धरान : धरान-इटहरी ६ लेन सडक खण्डको सेउती पुल देखी पानी पिया सम्म लथालिङ्ग छाडिएको  सडक खण्डको काम एक साता भित्र सुरु नगरिए आन्दोलन सुरु गरिने यातायात व्यवसायीहरूले चेतावनी दिएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कोशी प्रदेशका मुख्यमन्त्री, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी, ६ लेन सडक निर्माण आयोजना प्रमुख धरान र इटहरी उपमहानगरपालिकालाई सहितलाई चेतावनी दिएका हुन् ।

ध्यानाकर्षण पत्रमा रानी-विराटनगर ६ लेख सडकको धरान तीनकुने देखी सेउती पुल खण्डको सडक तोकिएको समय भित्रै सकिए पनि तर, सेउती पुल देखी तरहरा पानीपिया खण्डको ठेकेदार होमदोङ ठेक्कर एण्ड प्यासिफिक जेभी कम्पनीले ठेक्का प्राप्त गरे देखी काममा ढिलासुस्ती गरेको महसुस गर्दै आएको उल्लेख गरिएको छ ।

उक्त सडक खण्डको निर्माण सम्पन्न गर्ने समायावधी भइसक्दा पनि ५० प्रतिशत मात्र काम गरेर सडक लथालिङ्ग पारेर छोडेको कारणले सवारी दुर्घटना बढेर धनजनको क्षति बढेको, धुलो, हिलोले यात्रीलाई सास्ती दिएको, सवारी साधनमा टुटफुट बढेर जीर्ण बनाएको, दुई पाङग्रे सवारी चल्नै नसक्ने अवस्थामा पुगेको जाहेर गरिएको छ ।

सरोकारवाला निकायले चासो दिएर दबाब बढाए पनि हाल सम्म काम नुहुनु दुःखलाग्दो भएको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा भनिएको छ ‘यदि उक्त सडक निर्माण कार्य आजको मितिले ७ दिन भित्र सुरु गरी आम नागरिकको आवत जावत सहज नबनाए बाध्य भई उक्त क्षेत्रमा सडक अवरोध समेतका कार्यक्रम सहित चरणबद्ध आन्दोलन गर्न बाध्य हुने ब्यहोरा जानकारी गराउन चाहन्छौँ ।’

संयुक्त ध्यानाकर्षण पत्र दिने यातायात व्यवसायी संस्थाहरूमा नेपाल यातायात व्यवसायी महासङ्घ, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात मजदुर सङ्घ कोशी प्रदेश समिति छन् ।

ध्यानाकर्षण पत्रमा दशैं, तिहार जस्तो चाडपर्वमा सवारी साधन अत्यधिक सञ्चालन हुने र अत्यधिक यात्रुको चाप हुने अवस्थालाई लक्षित गरेर भौतिक पूर्वाधार मन्त्रालयले सहज यात्रा गराउँदै दुर्घटना न्यूनीकरण देशभरिका वर्षाले बिग्रेका सडक तत्काल मर्मत र अधुरो सडक निर्माण कार्यालय उच्च प्राथमिकता साथ निर्देशन दिए पनि सडकको अवस्थाहरूमा सुधार गर्न ठेकेदारहरूको गैरजिम्मेवारीपन प्रति सरकार नरम भएकोमा दुःख प्रकट गरिएको छ ।

cdo 1CDO 2