धरान : बढ्दो महँगीका कारण उपभोक्ताहरूको क्रय शक्तिमा आएको ह्रासको प्रत्यक्ष प्रभाव यसपालिको दशैं बजारमा देखिएको छ ।
धरान स्थित कृषि बजारको तथ्याङ्क अनुसार गत: वर्षको तुलनामा यसपालिको दशैंको आपूर्ति व्यापार घटेका देखिएको हो । कृषि बजारका प्रबन्धक लक्ष्मण भट्टराईका अनुसार महँगी बढेकाले उपभोक्तामा आएको क्रय शक्तिको ह्रास दशैंको किनमेल घट्नुको मुख्य कारण हो ।
दशैंका बेला कृषि बजारमा अत्यधिक रूपमा हुदैं आएको फलफूल र मासुका लागि खसी, बोकाको कारोबारमा यसपालि ह्रास आएको छ ।
तथ्याङ्क अनुसार गत: आर्थिक वर्ष २०७९/०८० मा दशैंका बेला चाडबाड लक्षित कृषि वस्तु औसत ६ हजार मेट्रिक टनको कारोबार भएको थियो । उक्त परिमाणको तुलनामा यसपालि ह्रास आएको छ ।
यसपालिको दशैंमा कृषि बजारमा चाडबाडका लागि औसत ५ हजार २०० मेट्रिक टन मात्र कृषि वस्तुको कारोबार भएको छ । कृषि वस्तुमा फलफूलजन्य कृषि वस्तुको मुख्य भूमिका हुने गर्दछ।
दशैंमा धेरै खपत हुने मासुका लागि हुने खशी, बोकाको कारोबारमा पनि यसपालि ह्रास आएको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७९/०८० मा दशै तिहार अवधि भरमा मात्र कृषि बजार बाट औसत १२ हजार गोटा खशी, बोका खरिद विक्री भएको थियो। उक्त सङ्ख्याको किनबेच हुँदा औसत मूल्य २४ करोड रुपैयाँ बराबरको कारोबार भएको तथ्याङ्क छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ को दशै बजार अवधिमा औसतमा १० हजार गोटा खशी, बोका खरिद बिकी भएको तथ्याङ्कमा देखिएको छ । उक्त सङ्ख्याको कुल मूल्य औसत २० करोड रुपैयाँको कारोबार भएको देखिएको छ ।
धरान स्थित कृषि बजारमा गरी पूर्वी पहाडी जिल्लाहरू भोजपुर, सङ्खुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर, सुनसरीका विभिन्न स्थानबाट खसी बाख्रा बिक्रीका लागि आउँछ ।
औसतमा साप्ताहिक २ हजार गोटा खरिद बिक्री कारोबार आर्थिक वर्ष २०७९/०८० मा वार्षिक १ लाख ४ हजार गोटा खरिद बिक्री भएको थियो । उक्त कारोबारको मूल मूल्य औसत २० हजार रुपैयाँ गोटाले कुल २ अर्ब ८ करोड रुपैयाँ भएको बताइएको छ ।
साउन महिनामा कम बिक्री हुने खशी, बोका दशै तिहारमा बढी बिक्री हूने गरेकामा यसपालि ह्रास आएको देखिएको हो ।
कृषि बजारबाट माउ बाख्राहरू औसत ३ हजार गोटा भारत निर्यात हुने गरेको छ । नगरपालिकाले बजारस्थलबाटै भेटनरी सर्टिफिकेट दिने व्यवस्था भएकोले निर्यात गर्न सहज भएको छ ।
प्रबन्धक भट्टराईका अनुसार यसपालि दशैंमा कारोबारमा ह्रास आउनुको कारण सरकारको कर नीतिको प्रभाव पनि हो ।
चालु आर्थिक वर्षबाट सरकारले आयातित कृषि बस्तुमा भन्सार बिन्दुमा नै १३ प्रतिशत भ्याट कर थप गरेको छ । यसको प्रत्यक्ष प्रभाव आयातित कृषि वस्तुको मूल्य र आयात व्यापारमा परेको छ ।
नेपालमा फलफूल जन्य कृषि बस्तु कारोबार भएका कूल बस्तु मध्ये ९० प्रतिशत आयात भारत, चीन, भियतनामबाट हुने गरेको छ ।
krishi upaj bazar sthal