धरान : धरान-इटहरी ६ लेन सडक खण्डको सेउती पुल देखी पानीपिया सडक खण्ड निर्माण कार्य तत्काल सुचारु गर्न पेश गरेको ज्ञापन पत्रमा छलफल गर्न जिल्ला प्रशासन कार्यालयले आज बिहीबार बोलाएको बैठकमा सम्बन्धित हेमदोङ्ग ठोक्कर एण्ड प्यासिफिक जेभी कम्पनीका ठेकेदार ठाकुर कँडेल अटेर गरी अनुपस्थित भए ।

प्रमुख जिल्ला अधिकारीको बोलावटलाई समेत अटेर गरी ठेकेदार कँडेलले ‘पहिले आउँछु आउँछु भनेको पछि बैठक सुरु हुने बेला मोबाइल स्विच अफ गरेर बैठकमा अनुपस्थित भएको’ बैठकमा सहभागी नेपाल यातायात व्यवसायी महासङ्घ कोशी प्रदेश अध्यक्ष सरोज श्रेष्ठले बताए ।

बैठकमा सुनसरी-१ का निवर्तमान सांसद जय कुमार राई, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, जिल्ला सुरक्षा निकायका सबै प्रमुखहरू, रानी विराटनगर धरान सडक आयोजना, यातायात व्यवसायी, मजदुर सङ्घको समेत उपस्थिति थियो ।

छलफलमा सबै पक्ष उपस्थित भए पनि सडकको ठेक्का पाएका मुख्य हेमदोङ्ग ठोक्कर एण्ड प्यासिफिक जेभी कम्पनीका ठेकेदार ठाकुर कँडेल अनुपस्थित भएपछि उनको व्यवहार गैर जिम्मेवार भएको ठहर गरिएको छ ।

कँडेलले आउँछु भनेर समय टार्दै पछि मोबाइल स्विच अफ गरेर अनुपस्थित हुनु गैर जिम्मेवार कार्य गरेकोले कानुनी प्रक्रिया अघि बढाइ कारबाही गर्न दबाब बैठकमा उपस्थित सरोकारवालाले जिल्ला प्रशासनलाई दबाब दिएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार यातायात व्यवसायीद्वारा उक्त सडक निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिएपछि प्रशासनले तदारुखता बढाएको छ । यातायात सम्बद्ध सङ्गठनहरूको खबरदारी कार्यलाई सुनसरी उद्योग वाणिज्य सङ्घ, धरानका राजनैतिक दलहरू, होटेल व्यवसायी समिति धरानले ऐक्यबद्धता जनाएकोले दबाब बढेको छ ।

तर, उक्त सडक खण्डको ठेकेदारको जिल्ला प्रशासनलाई समेट अटेर गरी बैठकमा अनुपस्थित हुने  गैर जिम्मेवार व्यवहारले ठेकेदारलाई कडाइ नगरी उक्त सडक व्यवसायीहरूले दिएको अल्टिमेटमको अवधिमा सुरु हुने कुरामा आशङ्का बढेको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार जिल्ला प्रशासनलाई यातायात सम्बद्ध सङ्गठनहरूले एक साता भित्र सडकको काम सुरु नभए आन्दोलन गर्ने अल्टिमेटम दिएको छ । अब ठेकेदारलाई कानुनी कारबाही गरेर हुन्छ की पक्राउ गरेर हुन्छ सडकको निर्माण कार्य सुरु गर्ने जिम्मेवारी प्रशासन तथा सम्बन्धित निकायको हो ।

यसअघि दुई दिन अघि धरान-इटहरी ६ लेन सडक खण्डको सेउती पुल देखी पानी पिया सम्म लथालिङ्ग छाडिएको  सडक खण्डको काम एक साता भित्र सुरु नगरिए आन्दोलन सुरु गरिने यातायात व्यवसायीहरूले सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै चेतावनी दिएका थिए ।

ध्यानाकर्षण पत्र मार्फत उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कोशी प्रदेशका मुख्यमन्त्री, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी, ६ लेन सडक निर्माण आयोजना प्रमुख धरान र इटहरी उपमहानगरपालिकालाई सहितलाई चेतावनी दिएका छन् ।

ध्यानाकर्षण पत्रमा रानी–विराटनगर ६ लेख सडकको धरान तीनकुने देखी सेउती पुल खण्डको सडक तोकिएको समय भित्रै सकिए पनि तर, सेउती पुल देखी तरहरा पानीपिया खण्डको ठेकेदार होमदोङ ठेक्कर एण्ड प्यासिफिक जेभी कम्पनीले उक्त सडक खण्डको निर्माण सम्पन्न गर्ने समायावधी भइसक्दा पनि ५० प्रतिशत मात्र काम गरेर सडक लथालिङ्ग पारेर छोडेको कारणले सवारी दुर्घटना बढेर धनजनको क्षति बढेको, धुलो, हिलोले यात्रीलाई सास्ती दिएको, सवारी साधनमा टुटफुट बढेर जीर्ण बनाएको, दुई पाङग्रे सवारी चल्नै नसक्ने अवस्थामा पुगेको उल्लेख छ ।

सरोकारवाला निकायले चासो दिएर दबाब बढाए पनि हाल सम्म काम नुहुनु दुःखलाग्दो भएको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा भनिएको छ ‘यदि उक्त सडक निर्माण कार्य आजको मितिले ७ दिन भित्र सुरु गरी आम नागरिकको आवत जावत सहज नबनाए बाध्य भई उक्त क्षेत्रमा सडक अवरोध समेतका कार्यक्रम सहित चरणबद्ध आन्दोलन गर्न बाध्य हुने ब्यहोरा जानकारी गराउन चाहन्छौँ ।’