स्टेसन पब जस्ता रेस्टुरेन्टहरू अहिले चर्चामा छन् । 

उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष तथा होटेल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली बैङ्कको ब्याज धान्न सक्ने अवस्था नभएको कारण रेस्टुरेन्टहरू बन्द हुने गरेको बताउँछन् । स्थानीय सरकारले पनि लगानीकर्ता सँग समन्वय गर्ने र व्यवसायीलाई टिकाउने वातावरण सृजना गर्न नसकेको उनको बुझाइ छ । अन्य लज तथा होटेलको व्यापारमा पनि कमी आएको उनले जानकारी दिए ।  

रेस्टुरेन्ट तथा क्याफेको लगानी आफैमा महँगो पर्ने र व्यापारमा समेत सीमितता हुने भएका कारण थोरै मन्दीले पनि धेरै असर पुर्याउने उनको भनाइ छ । ‘भाडा महँगो भएको कारण पनि धेरै व्यवसायी पलायन हुने अवस्था आएको छ । सर्भिस देखी डेकोरेसन सबै कुरा महँगो छ । कोभिड पछाडिको आर्थिक मन्दीको कारण यो अवस्था आएको हो । मुख्यतः बैङ्कको ब्याजदरले धेरै असर गरेको हो,’ उनले भने । 

भर्खरै खुलेका रेस्टुरेन्टलाई सेवा प्रवाह गुणस्तरीयता टिकाउनु मुख्य चुनौती हुने बताउँछन् होटेल तथा लज व्यवसायी समिति इटहरीका अध्यक्ष उमेश दाहाल । ‘नयाँ युवाहरूले करोडौँ लगानी गरेर रेस्टुरेन्ट खुलेका छन् । विदेशमा देखेकै आधारमा धरैले लगानी गर्छन् । तर विदेशको जस्तो बजार इटहरीको हुँदैन । चाँडै हतोत्साहित भएर बन्द पनि गरिहाल्छन् । यो पेसा भनेकै दुख गर्न सक्ने र टिक्न सक्नेको लागि मात्र हो । सफलता पाउन लामो समय पर्खिनुपर्ने हुन्छ,’ उनले भने । अन्य होटेल तथा लजको व्यापारमा कमी आएको भए पनि अहिल्यै बन्द गर्नुपर्ने अवस्था नभएको उनले बताए । 

इटहरीको प्रतिष्ठित कल्चरल रेस्टुरेन्ट चिन्तन चौतारीका सञ्चालक सासोहाङ सुब्बा कारोबारमा उल्लेख्य कमी आएको स्वीकार गर्छन् । इटहरीमा मात्र नभएर नेपालका अन्य ठुला सहरहरूमा समेत क्याफे रेस्टुरेन्टको व्यापार कम भएको उनको बुझाइ छ । 

इटहरीमा रहेको नेपालकै ठुलो भाटभटेनी स्टोरमा समेत चहलपहल बढ्न सकेको छैन । भाटभटेनीमा खुलेका पेपे पिज्जा, केएफसि तथा आँगन होटेलमा समेत ग्राहकको सङ्ख्यामा कमी आएको छ । प्रख्यात क्याफे हिमालयन जाभाले इटहरीमा कफीको विक्री भन्दा बारिष्टा कोर्ष मार्फत व्यापार चलायमान बनाएको छ।  

इटहरी बजार आसपास कफीसप (क्याफे अपस्टेयर्स), ग्राउण्डस्, बर्गर हाउस, विग बार एण्ड ग्रिल, बाइट एण्ड विन्स, गोरखा, कन्चनजङ्गा, फुडशाला, स्टेशस पब लगायत रेस्टुरेन्टहरू सञ्चालनमा छन् । उल्लेखित रेस्टुरेन्टहरूको कारोबारमा केही कमी भए पनि तत्कालै कुनै बन्द गर्नुपर्ने अवस्था नभएको सञ्चालकहरू बताउँछन् ।