धरान : विराटनगर-किमाथांका जोड्ने ६ लेनको कोशी राजमार्गको अहिले सम्म निर्माणाधीन विराटनगर देखी धरान सम्मको दुरीमा कहीँ पनि यात्रीलाई पिसाब सम्म गर्ने सार्वजनिक शौचालयको व्यवस्था गरिएको छैन ।

अन्तर्राष्ट्रिय सिमाना सम्म जोडिने यो लामो दुरीको सडकमा पूर्व–पश्चिम राजमार्गमा चल्ने सार्वजनिक यातायात पनि जोडिन्छ । तर यात्रीहरूलाई सार्वजनिक शौचालयको व्यवस्था नभएकोमा नेपाल यातायात व्यवसायी महासङ्घले ध्यानाकर्षण गराएको छ ।

महासङ्घका कोसी प्रदेश संयोजक सरोज श्रेष्ठका अनुसार अहिले सम्म त्यस्तो व्यवस्था नभएकोले निर्माणाधीन पानीपिया–तीनकुने सडक खण्डमा यात्रीहरूको सुविधाका लागि सार्वजनिक शौचालयको व्यवस्था गर्न माग गरिए पनि सडक योजना कार्यालयले गम्भीरता पूर्वक नलिएको बताए ।

राजमार्गमा पर्ने सहरी क्षेत्रहरूमा ‘खुला शौच मुक्त’ घोषणा गरिएका छन् । राजमार्गमा कहीँ पनि सार्वजनिक शौचालय छैन । उनले भने ‘धरानमा त मेयर साबले पिसाब गरेको मात्र पाइए पनि १ लाख रुपैयाँ जरिवाना गर्ने घोषणा गरेका छन् ।’

तर धरान, इटहरी, विराटनगर महानगरपालिकाले सम्म राजमार्गमा सार्वजनिक शौचालयको कुरालाई गम्भीरता पूर्वक लिएका देखिएन । राजमार्ग धरानको सिमानामा प्रवेश गरेपछि सुरु हुने चराकोशे जङ्गल क्षेत्रमा त्यस्तो सार्वजनिक शौचालय उपयुक्त हुने उनको भनाई छ ।

यसबारे महासङ्घको कोसी प्रदेश समितिले लिखित निवेदन सहित इटहरी स्थित रानी, विराटनगर, इटहरी, धरान सडक योजना कार्यालयलाई आग्रह गरेको थियो । संयोजक श्रेष्ठका अनुसार ठेकेदार पक्ष यसमा सकारात्मक देखिए पनि योजना कार्यालय अहिले सम्म गम्भीर देखिएको छैन ।

राजमार्गमा शौचालयका विषय सुनसरी प्रशासनमा भएको ३ वटा बैठकमा पनि छलफल भएको थियो । राजमार्गको काम नसकिदैं धरान, इटहरी उपमहानगरपालिकाले दबाब दिएमा अझै पनि बन्न सक्छ । तर पर्यटन र क्लिन सहरको नारा र भाषण मात्र गर्ने मेयरहरू गम्भीर नभएको श्रेष्ठले बताए ।

महासङ्घले सडक योजना लगायत सरोकारवाला कार्यालयहरूलाई दिएको लिखित माग पत्रमा रानी, विराटनगर, इटहरी, धरान हुँदै कोश राजमार्ग भोजपुर, खाँदबारी, पाँचथर, ताप्लेजुङ, किमाथांका सम्म जोडिँदै छ । पहाडी र तराईका सबै प्रकारका सवारी साधनहरूको चाप बढ्ने उल्लेख छ ।

यस्तो अवस्थामा दुहबी, इटहरी, धरानमा लामो दुरीका यात्रुका लागि सार्वजनिक शौचालयहरू सहज उपलब्ध नरहेको तथा धरान उत्तर भेडेटार जलाधार क्षेत्र रहेकाले खुला शौच प्रतिबन्धित रहेकाले निर्माणाधीन पानी पिया देखी धरान तीनकुने जङ्गल क्षेत्रमा शौचालय बनाउन माग गरिएको हो ।

लामो दुरीका यात्रु, मजदुरका लागि भविष्यमा सुविधा सम्पन्न शौचालय बनाउने उद्देश्यले तत्कालका लागि जङ्गल क्षेत्रको २ ठाउँमा ‘शर्ट रिफ्रेसमेन्ट सेन्टर’ मात्र बनाउन पनि सकिने कुरा महासङ्घले माग गरेको छ ।

श्रेष्ठले भने ‘धरानको पर्यटन प्रवर्धनका लागि सुविधा सम्पन्न सार्वजनिक शौचालयसँग पर्यटन सूचना केन्द्र सञ्चालनको योजना अत्यावश्यक छ ।’ धरान प्रवेश गर्न अघि लामो दुरीका यात्रीहरूले धरानको बारेमा जानकारी हासिल गर्न सक्ने उनले बताए ।

refreshment-center-jungle