धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका चिकित्सक डा. रोशन कलवारले प्रतिष्ठान दास नभएकाले आन्दोलनका रूपमा बिपीकै गेट अगाडि ‘डायनोष्टिक’ सेन्टर सञ्चालन गरेकोमा प्रतिष्ठानले कारबाहीको प्रक्रिया अघि बढाएको छैन।

प्रतिष्ठानले शुक्रवार रोशन कलवारको विगतको काम कारबाही र हालैको गतिविधि एवं सामाजिक सञ्जालमा आएका कुराहरूले बिपी प्रतिष्ठानको प्रतिष्ठामा आँच पुर्याउने सङ्केत गर्दा त्यस्तालाई प्रचलित कानुनी कारबाही भइजाने भनी ‘सूचना/परिपत्र’ सार्वजनिक गरेको छ ।

बिपीको गेटै अगाडि ऐन र नियमावली उल्लङ्घन गरी प्रतिष्ठानमा कार्यरत कलवारले ‘टाटा डायनोष्टिक‘ सेन्टर सञ्चालन गरेको प्रत्यक्ष देखिए पनि प्रतिष्ठान प्रशासनले वक्तव्य निकाल्ने बाहेक  कारबाहीको प्रक्रिया अघि बढाएको छैन ।

बिपी प्रतिष्ठान ऐन २०४९ र नियमावली २०५५ ले भने प्रतिष्ठानका कार्यरत चिकित्सकहरूलाई क्लिनिक तथा डाइग्नोस्टिक सेन्टर खोल्न अनुमति दिँदैन । प्रतिष्ठानले तलबको बुद्धि वा बढुवा रोक्का तल्लो पदमा घटुवा गर्ने वा तलब घटाउने प्रतिष्ठानको सेवाको निमित्त योग्य र अयोग्य बर्खास्त गर्न सकिने व्यवस्था नियमावलीमा छ ।

विद्यमान ऐन र नियमावलीको उल्लङ्घन गर्दै प्रतिष्ठानमा कार्यरत रोशन कलवारले ‘टाटा डायनोष्टिक’ सेन्टर सञ्चालन गर्दै प्रतिष्ठानलाई चुनौती दिनु र कुनै कारबाही नहुनुले प्रतिष्ठान पदाधिकारी माथि नै शङ्का गर्ने अवस्था सिर्जना हुनसक्छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्राडा. सूर्य प्रसाद सङ्ग्रौलाले भने कारबाही गर्न प्रक्रियागत रूपमा जानुपर्ने बताएका छन् । उनले भने ‘पत्रपत्रिकामा समाचार आइसकेपछि चिकित्सकलाई जानकारी लिने काम भएको छ ।’

रजिष्ट्रार प्राडा सङ्ग्रौलाले परिपत्रको जवाफ आएपछि कानुनी प्रक्रियामा अघि बढ्ने बताए । उनले भने, ‘कसैले प्रतिष्ठानको ऐनलाई चुनौती दिन्छ भने प्रतिष्ठान हेरेर बस्दैन ।’ उनका अनुसार कलवारले सामाजिक सञ्जाल फेसबुकमा प्रतिष्ठान ‘नन्टप्राक्टिस’ भए तापनि जनताको सेवा गर्ने टाइपले खोलेको भन्नु प्रतिष्ठानको नियमको ठाडो उल्लङ्घन भएकोमा ध्यानाकर्षण भएको छ ।

प्रतिष्ठान नियमावली २०५५ को नियम १०,२६ को उपनियम ४ मा ‘कुनै शिक्षक वा कर्मचारीले आफ्नो कार्यालयको सम्बन्धित कामबाहेक प्राइभेट प्राक्टिस, ट्युसन र अन्य कुनै प्रकारको वैतनिक वा अवैतनिक काम गर्नु हुँदैन’ भन्ने उल्लेख छ ।

ऐनमा ‘कुनै पनि शिक्षक कर्मचारी निजी व्यवसाय गर्न नपाउने’ प्रष्ट तोकिएको छ । ऐनको दफा १२ को उपदफा १ बमोजिम नियुक्त शिक्षक तथा कर्मचारीहरू ‘नन्प्राक्टिसिङ’ हुनेछन् भनिएको छ ।

ऐनमा ‘यस उपदफाको प्रयोजनको लागि ‘नन्प्राक्टिसिङ’ भन्नाले प्रतिष्ठानका पदीय कामबाहेक पारिश्रमिक लिई वा नलिई अन्यत्र कुनै चिकित्सा (मेडिकल प्राक्टिस) अध्यापन, प्राइभेट ट्युसन,  लगायतका अन्य कुनै प्रकारको निजी व्यवसाय गर्न नपाइने सम्झनु पर्ने भनी खुलाइएको छ ।

ऐन र कानुन उल्लङ्घन गर्नेलाई तहगत रूपमा कारबाही गर्न सक्ने नियमावलीमा प्रावधान छ । प्रतिष्ठानको नियमावली १०.७ को (१) मा उचित र पर्याप्त कारण भएमा अख्तियारवालाले नसिहत दिन सक्नेछ र समितिले शिक्षक तथा कर्मचारीलाई देहायको सजाय गर्न सक्नेछ ।

प्रतिष्ठानको नियमावली १०.७ को (१) को (क) तलबको बुद्धि वा बढुवा रोक्का गर्ने, (ग) तल्लो पदमा घटुवा गर्ने वा तलब घटाउने, (घ) भविष्यमा प्रतिष्ठानको सेवाको निमित्त योग्य नठहरिने गरी सेवाबाट हटाउने र भविष्यमा प्रतिष्ठानको सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने सक्ने प्रावधान छ ।

यस्तै १०,७ को २ मा (घ) भ्रष्टाचार गरेमा वा सो गर्न प्रोत्साहित गर्ने कार्य गरेमा, (ङ) आचरण संहिता बमोजिम नगरेमा वा उल्लङ्घन गरेमा पदबाट मुक्त गर्न सक्ने सम्म कानुनी प्रावधान छ ।

प्रतिष्ठानका डाक्टर कलवारले आचरण संहित उल्लङ्घन समेत गरिरहेका छन् । टाटा डायनोष्टिक सेन्टरको वास्तविक सञ्चालक भने नन्दकुमार साह हुन तर, उनी मिटरब्याजीको अभियोगमा गत वर्ष नै जेल चलान भएपछि बन्द रहेको थियो । उक्त टाटा डायनोष्टिक सेन्टर हाल कलवारले सञ्चालन गरिरहेका छन् ।