नेपालको तीनतिर पूर्व-दक्षिण-पश्चिम सीमा जोडिएको छिमेकी देश भारतका नागरिकहरू धेरै वर्ष अघिदेखि नेपालमा ठुलो सङ्ख्यामा पर्यटकको रूपमा आउने गरेका छन् । भारतीय नागरिकहरू वर्षेनी धेरै सङ्ख्यामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकका रूपमा दरिएका छन् भने अलि अगाडिसम्म दोस्रो नम्बरमा धेरै सङ्ख्यामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटक चाहिँ बेलायत, जापान, अमेरिका, फ्रान्स, अस्ट्रेलिया आदि देशका नागरिकहरू हुने गर्थे ।

नेपाल भ्रमण गर्ने पहिलो ठुलो सङ्ख्या रहँदै आएको भए तापनि सर्वसाधारण चिनियाँ नागरिकहरूलाई चीन सरकारले भने सन् २००३ देखि मात्रै नेपालमा पर्यटक भएर आउने अनुमति दिन थाल्यो । तापनि चिनियाँ सर्वसाधारण नागरिकहरूले नेपालमा पर्यटकका रूपमा आउन थालेको छोटो समयमा नै नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा चिनियाँ पर्यटकहरू दोस्रो ठुलो सङ्ख्या हुन थालेका छन्।

सन् २००३ को पहिलो वर्ष ७ हजार ५ सय ६२ जना सर्वसाधारण चिनियाँ नागरिकहरू पर्यटकका रूपमा नेपाल भ्रमणमा आएका थिए । त्यस यता कोरोना महामारी (कोभिड-१९) सुरु नभएसम्म चिनियाँ पर्यटकको सङ्ख्या लगातार बढेको बढै छ ।

तर सन् २०१९ को कोरोना महामारीपछि चाहिँ हालसम्म चिनियाँ पर्यटक प्रायः तेस्रो, चौथो स्थानमा रहने गरेको छ । आशा गरौँ, सन् २०२४ पछि बिस्तारै दोस्रो हुँदै पहिलो स्थानमा आई पुग्ने छन् । हुन पनि नेपाल र चीनबिच धेरै वटा हवाई कम्पनीहरूले चीनको धेरै स्थान (सहर) मा हवाई उडानको व्यवस्था हुन सके चाँडै सम्भव देखिन्छ ।

जे होस्, सन् २०१९ को अन्तिम ताका चीनको दक्षिण पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलिन सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड-१९) को पहिलो लहरले विश्वलाई नै ‘त्राहीमाम बनाएको हुँदा केवल नेपालका लागि मात्रै नभएर विश्वका धेरै विकसित देशहरूका लागि पनि ‘सुनको फुल पार्ने कुखुरी’ पर्यटक अर्थात् चिनियाँ पर्यटकहरू सन् २०२० र २०२१ मा कम मात्रै विदेश भ्रमणमा निस्किएका थिए ।

जत्ति नै महँगो सरसामान होस्, आफूलाई मन परेपछि त्यस्तो सरसामान अथवा चिजबिचहरु किन्न कन्जुस्याइँ गर्दैनन्, चिनियाँ पर्यटकहरू । त्यसमा पनि चिनियाँ महिलाहरू सौखका चिजबिजहरू धेरै किनमेल गर्छन् । तर, अझै पनि कोभिड-१९ ले विश्वलाई पहिलो, दोस्रो, तेस्रो, चौथो र, पाँचौँ लहरले त्रसित बनाइरहेको छ । यो वेला कोही पनि मानिसहरू ढुक्क सँग बाहिर-फेर (विदेश) घुम्न निक्लने अवस्था तयार भई सकेको छैन ।

त्यसो त लामो समयदेखि नेपाल आउने विदेशी पर्यटक सबैभन्दा धेरै भारतबाट आई रहेका छन् भने भारतीय नागरिकहरूलाई भिसा शुल्क लाग्दैन । चिनियाँ पर्यटकका लागि भने १५ दिन, ३० दिन र ९० दिने प्रवेशाज्ञा जारी गर्ने गरेको छ । त्यसो भए तापनि अबको केही वर्षपछि कोरोना महामारी ठिकठाक भएपछि नेपाल आउने विदेशी पर्यटकको ठुलो सङ्ख्या उत्तरको छिमेकी देश चीन हुने पक्का जस्तै देखिन्छ ।

विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै सङ्ख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रति व्यक्ति दैनिक धेरै खर्च गर्ने) को रूपमा विदेश घुमी रहेका र, सबैभन्दा धेरै दैनिक खर्च गरी रहेका त्यही चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा किन कम सङ्ख्यामा आउँछन् ? उनीहरूले नेपाल भ्रमणमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा पनि हामीले बेलैमा सोच्नुपर्ने देखिन्छ । त्यसमाथि नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन् । अझ सन् २०२० र २०२१ मा त चिनियाँ पर्यटकहरू कहीँ कतै पनि ठुलो सङ्ख्यामा भ्रमण गर्न निक्लेनन् ।

त्यस्तै चिनियाँ पर्यटकहरू नेपालमा चार/पाँच दिनदेखि ९/१० दिनसम्म बिताउनेहरू बढी आउने गरेका छन् । चिनियाँ पर्यटकहरू कुनै पनि देशको भ्रमणमा निक्लँदा ट्रेकिङ, र्याफ्टिङ, जङ्गल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिक रूपमा भारतीय पर्यटक भन्दा बढी फाइदा देखिन्छ ।

हामीले सन् २०२४/०२५ देखि बढ्ने पर्यटकीय गतिविधिबाट डिलक्स, लक्जरियस र, सक्दो खर्च गर्न सक्ने र कम्तीमा आठ/दस दिनदेखि १४/१५ दिनसम्म बिताउने खालका चिनियाँ पर्यटकका साथै भारतीय पर्यटकहरू सक्दो धेरै भित्र्याउने प्रयासमा अहिलेदेखि लाग्नुपर्ने देखिन्छ ।

त्यसो त नेपाल आउने विदेशी पर्यटकहरू सकेसम्म कम खर्च गर्नेहरू छन् । तर, चिनियाँ पर्यटकहरू कञ्जुस नै भने होइनन् । किनभने, गत केही वर्ष अघिदेखि संयुक्त राष्ट्र सङ्घ सम्बद्ध संस्था डब्लुटीओ लगायत विश्व पर्यटनसँग सम्बन्धित सङ्घ-संस्थाहरुले गरेको विभिन्न अनुसन्धानका तथ्याङ्कहरूमा चिनियाँ पर्यटकहरू लगातार रूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिएका छन् ।

त्यति मात्रै होइन, चिनियाँहरू सङ्ख्याकै आधारमा पनि विश्वका धेरै सङ्ख्यामा विश्व भ्रमणमा निक्लने पर्यटकका रूपमा दरिएका छन् । सायद अब पृथ्वीको अस्तित्व रहेसम्म, चिनियाँ पर्यटकहरूको सङ्ख्या र खर्च गराई दुवैलाई अन्य देशका पर्यटकहरूले उछिन्न सक्ने छैनन् ।

तथ्याङ्कमा जनाइए अनुसार सन् २०२१ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सङ्ख्या दुई वर्ष (सन् २०१९ र २०२०) को भन्दा धेरै कम रहेको छ । अर्थात् सन् २०२१ मा एक लाख ५१ हजार चानचुन विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका छन् ।

तापनि बिस्तारै घुमफिर गर्न सक्ने अवस्था आएपछि हामीले छिमेकी देश भारत र चीनको पर्यटकहरू ठुलो सङ्ख्यामा नेपाल भित्र्याउने र त्यसमा पनि अझ खर्चालु भारतीय र चिनियाँ पर्यटकहरू भित्र्याउनेतर्फ अहिलेदेखि नै लाग्नुपर्ने देखिन्छ ।